Comments Add Comment

माडीका मेयर भन्छन्- बाँदरमुढेमा हामी अझै पीडामै छौं

'अब माडीको घाँस काठमाडौंमा ल्याएर बेच्छु'


२७ जेठ, चितवन । माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ ।

माडीमा माओवादीको जितले धेरैलाई आश्चार्यमा पारेको छ । बाँदरमुढे घटनालाई देशैभरि प्रचार गरेर माओवादीको भोट घटाउन चाहनेहरुका लागि त माडीमा माओवादीले पाएको जितले झनै बढी आश्चार्यमा पारिदिएको छ ।

बाहिर  गरिएको प्रचार र  स्थानीय जनताको मतमा किन  भिन्नता देखियो ? कसरी जिते माअोबादी उम्मेदवारले माडीबाटै?  यिनै प्रश्नको जवाफ खोज्न हामीले माडीका मेयर ठाकुर ढकालसँग केहीबेर भलाकुसारी गर्‍यौं ।  

बाहिरबाट हेर्नेले चितवनको माडीमा माओवादीलेे कसरी जित्यो भन्दै आश्चर्य मानिरहेका छन्, यसको कारण के हो ?

यसको कारण छ, द्वन्द्वकालीन अवस्थामा भएका विभिन्न घटनामध्ये माडीको बाँदरमुढे घटना भयो, जो निकै अनपेक्षित घटना थियो । हाम्रो पार्टीले नचाहँदा-नचाहाँदै त्यहाँ घटना भयो। उबेलै सिंगो पार्टी  त्यो घटनाप्रति निकै दुखित थियो । हामी दुखित थियौं । त्यो घटनाका पीडितलाई कसरी मल्हम लगाउने भन्ने चिन्तामा थियौं ।

तर, अन्य राजनीतिक पार्टीले त्यसलाई एउटा इस्यु बनाएर हाम्रो विरुद्धमा प्रचार गरे, बाँदरबुढे घटना घटाउने पार्टीले त्यो ठाउँमा कसरी जित्छ भन्ने पारियो । यो माडीमा मात्रै हैन, अन्यत्र पनि त्यसरी प्रचार गरियो जसले गर्दा तपाइहरूलार्इ हाम्रो जीत अनाैठो लाग्यो ।

हामीले चाहिँ बाँदरमुढे घटनाका पीडितलाई केही सहयोग गर्नुपर्छ भनेर जिल्लामा योजना बनायाैं । अध्यक्ष कमरेड प्रधानमन्त्री हुँदा नै केही गर्नुपर्छ भनेर योजना बनेको हो । अध्यक्ष ज्युले पनि पीडितलाई भेट्नुभयो, सहयोगको खाका बनाएर पठाउन भन्नुभयो ।

जिल्लाबाट एक करोडको एउटा सहयोगको स्टिमेट बनाएर पठाइयो । तर, त्यसलाई रोक्ने काम भयो । किनकि त्यही बाँदरमुडे घटनालाई अन्तरराष्ट्रिकरण गरेर डलरको खेती गर्ने मान्छेहरुले नचाहिने प्रचार गरेर रोक्ने काम गरे ।  त्योमात्र रोकिएन, पछिल्लो  पछिल्लो पटक माडी महोत्सवका बेला ६० लाखको रोजगारमूलक कार्यक्रमसहित  प्याकेज बनायौं । त्यहाँ गएर अध्यक्षले घोषणा पनि गर्नुभयो । त्यसलाई पनि रोक्ने काम भयो । यसरी बारम्बार विकास र राहतमूलक कार्यक्रमहरु रोकिए ।

तपाईले बाँदरमुढेका जनतासँग के भनेर भोट माग्नुभयो ?

म चुनावी दौरानमा त्यहाँका पीडित जनताका घर-घरमा गएँ । मैले तपाईहरु त्यो घटनामा पीडित हुनुभयो, राज्यका तर्फबाट १० लाख रुपैयाँ दिने निर्णय भएको छ । शहादात पाएकालाई त्यतिले नै त पुग्दैन । त्यहाँ घाइते, अपांगहरुले केही पाए, तर मृतक परिवारले त केही पनि नपाएका छन् । अहिले हामीलाई हेर्नुस्, म नगरपालिकाको मेयरमा उठ्दैछु बरु मलाई हेर्नुस्, किनकि प्रचण्ड पो उता गए होलान्, म त रातोदिन तपाईहरुकै बीचमा छु नि भनेँ ।

कम्तिमा हामीलाई मत दिनुस्, हामी तपाईंका समस्या कसरी हल गर्ने भन्ने योजनाका साथ आउँछौं भन्यौं । त्यसपछि हामीसँग घटनाका पीडितले साँच्चै तपाईंले त्यो योजनाका साथ काम गर्नुहुन्छ भनेर सोधे । मैले उहाँहरुसँग प्रतिवद्धता जनाएको थिएँँ । मैले जितेँ भने पीडितका लागि काम गर्छु भनेर प्रतिवद्धता गरेको थिएँ । जनताले बिश्वास गरेर भोट दिए ।

के-के प्रतिवद्धता जनाउनुभयो ?

बाँदरमुढे घटना भएको स्थानमा एउटा बाटिका बनाउने । त्यहाँ अहिले आतंककारीबाट भएका अततायी घटना भनेर जो लेखिएको छ, त्यसमा म सहमत हुन्न । त्यो लेखिएको शब्दावली कसरी मिलाउने, हामी मिलौला । माओवादी पार्टी र जनताले नै सम्बोधन गर्ने गरी केही मिलाएर शब्दावली राखाैंला र बाटिका निर्माण गरौंला ।

त्यसैगरी पीडित र पीडित परिवारका लागि नगरपालिकाबाटबाट एउटा रोजगारमूलक कार्यक्रम गरौंला भनेको थिएँ । त्यसले पनि बाहिर प्रचारबाजी जस्तो भएन । म यतापटि्ट पीडितसँग त्यो प्रतिवद्धता गरिरहेको छु, उतापटि्ट मेरा मान्छे मार्ने माओवादी भनेर त भएन नि ।

हिजोमात्रै बाँदरमुढेमा त्यो घटनाको बाह्रौं वाषिर्क कार्यक्रम भएको थियो । पीडितहरुले मलाई बोलाउनुभएको थियो । म त्यहाँ गएँ । अब बाँदुरमुढे घटनाको सबै सकियो भन्नुभयो सबैले । मैले त्यहाँ पहिले जे भनेको थिएँ, हिजो पनि त्यही भनें ।

अब विजयी बनेपछि तपाई बाँदरमुढेका पीडितहरुलाई के गर्नुहुन्छ ?

नगरपालिकाबाट हुनेजति म गर्छु । हिजोको १ करोड रुपैयाँ र ६० लाख जसरी पनि दिलाउँछु । हाम्रा अध्यक्ष त अझै ज्युँदै हुनुहन्छ । त्यसैले जानुहुन्छ भने तपाईंहरुलाई लिएर पनि म अध्यक्षसँग कुुरा गर्छु । नभए म एक्लै जान्छु । म बाँदरमुढे घटनाका पीडितका लागि पार्टीले केही गर्नुपर्छ भनेर अध्यक्षसँग भन्छु र गर्छु ।

माडी घटना हुँदा कहाँ हुनुहुन्थ्यो ?

म नारायणगढमा थिएँ ।

पहिलेदेखि नै पार्टीमा हुनुहुन्थ्यो ?

हो, अध्यक्ष कमरेड र मैले एउटै बैठकबाट पार्टी सदस्यता पाएका हौं । हामी एउटै मिटिङबाटै जिल्ला कमिटीको सदस्यता लिएका थियौं ।

माडी घटनाले कति पिरोल्थ्यो मेयर हुनअघि ?

पहिलो कुरा त यो घटनाले हामी पूरै स्तब्ध भयौं । त्यो सूचना गलत ढंगले नै भयो भन्ने थियो । घटनामा जुन स्तरका मान्छेहरुको मृत्यु भयो, हामी त्यही वर्गको मुक्तिका लडेका थियौं । पछि हामी गयौं जनताकहाँ । हामीलाई आन्दोलनमा सहयोग गर्ने मान्छेहरु, जो बाम आन्दोलनप्रतिको झुकाव राख्ने मान्छेहरु, बामपन्थीको पकड भएको क्षेत्र माडी, कम्युनिस्टलाई माया गर्ने मान्छेहरुकै दुखद निधन भएको थियो । यसले हामीलाई निकै पिरोल्यो । हामीलाई यसले निकै पीडा दियो, अझै हामी पीडामै छौं ।

त्यो घटनामा पीडित भएकाहरु माओवादी जाँदा पछाडि फर्किने अवस्था छ । भोलि माओवादीका नेता त्यहाँ जाँदा यो पार्टी साँच्चै जनताको काम गर्ने र माया गर्ने रहेछ भन्ने नभएसम्म मलाई चिन्ता रही नै रहनेछ ।

माओवादी नेताहरु माडी छिर्न सक्दैनन् भन्थे, बाँदरमुढे घटनापछि तपाईहरु माडीमा कति पछि जानुभयो ? याद छ ?

हामी अलि पछि नै गयौं । केही समयअघि वनमन्त्री हुँदा अग्नि सापकोटा जाँदा पीडितले कालो भण्डा देखाउन खोजे ।

यस्तो अवस्थामा पनि तपाईंले आँट गर्नुभयो र चुनाव जित्नु पनि भया यसको रहस्य के हो ?

मेरो आफ्नै एउटा बिरासत पनि छ । म चुनाव उठेर कहिले हारेको थिइनँ । राज्यले लगाएका राज्य विद्रोह र विभिन्न मुद्दा पनि हारेको थिइनँ । धेरैपटक पक्राउ भइयो, मुद्दामा गएपछि म हारेको थिइँन । त्यसैले यो पटक पनि म मेरो बिरासत कायम राँख्दैै हार्दिन भन्ने विश्वास नै थियो ।

तपाईं राजनीतिबाहेक अरु के गर्नुहुन्छ ?

म खास केही गर्दिनँ । मेरो पुख्र्यौली जमिन पनि छ । छोराबुहारी लेक्चरर छन् । साना छोराबुहारी पनि ब्यवसाय गर्छन् । मेरो ३ बिगाहा खेत छ । म कसरी भनुँ, ठीक ढंगले भन्यो भने म क्रान्तिकारी, गलत ढंगले भन्यो भने सामन्ती । मेरो खेतको सबैको भन्दा ठूला गरा छ । जमिनलाई चक्लाबन्दी गर्नुपर्छ भन्ने भएकाले म अरुलाई अधियाँ गर्न दिन्नँ । म दुई दिनमा गएर धान रोपेर सक्छु ।

म आफैं खेती लगाउँछु, मेरो खेतको मकै हेर्नुस्, धान हेेर्नुस्, आलु हेर्नुस्, गहुँ हेनुर्स् म सबैको भन्दा उत्कृष्ट किसिमले उत्पादन गर्छु । म आफैं गर्छु । अहिले धान लगाउने बेला भएको छ । मंसिरतिर मेरो खेतमा आउनुहोला । म अब सबै खेतमा राज्मा लगाउने प्लानमा छु । मेरो खेतमा जति राज्मा अरुकोमा फलेको देख्नुहुन्न ।

मेरो श्रीमती पनि यसमा खटिन्छिन् । मैले काम गर्ने मान्छेलाई ल है यसरी गर्ने भन्छु । तारतम्य मिलाउँछु । मैले किसानहरुलाई पनि तपाईंहरु पनि यसरी गर्नुस् भन्छु । तपाईंहरु खेती गरेर फाइदा नै हुन्न भन्नुहुन्छ, मेरो जसरी गर्नुस् न भन्छु । सामाजिक काम सँगै उत्पादनमा पनि जोडिनुपर्छ भन्ने मेरो मान्यता हो । म आफैं यो काममा खटिन्छु ।

माडीका जनताले तपाईंलाई पत्याएर मत दिए, अब च्यालेन्ज आयो जस्तो लागेको छैन ?

हो, च्यालेन्ज छ । म माडीको मेयर भएँ । म भोट माग्न जाँदै गर्दा र त्यहाँ मतगणना गर्दै गर्दा मलाई चिन्ता लागेको थियो । अहिले मलाई यति धेरै चिन्ता छ कि माडीमा कुनै आर्थिक स्रोत छैन । यहाँ केन्द्रबाट पठाएको बजेटबाहेक अरु स्रोत छैन । यहाँ विकास गर्नुपर्ने धेरै चिज छ । हाम्रा अगाडि धेरै चुनौती छ । ती चुनौतीलाई सामना गरेर नजाने हो भने राष्ट्रिय निकुञ्जका कारण माडीका जनता पीडित छन् । रिउ खोलाबाट जनता पीडित छ, यातायातको अभावका कारण जनता पीडित छन् । अस्पतालको अभावका कारण जनाता पीडित छन् । यी मुख्य-मुख्य काम नगर्ने हो भने यहाँ माओवादी पार्टी सिद्धिन्छ ।

किनकि हामीले जितायौं, यसले पनि झुट बोलेर गयो भन्ने त हुनुभएन । त्यसैले हाम्रो पार्टीलाई कसरी जनताका माझ स्थापित गराउने कसरी मैले दायित्व पूरा गर्ने भन्ने चिन्ता छ ?

म फेरि माओवादीको मात्रै होइन, म त अब सम्पूर्ण जनताको प्रतिनिधि पनि हुँ । त्यसैले जनताको हिसाबले म प्रतिनिधि हुँ । म त सबैको भएँ अब । सबैले के सोचिरहेका छन् भने यो अलि अप्ठेरोमा छ । ठाकुर अरुभन्दा गर्न सक्ने छ, बोल्न पनि सक्ने छ भन्ने आश पनि छ । मेरो पार्टीको सदस्यता नलिएकाले पनि मलाई भोट दिएका छन् । त्यसैले कसरी काम गर्ने भन्नेमा चिन्तित छु । एउटा नयाँ काम त मैले गरि नै सक्या छु ।

१० दिनपछि त्यो जनताले नै देख्नेछन् । माडीको राष्ट्रिय निकुञ्जबीचबाट जाने बाटो साँघुरो छ । त्यहाँ राष्ट्रिय निकुञ्जको रुख अहिलेसम्म मात्रिका यादवले एउटा रुख काट्नुभयो । त्यसपछि कोही गएर पनि त्यो काम सकेनन् । मैले अस्ति निकुञ्जको वार्डेनसँग बाटो फराकिलो रुख काट्दिनुस् भनेर अनुरोध गरेको थिएँ । उहाँले मलाई बजेटको व्यवस्था गर्नुस् भन्नुभएको थियो । मैले नगरपालिकाले १/२ लाख खर्च गर्छौं भनेको थिएँ । उहाँले आज मलाई मैले मेरो प्राविधिक लगेर त्यो हेरेँ, म २० वटा बाटोको रुख काटिदिन्छु भन्नुभएको छ । निर्णय भइसक्यो भनेर फोन आयो ।

माडीको विकासका लागि भन्दै अरुलाई गाली गर्दै हिँड्ने बिक्रम पाण्डेले पनि ५ वर्षमा गर्न नकेसकेको काम ठाकुरले गर्छ । अहिलेसम्म कसैले गर्न नसकेको काम गर्न पाएकोमा मलाई त्यसमा गर्व छ ।

जगंलको बाटो अबको १५ दिनभित्रै राम्रो बनाउँछु । ग्राभेलमा मोटरसाइल उफ्रेर धद्लङ-धद्लङ गर्दै हिँड्ुनपर्नेछ । अब त्यो बाटो मर्मत गरेर स्तरीय रुपमा ग्राभेल गर्छौं । अब ग्राभेलिङ गरेर रोलिङ गरेर सरर हिँड्दा पीचमै हिँडेजस्तो महसुस हुने बनाउँछौं ।

यो त १५-२० लाखको काम भयो, गर्छौं । तर, ठूलो कामहरु पनि गर्नुछ । तर, उतापटि्ट रिउ खोलो छ । त्यहाँ करोडले पनि हुँदैन, अर्ब चाहिन्छ । अब मैले कसरी पुर्‍याउने ? हामीले माडीमा विकासका लागि एउटा रिंगरोड बनाउने भनेका छौं । माडीलाई सरर घुमेर हेर्न मिल्ने गरी पर्यटकीय क्षेत्रको हिसावले विकास गर्ने योजना छ । यसका लागि मैले पैसा कसरी उठाउने ? किनकि राष्ट्रिय निकुञ्जको बीचमा छौं, यहाँ थुप्रै खोला छन् । यहाँको ढुंगा गिटी बालुवा उठाएर बेच्न पाइने हो भने हामी सबैभन्दा धनी नगरपालिका हुन्थ्यौं । मैले मुख्यसचिवसँग पनि सोधेर उहाँले यसको सल्लाह पछि गरौंला, पछि के बन्छ, यसको उत्तर अहिले नै दिन नसकिने भन्नुभयो ।

त्यसैले म स्रोत नभएकाले अहिले कसरी स्रोत ल्याएर काम गर्ने भन्नेमा चिन्तित छु । मसँग माडीका जनताले जुन अपेक्षा गर्नुभएको छ, त्यो मैले गर्न सकेँ भन्न सकिनँ भने म जनप्रतिनिधिको दायित्व र जिम्मेवारी रुपमा आनन्द मिल्ने छैन । सँधै अरुसँग मागेर ल्याएर त हुँदैन । त्यसैले म स्रोत जुटाउने विषयमा चिन्तित छु ।

तपाईंले अबको ५ वर्षपछि बन्ने माडीको सपना कस्तो हो ?

त्यहाँ जुन रिउ खोला छ । खोलाको कटानले यहाँको १ हजार बिघा जमिन बगरमा छ । मैले त्यो खोलालाई तटबन्ध गरेर कोरिडोर निर्माण गरेर त्यसको माथिबाट चक्रपथ अर्थात बाइरोड बाटो बनाएर

रिउ पारिका जंगली जनावर रोक्ने योजना छ । त्यो भित्रपटि्ट पर्ने हजार बिगाहभन्दा बढी जुन जग्गा छ, हामीले त्यहाँ बनकटट्टामा राम केसी भन्नेसँग करिब-करिब एगि्रमेन्ट गरिसकेका छौं । त्यहाँ ५ सय बिघामा घाँसे मैदान निर्माण गर्ने योजना छ । अब माडीको घाँस काठमाडौं लगेर बेच्छौं । माडी बेकारको ठाउँ भन्नेलाई हामी काठमाडौंमा घाँस ल्याएर बेचेर देखाउँछौं ।

काठमाडौंमा मात्रै हैन, उसलाई चाहिएजति जग्गा दियौं भने उसले अष्ट्रेलिया लगेर यसलाई बेच्नेछ । घाँस खेतिलाई नै आधार बनाएर घाँसे मैदानमार्फत माडीको आर्थिक स्रोत बढाउने योजना छ ।

सँगै, यसको माथि मत्स्य पालनका लागि पकेट क्षेत्र बनाउने र त्यसभन्दा माथिल्लो भाग फलफूल खेती गर्ने । त्यसरी त्यहाँ रिउकोटबाट तटबन्धन बनाएर दक्षिणतर्फबाट पनि रिंगरोड बनाउने । त्यसपछि माडीलाई ३ किसिमले पर्यटनको केन्द्रको बिन्दु बनाउने योजना छ ।

यहाँ पौराणिक महत्वको पाण्डव नगर छ । यहाँ पाण्डबहरु वनबास बसेको कथनसँग जोडिएका केही अवशेष पनि छन् । त्योसहितको सोमेश्वर कालिका र बैकुण्ठताललाई पनि आधार बनाउन सकिन्छ । माडीजस्तो ठाउँमा समथर भएर पनि झरनाबाट पानी झरिरहेको छ । ठूलो ताल छ । यसलाई धार्मिक हिसावले पनि पर्यटनको केन्द्र बनाउने ।
त्यसैगरी त्यो घाँसे मैदानलाई पनि हेर्न जाउँ-जाउँ भन्ने बनाउने र यहाँका थारुहरुको लोपोन्मुख कला र संस्कृतिलाई आधार बनाएर थारु संग्राहलय बनाउने योजना छ ।

यसबाहेक खानेपानीलाई ब्यवस्थित गर्ने, डिप बोरिङमार्फत खानेपानीको ब्यवस्था गर्ने काम पनि गर्नुपर्नेछ । अस्पतालको स्तरोन्नति गर्ने योजना छ । म यहाँका प्रधानाध्यापकसँग बसेर योजना बनाउन गइरहेको छु । अब माडीको शैक्षिक गुणस्तर उठाउनुपर्छ । यहाँ पढेकाहरुले बूढानीलकण्ठमा अंग्रेजीमा पढेकाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । अब नेपाली माध्यमबाट पढाएर ग्रेसमार्क दिएर विद्यार्थीलाई पास गरेर हुँदैन । त्यसैले यहाँका सरहरुसँग कुरा राम्रो शैक्षिक गुणस्तरको नमुना योग्य बनाउने काम गर्छु ।

अबको ५ वर्षमा ठाकुरले कति काम गर्छ भन्ने एउटा कुरा हो, तर माओवादी पार्टीले गरेर देखायो भन्ने गरी काम गर्नेछु । अर्कोपटक माओवादीले भोट माग्नै नपर्ने गरी काम गर्छु ।

भिडियो  कुराकानी हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment