Comments Add Comment

अब अरबको आकाशमा उड्दैनन् कतारका विमान

२३ जेठ, काठमाडौं । साउदी अरब र इजिप्टले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न प्रतिबन्ध लगाएका छन् ।

आतंकवादलाई सघाएको आरोप लगाउँदै मुस्लिम बहुल ६ देशले कतारसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेका थिए । यो कदम चाल्नेमा साउदी अरब, इजिस्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स छन् ।

साउदी अरब, यूएई, इजिप्ट र बहराइनले कतारका लागि स्थल, हवाई र समुन्द्री बाटो बन्द गरेका छन् ।

कतारले भने इस्लामिक स्टेट वा कुनै चरमपन्थीलाई सहयोग गरेको आरोप अस्वीकार गरेको छ र, ६ देशले चालेको कदमलाई अनुचित भनेको छ ।

यो घटनालाई अमेरिकाको ‘साथी’ भनिने शक्तिशाली खाडी देशको बीचमा आएको दरारका रुपमा पनि हेरिएको छ । अरब देशरुको यो निर्णय त्यस्तो बेला आएको छ, जतिबेला खाडी देश र छिमेकी इरानबीच तनाब बढेको छ । यद्यपि हालै भएको अरब यात्राका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि चरमपन्थीलाई बढवा दिएको आरोप लगाएका थिए ।

साउदी अरब, यूएई र बहराइनले कतार आउने जाने सबै बाटो बन्द गरेका छन् । आफ्नो देशमा रहेका कतारका नागरिक र पर्यटकलाई दुई साताभित्र आफ्नो देश र्फकन आदेश दिएका छन् । साथै आफ्ना नागरिकलाई कतार जान पनि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

यद्यपि साउदी अरबले कतारका हजयात्रीहरुलाई आउन नरोकिने स्पष्टीकरण दिएको छ ।

हवाई उडानमा रोक

साउदी अरबको सिलिभ एभिएशन प्रशासनले कतारका विमानलाई आफ्नो हवाई अड्डामा अवतरण गर्न र आफ्नो वायुक्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ ।

बहराइनको गल्फ एयर, इत्तेहाद एयरवेज र इमिरेट्ससहित प्रभावित देशका कयौं एयरलाइन्स कम्पनीले भनेका छन् कि मंगलबार विहानबाट कतारको राजधानी दोहाबाट आउने-जाने सबै उडान रद्द गरिएको छ ।

नेशनल एयरलाइन्स र कतार एयरबेजले पनि साउदी अरबको उडान रद्द गरेको छ । उडानमा लगाइएको यो रोकले एयरलाइन्स कम्पनीहरु ठूलो समस्यामा पर्न सक्ने अनुमान गरिएको छ । किनकी उडानको रुट परिर्वतन गर्नु पर्ने हुनसक्छ र जसका कारण समय र खर्च दुबै बढ्नेछ ।

यो पनि खबर आएको छ कि कतारमा मानिसहरुले खाना र पानी पनि जम्मा पार्न थालेका छन् । किनकी खाद्य पदार्थ आयातका लागि साउदी अबरमा धेरै निर्भर हुने गरेको छ । कतारका करिव ४० प्रतिशत खाना छिमेकी देशबाट आउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment