Comments Add Comment

चुनावी हारमा ह्याट्रिक गरेका कार्कीलाई अर्थ मन्त्रालयको साँचो !

यस्तो छ अर्थमन्त्री ज्ञानेन्द्रबहादुरको प्रोफाइल

अर्थमन्त्री ज्ञानेन्द्र कार्की

२४ जेठ, काठमाडौं । कांग्रेसवृत्तमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको नाम नौलो होइन । तर, नयाँपुस्ताका लागि यो नाम नौलो र अनपेक्षित हो । कार्की अर्थमन्त्री बनेलगत्तै निजी क्षेत्रका व्यवसायीहरु यी मन्त्री को हुन् र कहाँबाट आइपुगे भन्दै पहिचानको खोजीमा लागेका छन् ।

मन्त्री कार्की पनि विगतका अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, विष्णु पौडेल र कृष्णबहादुर महराजस्तै अर्थशास्त्र नपढेका अर्थमन्त्रीको लाइनमा थपिएका छन् ।

बुधबार दिउँसो शीतलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खाने बेलासम्म ज्ञानेन्द्र कार्कीको नाम भौतिक पूर्वाधार मन्त्रीका रुपमा चर्चामा थियो । तर, उनी एकाएक अर्थमन्त्री बनाइए ।

रोचक संयोग

कांग्रेस नेता महेश आचार्यको चर्चा र निर्णयलाई अन्तिम क्षणमा उल्ट्याउँदै अर्थमन्त्री बनेका ज्ञानेन्द्रवहादुर कार्कीको राजनीतिक जीवनमा यस्तो संयोग यो नै पहिलो होइन । पहिलो पटक ०६३ सालमा मन्त्री बन्दा पनि कार्कीको संयोग यस्तै परेको थियो ।

दोस्रो जनआन्दोलनलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका तर्फबाट जलस्रोत मन्त्रीमा चित्रलेखा यादवको नाम सिफारिस भएको थियो । तर, आफू पुनस्थापित प्रतिनिधिसभाको उपसभामुख हुँदाहुँदै पनि सभामुख नबनाएको भनेर यादवले मन्त्री पद अस्वीकार गरिन् ।

यादवले अस्वीकार गरेपछि तत्कालीन सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रलाई जलस्रोत राज्यमन्त्री बनाए । माओवादीबाट जुनियरहरु मन्त्री भएपछि कार्की क्याबिनेट मन्त्रीमा बढुवा भए ।

शेरबहादुर देउवापछि नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका कार्कीले राजनीतिक जीवनमा सधैं कृष्णप्रसाद भट्टराईलाई आदर्श माने । भट्टराईपछि उनले देउवालाई अनवरत साथ दिए । कार्कीले ०४७ सालमा भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर सघाए ।

चुनाव कहिल्यै फापेन

कार्कीका लागि चुनाव कहिल्यै फापेन । ०५१ सालको मध्यावधि चुनावमा भोजपुर १ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए ।

त्यसबेला एमाले नेता राईले १५ हजार ९ सय ७४ मत पाएका थिए भने कार्कीले १५ हजार ९ सय ४८ मत पाएका थिए ।

मन्त्री कार्की ०५६ को चुनावमा भोजपुर १ बाट पुनः चुनाव लडे । त्यसबेला पनि उनलाई भाग्यले साथ दिएन । एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन् । एमालेका घनेन्द्र बस्नेतसँग कांग्रेस नेता कार्की ८३८ मतान्तरले पराजित भए । बस्नेतले त्यसबेला १५ हजार ४ सय ४३ मत ल्याएका थिए भने कार्कीले १४ हजार ६ सय ५ मत पाएका थिए ।

पहिलो संविधानसभामा पनि कार्की भोजपुर १ बाट चुनाव लडे । यो चुनाव कार्कीका लागि हारको ह्याटि्रक बन्यो । त्यसबेला कार्की माओवादीका पदम राईसँग २ हजार २ सय १४ को फरकिलो मतान्तरले हारे ।

हारमा ह्याटि्रक गरेपछि कार्कीले ०७० को दोस्रो संविधानसभामा लड्ने हिम्मत गरेनन् । र, उनी समानुपातिक तर्फबाट सांसद बने । र, यही समानुपातिक आधारमा टेकेर अहिले उनी अर्थमन्त्री बन्न सफल भएका छन् ।

को हुन् कार्की ?

भोजपुरको देउराली गाविस वडा नं. ४ मा जन्मेका ६० वर्षीय कार्कीले अर्थशास्त्र पढेका छैनन् । उनको शैक्षिक योग्यता राजनीतिशास्त्रमा स्नातकोत्तर हो । ०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका उनी ४ वर्ष जेल बसेका छन् । उनकी एक छोरी छिन् । गत साल कार्कीकी पत्नीको क्यान्सरबाट निधन भएको छ ।

भोजपुरबाट अर्थमन्त्री हुने ज्ञानेन्द्र दोस्रो नेता भएका छन् । यसअघि खिलराज रेग्मी सरकारका पालामा भोजपुरकै शंकर कोइराला अर्थमन्त्री भएका थिए ।

भोजपुर देउरालीमा कार्कीको पुर्ख्यौली घर छ । हाल उनको निवास काठमाडौंको काठमाडौंको हात्तीगौंडामा छ ।

गत साल जेठमा मन्त्री कार्कीलाई पत्नीशोक परेको थियो । रत्नराय क्याम्पसकी उपप्राध्यापक रहेकी आबु राणाको निधन गत साल जेठमा भएको हो, उनी क्यान्सरबाट पीडित थिइन् । कार्कीले पनि केही समय रत्नराय क्याम्पसमा प्रध्यापन गरेका थिए ।

यसअघि उनको पहिली पत्नीसँग सम्बन्ध बिच्छेद भएपछि कार्कीले राणासँग बिहे गरेका थिए ।

पारिवारिक नाताः शीतलनिवासदेखि सिंहदरबारसम्म

कार्कीको पारिवारिक नाता राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्म जोडिएको छ । कांग्रेस नेता कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका दाजु हुन् ।

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन् । राजनीतिक रुपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजु बहिनीका रुपमा सधैँ हार्दिक सम्बन्ध रहेको छ ।

प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की दुबैजना राणा परिवारका ज्वाइँ हुन् । कार्कीपत्नी आबु राणाका लागि उनका माइतीले बर्दियामा प्रशस्त जमीन दाइजो दिएका थिए । बर्दियामै देउवाका ससुुरालीको पनि प्रशस्त जग्गा जमीन छ ।

प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणाले बर्दियाबाट राजनीति गरिन् भने सालो प्रमोद राणा पनि बर्दियालाई नै आधार बनाइरहेका छन् । प्रतिभा हाल जापानको राजदूत छिन् । देउवाका ससुराली र कार्कीका ससुराली निकट सम्बन्धमा परिवार हुन् ।

नयाँ अर्थमन्त्रीका चुनौती

कांग्रेसभित्र कार्कीको नम अर्थमन्त्रीको रुपमा प्रस्तावित हुँदा देउवा पक्षका नेताले तिनै पुराना अर्थमन्त्रीको नाम लिएरै अर्थमन्त्रालय चलाउन कार्कीले सजिलै ‘सक्ने’ तर्क राखेका थिए ।

कार्कीले यस्तो समयमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् कि उनलाई आफ्ना चुनौतीहरु पन्छाउन सहज छैन । तर, असम्भव भने होइन । कम्युनिष्ट नेतृत्वको सरकारले बनाएको बजेटका आधारमा अब कार्कीले काम गर्नुपर्ने अवस्था छ ।

सकारात्मक पक्ष के छ भने यो पटकको बजेटमा स्थानीय तहले ठूलो रकम पाएका छन्, जसलाई खर्च गर्ने जिम्मेवारी स्थानीय तहलाई नै छ । केन्द्रकै सेरोफेरोमा बजेट राखेर खर्च नगर्ने प्रवृत्तिलाई यसले केही हदसम्म निरुत्साहित गरेको छ ।

नयाँ कार्यक्रम नआएको बजेटले राष्ट्रिय महत्वका ठूला आयोजनालाई पनि समेटेको छ । यी आयोजनामा छुटि्टएका बजेट बेलैमा खर्च नहुने प्रवृत्तिलाई निमिट्यान्न पार्नु कार्कीको प्रमुख जिम्मेवारी हुनेछ ।

अर्थतन्त्रमा रहेको संरचनात्मक समस्या केलाउने हो भने अर्थमन्त्रीले पुँजीगत खर्च नबढाई सुखै छैन । जबसम्म पुँजीगत खर्च बढ्दैन, तबसम्म मुलुकले आर्थिक प्रगति र विकास गर्न सक्दैन । कांग्रेसले भनेजस्तो विकासको गति हासिल गर्न कार्कीले नै मूल खम्बा बनेर काम गर्नैपर्छ ।

भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै उठ्दैछ । अब अघि बढेको पुनर्निर्माणलाई थप गति दिनु पनि नयाँ अर्थमन्त्रीको प्रमुख जिम्मेवारी हुनेछ । भूकम्पबाट भएको भौतिक क्षतिबाट अर्थतन्त्रमा थप नकारात्मक असर पर्न नदिन र मुलुकको नवनिर्माणलाई उच्च प्राथमिकतामा राखेर आन्तरिक तथा बाह्य सहयोग र लगानीको उचित परिचालन गर्दै उच्च आर्थिक वृद्धि हात पार्न सजिलो भने छैन ।

यही अवस्थामा कार्कीलाई यो वर्ष प्रचण्ड नेतृत्वको सरकारले हात पारेको ७.५ विन्दुको आर्थिक वृद्धिलाई कायम राख्नु अर्को चुनौती हुनेछ ।

नाकाबन्दीका कारण छाएको महंगी तीब्र महंगीदर २.५ को विन्दुमा झर्दा जनताले अहिले राहत पाएका छन् ।

अब यसैप्रकारको मूल्यवृद्धि नियन्त्रणको हतियार कार्कीले चलाउनुपर्ने अवस्था छ । घटेको महंगी वृद्धिको दरलाई रोकेर जनतालाई थप राहतको महसुस गराउनु उनको दायित्व हुनेछ । तर, बढ्दो आयातले सिर्जना गरेका समस्याका बीचमा यो काम सहज भने हुनेछैन ।

यस्तै लगानीकर्तालाई विश्वासमा लिन पनि अर्थमन्त्रीले काम गर्नैपर्छ । गहिरिएको ऊर्जा संकट पार लाग्र्दै गर्दा कार्कीले अर्थमन्त्रीका रुपमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग उदार दिलले सुमधुर सम्बन्ध राख्नु जरुरी छ । लगानी बढाउन नीतिगत सुधारका लागि पनि उनले पहल लिनुपर्ने अवस्था छ ।

हाल नेपालको भारतसँगको व्यापार घाटा ७ खर्ब रुपैयाँ बराबरको छ । भारतसँगको व्यापार परनिर्भरता घटाउने अर्को अचूक उपाय भनेको जलविद्युतको अधिकतम उत्पादन बढाउनु हो । जलविद्युतको उत्पादन बढाउन स्वदेशी लगानीकर्ताले मात्रै सम्भव छैन । यो कुरा पूर्वजलस्रोत मन्त्री समेत रहेका कार्कीले पक्कै बुझेको हुनुपर्छ ।

नेपालबाट वर्षेनी लाखौं युवाहरु रोजागरी खोँदै विदेशिने गर्छन्, स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा पलायन रोक्नुपर्ने अर्को चुनौतीको पहाड पनि नयाँ अर्थमन्त्रीका अघि उभिएको छ ।

स्वदेशमै रोजगारी बढाउनका लागि स्वदेशी बजारको आवश्यकता अनुसार सीपमुलक तालिमको व्यवस्था गराएर आन्तरिक रोजगारी बढाउने, वैदेशिक रोजगारीमा दक्ष बनाएर मात्रै पठाउने, रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन आदि कामहरु गर्न सक्नुपर्छ ।

कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि बढाउन आवश्यक प्रविधि तथा उपकरणहरु, दक्ष जनशक्ति, उन्न बीउ र मल, कृषि प्रसार, उत्पादनको बजारीकरण, तथा गुणस्तर कायम गर्नु र सिँचाइका लागि पर्याप्त स्रोत साधन उपलब्ध गराएर कृषिको आधुनिकीकरण गर्नु पनि चुनौतिपूर्ण नै छ ।

आन्तरिक तथा विदेशी पुँजीलाई आकर्षित गरी निजी क्षेत्रको सक्रियतामा उत्पादनशील उद्योग, पूर्वाधार र औद्योगीकरण प्रक्रियालाई तीव्रता दिन समेत सजिलो छैन । भौगोलिक तथा सांस्कृतिक विविधताको उपयोग गरी पर्यटन क्षेत्रबाट रोजगरी सिर्जना र वैदेशिक मुद्रा आर्जनको दीगो स्रोतका रुपमा विकास गर्न भौतिक तथा संस्थागत संरचनाको सुदृढीकरण गर्दै छिमेकीसहित तेस्रो मुलुकका पर्यटक तान्न सजिलो छैन । यसका लागि पनि कार्कीले काम गर्नैपर्छ ।

खर्चको प्राथमिकीकरण गरी उत्पादनशील एवम् पुँजीगत खर्च गर्ने, वित्तीय अनुशासन तथा पारदर्शिता कायम गर्ने र खर्चको अनुगमन र मूल्यांकनमा प्रभावकारिता ल्याएर सार्वजनिक खर्च व्यवस्थापनलाई उपलब्धीमूलक बनाउने कामसमेत चुनौतिपूर्ण छ ।

अवैध निकासी पैठारी, विदेशी मुद्राको अवैध कारोबार, हुण्डी कारोबार र गैह्रकानुनी वित्तीय कारोबार नियन्त्रण गरी औपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गर्न पनि गाह्र्रो छ ।

वित्तीय स्थायित्व कायम गर्ने, वित्तीय पहुँच बढाउने र यो क्षेत्रको विकास र विस्तार गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने अर्थतन्त्रमा देखिएको अर्को चुनौति हो । यस्ता अनेकन आर्थिक चुनौति चिर्न कार्कीले कस्तो काम गर्लान् ? त्यो हेर्न केही समय कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment