Comments Add Comment

बिराटनगरको मेयरमा अमृत अर्याल र वीरगञ्जमा अजय द्विवेदीलाई उठाउने कांग्रेसको तयारी

धरान र इटहरीको विवाद शनिबार टुंगिने, मधेसमा छलफल बाँकी

अमृत अर्याल र अजय द्विवेदी

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बिराटनगर महानगरपालिकाको मेयर पदमा सांसद अमृत अर्याललाई उम्मदेवार बनाउने चर्चा पार्टीभित्र सुरु भएको छ । त्यसैगरी वीरगगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद अजय द्विवेदीलाई उठाउनेबारे कांग्रेस मुख्यालयमा छलफल सुरु भएको छ ।

बिराटनगर र वीरगञ्ज दोस्रो चरणमा निर्वाचन हुने लागेका दुईवटा महानगरपालिका हुन् । यी दुई महानगरमा कसले विजय हात पार्ने भन्नेमा प्रमुख दलवीच प्रतिस्पर्धा छ । दुबै महानगरपालिकामा कांग्रेस, एमाले र माओवादीमात्रै होइन, मधेसवादी दलहरु पनि मेयरका दाबेदारका रुपमा रहेका छन् ।

यसैवीच नेपाली कांग्रेसले बिराटनगरको मेयरमा ठूला र चर्चित नेतालाई टिकट दिएर जित सुनिश्चित गर्ने रणनीति बनाएको कांग्रेस स्रोतले अनलाइनखबरलाई बतायो ।

यसअघि बिराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसले केन्द्रीय सदस्य डिला संग्रौला, जिल्ला सचिव नागेश कोइराला र नगर सभापति भीम पराजुलीमध्ये एकलाई उठाउने चर्चा गरेको थियो । त्यसैगरी फूलकुमार लालवानी र विश्वनाथ रिजालको पनि मेयरका रुपमा चर्चा हुँदै आएको थियो । तर, अब यो चर्चामा सांसद अमृत अर्यालको पनि नाम थपिएको छ ।

बहालवाला सांसद अर्याललाई बिराटनगरको मेयरमा उठाउने प्रस्तावबारे पार्टीमा छलफल सुरु भएको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले स्वीकार गरे । कांग्रेस सभापति लिम्बुले अनलाइनखबरसँग भने- ‘अहिलेसम्म डीलाजी, नागेशजी, भीमजी, फूलकुमारजी लगायतको चर्चा थियो, अब अमृत अर्यालजीको पनि चर्चा सुरु भएको छ, तर यसबारे निर्णय चाहिँ भएको छैन ।’

बिराटनगर महानगरपालिका बनेकाले प्रभावशाली नेतालाई उठाउनुपर्ने कांग्रेसभित्र छलफल सुरु भएको स्रोतले बतायो । मोरङको क्षेत्र नं ५ प्रत्यक्ष निर्वाचित सांसद रहेका अर्याल महानगरको मेयरमा उम्मेद्वार बन्ने टुंगो लागेमा उनले सांसद पदबाट राजीनामा दिनेछन् ।

त्यसो त बिराटनगर महानगरपालिका बनिसकेको अवस्थामा एमालेले पनि ‘हेबी वेट’ उम्मेदवार खोज्न थालेको स्रोत बताउँछ । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डितको नाम बिराटनगर महानगरपालिकाको मेयरमा चर्चा आउने गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा अजय द्विवेदीको चर्चा

बिराटनगर महानगरपालिकामा बहालवाला सांसदलाई टिकट दिन लागेको कांग्रेसले वीरगञ्ज महानगरपालिकामा भने पूर्वसांसद अजय द्विवेदीलाई मेयरको टिकट दिने लगभग पक्का जस्तै भएको कांग्रेस स्रोतले अनलाइनखबरलाई बतायो ।

कांग्रेस नेता द्विवेदी पार्टीका पर्सा जिल्ला सभापति समेत हुन् ।

धरान र इटहरी उपमहानगरमा विवाद

यसैवीच इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा मेयरको टिकटलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ ।

इटहरीमा रोहित प्रसाईलाई मेयरको टिकट दिने सुनेपछि अर्का प्रत्यासी हेमकर्ण पौडेलले पार्टीको नगर कार्यालयमा तालाबन्दी गर्नका साथै हजारौं कार्यकर्तालाई लिएर सडक प्रदर्शन गरेका छन् ।

त्यस्तै धरान उपमहानगरपालिकामा तिलक राईलाई टिकट दिने निर्णय भएपछि किशोर राई समूहले असन्तुष्टि जनाएको छ ।

यी दुबै उपमहानगरको विवाद शनिबारसम्म टुंगो लाग्ने र सबै प्रदेशको उम्मेवारी टुंग्याइने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । प्रदेश नम्बर १ को इलाममा देखिएको विवाद समाधान भएको र ७ नम्बर प्रदेशमा कांग्रेस सभापतिले नै उम्मेद्वारी टुंगो लगाउने कांग्रेस स्रोतको भनाइ छ ।

त्यस्तै पाँच नम्बर प्रदेशको अधिकांश नाम टुंगो लागिसकेको भए पनि दुई नम्बर प्रदेशमा भने वीरगञ्ज बाहेक अन्य स्थानको नाम केन्द्रमा आइनसकेको स्रोतले बताएको छ ।

झापा जिल्लामा पनि कांग्रेसले अधिकांश स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । कांग्रेसले विहीबारदेखि देशैभरिका उम्मेदवारहरुको टुंगो लगाउनका लागि गृहकार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment