Comments Add Comment

माटोमा भोट, नोटै नोट !

निकट भविष्यको प्रादेशिक चुनाव र संसदीय चुनावमा हाम्रो दलले पनि भाग लिनेछ । जनताले हाम्रै पार्टीलाई अत्यधिक बहुमतले विजय गराउनेछन् ।

हाम्रो चुनाव चिह्न माटो हो । यो हाम्रै रोजाइको चुनाव चिह्न हो । जसले राष्ट्रिय झण्डा बोकिरहन्छ, उसले राष्ट्रप्रति गद्दारी नगरे जस्तै जसको चुनाव चिह्न नै माटो छ, उसले माटोप्रति बेइमान गर्ने सम्भावना नै रहँदैन ।

‘माटोमा छाप: फलिफापै फलिफाप’ भन्ने नारा लिएर हाम्रो पार्टी चुनावमा होमिनेछ । हाम्रो पार्टी सत्तासीन भएपछि तीन किसिमका भत्ता वितरण गरिनेछ: बाल भत्ता, बैंस भत्ता र वृद्ध भत्ता । देशमा अस्तित्वरत सबै प्रकारका भत्तालाई यी तीन भत्ताले प्रतिस्थापन गर्नेछन् ।

हाम्रो पार्टीको यो विशुद्ध मौलिक कार्यक्रम अरू कुनै पार्टी विशेषसँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ ।

हाम्रो दलले सरकार बनाएपछि जन्मेदेखि १६ वर्ष नटेकेका सबैलाई बाल भत्ता दिइनेछ । १६ टेकेका तर ४० नटेकेकालाई बैंस भत्ताको व्यवस्था गरिनेछ । वृद्ध  भत्ताको लागि योग्य हुने उमेर ४० बनाइनेछ ।

वृद्ध भत्ताको हालको रकम बढाएर चौबर पारिनेछ । यो भत्ता बढाउन गाउँ, नगर र उपमहानगर, महानगरपालिकाहरूबीच अहिले तीव्र होडबाजी चलिरहेको छ । होडबाजी पनि यसरी चलिरहेको छ कि सबै समस्याको एकसूत्रीय समाधान वृद्ध भत्ता वृद्धि नै हो कि जस्तो लाग्छ । हुन त वृद्ध भत्ता बढाउँछु भनी भोट मागेर चुनाव जितेपछि हाइड्रोपावरमा लगानी गर्ने कुरा पनि भएन !

शैलेश भट्टरार्इ

‘हामीलाई चुनाव जिताउनुस् हामी भत्ता बाँड्छौं, भत्ता बढाउँछौं’ भनेर चुनाव जितेपछि भत्ता बाँड्नु र बढाउनु नाजायज हुँदै होइन । यस्तो प्रतिस्पर्धा कायमै रहेमा कर्मचारीको तलबलाई पनि वृद्ध भत्ताले उछिन्नेमा शंका छैन । तर, हाम्रो पार्टी सत्तामा पुगेर  वृद्ध भत्ता जब चार गुना वृद्धि गर्छ, तब यस्तो प्रतिस्पर्धाको अन्त्य स्वतः हुनेछ ।

वृद्ध भत्ता पाउने न्यूनतम उमेर घटेर ४० मा आएपछि ‘४० कटेसी रमाउँला’ भन्नेहरू ४० नकटीकन नै रमाउनेछन् भने ५० पारिका नेपालीलाई पनि (खासगरी राजनीतिमा) युवा नेता भन्ने चलन पनि लोप हुनेछ । वृद्धभत्ता खाएर युवा नेता हुँ भन्न त शरमै लाग्नुपर्ने हो ।

भत्ता पाउनबाट कोही पनि बञ्चित हुने छैनन् । अर्थात् ‘बाल, बैंशालु र बूढा सबैलाई भत्ता, जब हुन्छ हाम्रो हातमा सत्ता !’

यसबाट पनि असन्तुष्टिका आवाजहरू आउन थाले भने हाम्रो महान् तथा गौरवशाली पार्टीले त्यसलाई सम्बोधन गर्ने अचूक उपाय पनि निकालिसकेको छ । देशको कुल वार्षिक बजेटलाई कुल जनसंख्याले भाग गर्ने र प्रत्येक व्यक्तिको भागमा कति पर्छ त्यति नै रकम दामासाहीले सबैलाई बाँड्ने । यो चरम लोकतान्त्रिक कार्यक्रम चाहिं शत: प्रतिशत सफल हुनेमा हामी शत: प्रतिशत नै ढुक्क छौं ।

बाल भत्ताको खिसी गर्दै एकजना विद्वान् मित्रले भनेछन्- ‘ती भर्खर जन्मेका बच्चालाई भत्ताको के काम ?’

हाम्रो अध्यक्षले स्पष्ट पार्नु भो- ‘तपाईंहरूले मन्दिरमा चढाएको पैसा भगवान्‌ले  लिन्छन् ?’ फलफूल इत्यादि भगवानले खान्छन् ? खाँदैनन् नि होइन ? हो, त्यस्तै हो भर्खर जन्मेका बच्चालाई बालभत्ता ।’

जब हामी बाल भत्तामा नै यति संवेदनशील छौं भने ‘बैंस भत्ता’ को त झन् कुरै गर्नु परेन ! हाम्रो पार्टीमा भएका ९५ प्रतिशतभन्दा बढी लठैतहरू यही उमेरसमूहभित्र पर्छन् ।

आजका बालक नै भोलिका मतदाता हुन भन्ने कुरा पनि यहाँका विद्वानहरूलाई सम्झाउनुपर्छ । बालबालिकालाई जति खुशी पार्‍यो, उति हाम्रो भविष्यको भोट सुरक्षित हुन्छ भन्ने हाम्रो ठम्याइ छ । तिनलाई किन चाहियो भत्ता रे ! यो पनि कुनै सवाल हो ? ललिपप किन्न, बेलुन किन्न, चकलेट किन्न, चुइगम किन्न चाहिँदैन र पैसा ?

जब हामी बाल भत्तामा नै यति संवेदनशील छौं भने ‘बैंस भत्ता’ को त झन् कुरै गर्नु परेन ! हाम्रो पार्टीमा भएका ९५ प्रतिशतभन्दा बढी लठैतहरू यही उमेरसमूहभित्र पर्छन् । हनुमानगिरीमा अब्बल यिनीहरू प्याट्ट चुट्की बजाउने बित्तिकै विवेक बन्धकी राखेर रेलिङ भाँच्नु छ कि सडक जाम गरेर नाच्नु छ, पुत्ला पोल्नु छ वा कसैको भुत्ला उखेल्नु छ, तोडफोड गर्नु छ कि जिन्दावाद-मूर्दावाद भन्नु छ, मतपत्र च्यात्नु छ कि करङ भाँच्नु छ, तुरुन्तै हाजिर हुन्छन् ।

प्रहरी-सेनाका जवानहरू बरू तिनका हाकिमले बोलाउँदा विलम्ब गर्लान्, हाम्रा कार्यकर्ताहरू त्यति छिटो आइपुग्छन् । यस्ता होनहार कार्यकर्तालाई भत्ताको व्यवस्था गर्नैपर्छ । १६ वर्षदेखि ४० वर्षका यस्ता साथीहरू नै हाम्रा खम्बा हुन् ।

त्यसैले यिनलाई छुटाउनु भनेको हाम्रो दलको अस्मिता लुटाउनु हो । यो सन्दर्भमा अस्ति भर्खर भाइरल भएको एउटा तस्बिरको याद आयो । त्यो तस्बिर जो कोहीले जसको प्रचारमा सार्वजनिक गरे पनि त्यसमा अलिकति अपूर्णता छ । फोटोसँगै लेखिएको थियो- ‘जवानीमा साथ दिए पुग्छ प्रिय, बुढेसकाललाई त फलानो छँदै छ नि !’

भत्ता बाँड्न सजिलो छ । ढिकुटी खोल्यो, छरर्र छर्‍यो । ‘ल, यसले त गज्जबै गर्‍यो !’, जनताले यसै भन्दा रहेछन् । तर, रोजगारी सिर्जना गर्न महाभारत छ । त्यत्रो झन्झट र जोखिम कसले लेओस् ! लगानी गर, उद्योगधन्दा खोल, नभए पनि अरूले लगानी गर्ने र उद्योगधन्दा खोल्ने वातावरण बनाऊ । यी हाम्रा देशमा हुनसक्ने कुरा होइनन् !

त्यो फोटोमा प्रिय भनेर एउटी जवान नारीले एउटा जवान पुरूषलाई सम्बोधन गरेकी छन् । तर, जवानीमा साथ दिनुपर्ने नौजवान ‘४० कटेसी रमाउँला’ भन्दै खाडी हिँड्नुपर्ने बाध्यता छ । हाम्रो पार्टी सत्तासीन भएपछि बैंस भत्ता मार्फत यो बाध्यताको अन्त्य गरिनेछ अनि त्यो तस्बिरले पूर्णता पाउनेछ ।

म रोजगारी सिर्जना गर्छु भन्दा कसैले नपत्याउने र म उद्योगधन्दा खोल्छु भन्दा पनि नगन्ने । म हाइड्रोपावर बनाउँछु भन्दा त झन् ‘खुट्टी देखेरै चाल पाइयो’ भन्दै उडाउने । तर, म फलानो भत्ता बढाउँछु, ढिस्कानो भत्ता दिन्छु भन्दा जनताले काइदाले पत्याउनेछन् यो हाम्रो पार्टीको ठम्याइ हो ।

भत्ता बाँड्न सजिलो छ । ढिकुटी खोल्यो, छरर्र छर्‍यो । ‘ल, यसले त गज्जबै गर्‍यो !’, जनताले यसै भन्दा रहेछन् । तर, रोजगारी सिर्जना गर्न महाभारत छ । त्यत्रो झन्झट र जोखिम कसले लेओस् ! लगानी गर, उद्योगधन्दा खोल, नभए पनि अरूले लगानी गर्ने र उद्योगधन्दा खोल्ने वातावरण बनाऊ । यी हाम्रा देशमा हुनसक्ने कुरा होइनन् ! त्यसैले ‘उद्योगधन्दामा लगानी बालुवामा पानी’ गर्नुभन्दा खुरूखुरू भत्ता बाँड्नुमै भोटको सुनिश्चितता हुन्छ भन्ने गुह्य ज्ञान पनि हामीलाई प्राप्त भइसकेको छ ।

हुन्जेल भएकै बाँड्ने र नभएको भोलिपल्ट छापेर बाँड्ने । हाँडीमा कनिका भएसम्म माटो पार्टी निदाउने छैन ।

समशेरले कलेज खोल्न सुरू गर्नाले त्यही कलेजका उत्पादनले राणा शासनको प्राण लिए । अहिले उद्योगधन्दा खोल्नु र युवाहरूलाई रोजगारीका अवसरहरू स्वदेशमै दिनु हाम्रा लागि लगभग त्यत्तिकै हानिकारक हुन्छ । उद्योगधन्दा खोलेपछि हाम्रा हनुमान भएर को हिंड्छ ? टायर कसले बाल्छ ? नेपाल बन्द सफल कसरी हुन्छ ? चक्काजामको असफलता कसरी पचाउनु ? हडतालको हरिबिजोग कसरी हेर्नु ?

रोजगारी जसलाई चाहिन्छ तिनीहरू खाडी नै जाऊन् । बाँकीको ग्यारेन्टी माटो पार्टीले लिन्छ । त्यसैले त ‘माटोमा भोट, भत्तैभत्ताको अठोट’ भन्ने हाम्रो प्रतिबद्धता हो ।

लौ उद्योग धन्दा खोल्यौं रे । युवालाई रोजगारी पनि दियौं रे । तर, तिनले महिनाको दुई लाख नै कमाए पनि त्यसबाट महिनाको यसो दुई सय रुपैयाँ पनि आफ्ना बूढा भएका बाउ, आमा, हजुरबाउ, हजुरआमालाई चुहाउने होइनन् ! अनि किन दिनु तिनलाई रोजगारी ?

कतिपयले हाम्रो घोषणापत्रका यी कार्यक्रमलाई सस्तो लोकप्रियता कमाउने कार्यक्रम भनेको पनि सुनियो । त्यत्रो अरबौं अर्ब रुपैयाँ भत्ता बाँडेर कमाउने लोकप्रियता महँगो हुन्छ कि सस्तो ? सस्तो र महँगोको भेद छुट्याउन नसक्ने त हाम्रो पार्टीका आलोचक छन् । त्यसैले त माटोको जित सुनिश्चित छ ।

कतिपयले हाम्रो घोषणापत्रका यी कार्यक्रमलाई सस्तो लोकप्रियता कमाउने कार्यक्रम भनेको पनि सुनियो । त्यत्रो अरबौं अर्ब रुपैयाँ भत्ता बाँडेर कमाउने लोकप्रियता महँगो हुन्छ कि सस्तो ?

यस्ता नानाथरीका भत्ताले महँगी बढ्ला नि भनेर चिन्ता व्यक्त गरेको पनि देखियो । यो चिन्ता चाहिँ स्वाभाविक हो । हामीले भोट माग्ने क्रममा नदिएको भत्ता दिन सुरु गर्छौं र दिएको भत्ता बढाउँछौं भनिरहेका छौं । महँगी नियन्त्रण गर्छौं भनेकै छैनौं । हामी वचनका पक्का छौं । जे भनेका हौं, त्यो पूरा गर्छाैं । जे भनेका छैनौं, त्यो गर्नु हाम्रो दायित्व होइन । हो, भत्ता वितरण गरेपछि हल्काफुल्का महँगी बढ्ला ।

भत्ता पनि चाहिने, अझ बढाउनु पनि पर्ने, महँगी पनि बढ्न नहुने । त्यस्तो त हुँदैन नि !

हात्ती किन्दे भन्नुभो किन्दियौं । त्यसपछि झोला पनि किन्दे भन्नुभो । त्यो पनि किन्दियौं । अब त्यो हात्तीलाई झोलामा हाल्दे भन्नुहुन्छ । त्यति त आफैं गरे हुन्छ नि ! त्यो झोलामा हात्ती हाल्ने काम अर्थात् महँगीसँग जुध्ने काम तपाईंहरूको !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment