Comments Add Comment

दिपेन्द्रको पीडाः सरकारी जागिर त्यागे, तर टिकट पाएनन्

२३ जेठ, लिवाङ । रोल्पा सुकीदहका दिपेन्द्रबहादुर डाँगीले गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने आशले गाविस सचिवको सरकारी जागिर छाडे । तर टिकट नपाएपछि बिलखबन्दमा परेका उनी स्वतन्त्र रुपमा चुनाव लड्ने तयारीमा छन् ।

कांग्रेसले उम्मेदवार बनाउने आश्वासन पाएर आफूले गत चैत २७ गते जागिर छाडेपनि पछि धोका दिइएको डाँगीले गुनासो गरे ।

कांग्रेसले सुकीदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुनलाई उम्मेदवार बनाएको छ । हरिबहादुर नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति एवम् सांसद अमरसिंह पुनका भाइ हुन् ।

‘सुकिदहको बिकास र कार्यकर्ताको भावनाअनुरुप सरकारी जागिरबाट मैले राजीनामा त दिएँ, तर पार्टीका नेताहरुले यता न उता बनाए,’ डाँगीले भने, ‘अब म स्वतन्त्रबाट चुनाव लड्छु ।’

रोल्पा कांग्रेसमा पैसा, नातावाद र ठेकेदारहरु हाबी भएको आरोप डाँगीले लगाए । उनले परिवार र आफूले पार्टीमा पुर्‍याएको योगदानको मूल्यांकन नभएको गुनासो पनि गरे ।

दिपेन्द्र बहादुरका बुवा गंगाराम डाँगी नेपाली कांग्रेसको राजनीतिमा ०१५ सालदेखि सक्रिय छन् । गंगाराम ०६४ सालको उपनिर्वाचनमा रोल्पा क्षेत्रनम्बर २ बाट लडेका थिए । यद्यपी उनी माओवादी उम्मेदवार सन्तोष बुढामगरसँग पराजित भएका थिए । उनी रोल्पा पश्चिम क्षेत्रको अग्रज राजनीतिज्ञ समेत मानिन्छन् ।

डाँगीले भने, ‘कांग्रेस मात्रै होइन अन्य पार्टीका कार्यकर्ताहरुले पनि मलाई रोजेका छन् । त्यसैले म उठ्नै पर्छ ।’

पार्टी नीति बिपरित गए कारबाही

नेपाली कांग्रेस रोल्पाका सभापति तथा सांसद अमरसिंह पुनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताएका छन् । निर्णयविपरित जाने जो कोहीलाई कारबाही गर्ने उनले चेतावनी दिए ।

‘पार्टीले सबै पक्ष र स्थानीय कार्यकर्ताको भावना अनुसार उम्मेदवार चुनेको हो,’ कांग्रेस रोल्पाका अध्यक्ष पुनले भने, ‘कांग्रेस भए कांग्रेसकै पक्षमा लाग्नुपर्छ । निर्णयविपरित जानेहरु कारबाहीको भागिदार हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment