+
+

ताप्लेजुङको फुङ्लिङमा नयाँ शक्तिलाई एमालेको धोका

हामीले एमालेलार्इ भाेट माग्याैं, एमालेले धोका दियो: नयाँ शक्ति

रविन भट्टराई रविन भट्टराई
२०७४ जेठ २३ गते १३:१८
अाफ्ना उपमेयरका उम्मेदवारको प्रचार गर्दै एमाले, नयाँ शक्ति र फोरम गठबन्धन ।

२३ जेठ, ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तहको मिति नजिकिएपछि ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा दलहरु चुनावी रणनीति बनाएर प्रचारमा जुटेका छन् ।

फुङ्लिङमा एमालेले चुनाव जित्न नयाँ शक्ति पार्टी र समाजवादी फोरमको सहयोग लिने रणनीतिका साथ छलफल चलायो ।

जेठ पहिलो सातादेखि नयाँ शक्ति र संघीय समाजवादी फोरमको गठबन्धनसँग एमालेले तालमेल गर्न छलफल चलायो ।

गठबन्धनलाई उपमेयर दिने र एमालेले मेयर लिन गरी भएको सहमति अनुसार नै नयाँ शक्ति र फोरम गठबन्धनले उपमेयरका लागि मात्रै उम्मेदवारको खोजि गर्‍यो । तर, अहिले एमालेले तालमेल नगरी मेयर र उपमेयर दुवैमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको छ ।

उपमेयर नयाँ शक्ति र फोरम गठबन्धनलाई दिएर तालमेल गर्ने भनेको एमालेले अहिले भने आफ्नै पार्टी भित्रबाट उपमेयरको उम्मेदवार खोज्न थालेको छ ।

एमाले जिल्ला कमिटी ताप्लेजुङले उपमेयर छनोटका लागि ४ जना आकांक्षीको नाम प्रदेश कमिटीमा पठाइसकेको छ ।

उपमेयरका आकांक्षी बिमला सुब्बा, मीना बराल, मैयाँ उप्रेती र चन्द्रा खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको एमालेका जिल्ला उपाध्यक्ष मात्रिकाप्रसाद भट्टराईले जानकारी दिए ।

यस अघिको निर्णय अनुसार नयाँ शक्तिका कृष्ण संखरलाई उपमेयर दिने सहमति एमालेले गरेको थियो ।

पार्टी भित्र उपमेयर दिएर तालमेल गरौँ भन्ने र उम्मेदवार आफै उठाएर जानुपर्छ भन्ने दुई धार भएपछि एमाले तालमेलबाट पछि हटेको एमालेका एक जना नेताले बताए ।

हामीले एमालेलार्इ भाेट माग्याैं,एमालेले  धोका दियो : नयाँ शक्ति

एमालेका जिल्ला अध्यक्षसहित नेता र नयाँ शक्ति र संघीय समाजवादी फोरमका नेतावीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएपछि नयाँ शक्ति र फोरम गठबन्धनले एमालेका मेयरका उम्मेदवारलाई भोट माग्दै प्रचारमा लागेको थियो ।

नगरपालिकाका धेरैजसो वडामा समेत तालमेल भएकाले आफूहरुले एमालेका उम्मेदवारलाई भोट मागेको तर एमालेले अहिले गम्भीर धोका दिएको नयाँ शक्तिका जिल्ला संयोजक सञ्चपाल मादेनले बताए ।

एमालेको प्रदेश कमिटीले आकांक्षीहरु मध्येबाट मेयरको उम्मेदवारमा छत्रपतिको नाम टुङ्गो लगाएसँगै एमालेले आफूहरुसँगको तालमेल भाँडेको संयोजक सञ्चपालले बताए ।

‘लिखित गर्न मात्र बाँकी राखेर विश्वासका आधारमा एमालेलाई भोट माग्दै हिडियो,’ संयोजक सञ्चपालले भने, ‘अहिले आएर एमालेले नै उम्मेदवार उठाएर तालमेल नगर्ने भन्दै धोका दियो ।’

आफूलाई सोमबार एमाले जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले तालमेलका लागि पार्टीभित्र कुरा नमिलेकाले तालमेल गर्न नसकिने प्रतिकृया दिएको उनले बताए ।

एमालेबाट मेयर पदका उम्मेदवार छत्रपति प्याकुरेलले कि राप्रपासँग तालमेल गरौँ कि आफै उम्मेदवार उठाएर जाउँ भनि अड्डी कसेकाले सहमति भाँडिएको नयाँ शक्तिका संयोजक मादेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?