Comments Add Comment

फेसबुकबाट पत्ता लाग्यो २ लाखको मालिक !


१९ जेठ, पोखरा । पोखरा-४ चिप्लेढुङ्गास्थित सर्वेश्वर मार्गमा भेटिएको २ लाख रुपैयाँको मालिक भेटिएका छन् ।

गत जेठ १० गते फरक/फरक ठाउँमा झरेको अवस्थामा रकम फेला परेको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५- हेमजा सुईखेत घर भई सर्वेश्वर मार्गमा लुईटेल रेडिमेड सप्लायर्सकी सञ्चालिका तारा लुईटेल र ऊँ सुशील रेडिमेड सप्लायर्सकी सञ्चालिका गीता अधिकारीले रकम भेटाएका थिए ।

झण्डै १० दिनसम्म पैसा धनिको पत्ता लागेको थिएन । शुक्रबार कास्की माछापुच्छ्रे गाउँपालिका वडानम्बर ४ का हरि रानाभाट शुक्रबार सम्पर्कमा आएर प्रहरीको रोहबरमा रकम बुझेका छन् ।

यसरी पत्ता लाग्यो मालिक

मिडियामा आएको समाचार र सामाजिक सञ्जालमा भएको सेयरको आधारमा पैसा भेटिएको खबर थाहापाएपछि रानाभाट सम्पर्कमा आएका थिए । बैंकको स्टेटमेन्ट, सिसी क्यामरामा कैद भएको भिडियो क्लिप्ससहित रकम आफ्नो भएको दाबी रानाभाटले गरेका थिए । सोही प्रमाणको आधारमा रानाभाटलाई २ लाख रकम दिइएको हो ।

रानाभाटका अनुसार जेठ १० गते उनी न्यूरोडस्थित कैलाश विकास बैंक गएका थिए । त्यहाँबाट ७ लाख रुपैयाँ निकालेर पालिखेचोकस्थित नेपाल बैंक पुगे । नेपाल बैंकमा ५ लाखको डिपोजिट गरे र सर्वेश्वर मार्ग हुँदै चिप्लेढुंगा पुगे । चिप्लेढुंगा पुगेर हेर्दा पैसा नदेखेपछि उनी हतारिदै नेपाल बैंक पुगे र पैसा खोजे । त्यहाँ नभेटेपछि पैसा निकालेको कैशाल विकास बैंक पुगे र आफूले २ लाख रुपैयाँ लैजान छुटाएको बताए ।

तर बैंकका कर्मचारीले ७ लाख रुपैयाँ नै लिएर गएको र त्यो फुटेजमा देखिएको बताए । त्यसपछि पैसा हराएको निश्कर्षसहित उनी घर गए । त्यहिबेला नेपालगञ्जमा उनकी ठूली आमाको छोरा दुर्घटनामा परेको खबर आएपछि उनी त्यतातर्फ लागे ।

यता पोखरामा तारा र गीताले पैसा भेट्टाए । पैसा खोज्न आए दिउँला भनेर बसेका उनीहरुसँग पैसा हराएको भन्दै कोही आएनन् । खोज्न आउने आश गरेपनि नआएपछि उनीहरुले अनलाइनखबर र रेडियो अन्नपूर्णलाई जानकारी गराए । सो जानकारी समाचारको रुपमा दुबै मिडियाले प्रकाशन/प्रशारण गरेपछि त्यसलाई सामाजिक सञ्जालमा समेत सेयर र कमेन्ट भए ।

त्यसबिचमा समाचारलाई आधार बनाएर फेसबुकमा समेत धेरैले पैसा भेटिएको भन्दै स्टाटस लेखे । ति मध्ये पोखरेली पत्रकार जमुना शर्मा -वर्षा)ले हालेको स्टाटसमा पैसा हराएका हरि रानाभाटका भिनाजुले आफ्नो सालोको पैसा भएको भन्दै कमेन्ट गरेपछि दुईतर्फी सम्बाद भयो । र उनीहरु प्रमाणसहित आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीको रोहबरमा रकम बुझाइएको हो ।

रकम पाएपछि खुशी देखिएका रानाभाटले आफूले चीन जानको लागि ट्रान्जेक्सन देखाउन साथीको खातामा आफूले र आफ्नो खातामा साथीले पैसा हालेर बैंकिङ कारोबार देखाउने गरेको र सोही क्रममा पैसा हराएको बताए । उनले पैसा भेटेर आफूलाई बुझाउने गीता र तारालाई खादा लगाएर सम्मान गर्नुका साथै एक-एक वटा घडी उपहार दिए ।

भेटाएको पैसा बुझाएर गीता र तारा समाजको उदाहरणीय बनेका छन् । कलियुगमा यस्ता मान्छे कमैमात्र हुने भन्दै उनीहरुलाई धन्यवाद दिनेको लर्को लागेको छ भने पोखरामा उनीहरुको वाहीवाही भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment