Comments Add Comment

कान्छी उपाध्यक्षको राजनीतिक नशाः लाग्दिनँ भन्दाभन्दै लगायो पार्टीले

एनजीओबाट गाउँ घुम्दाघुम्दै गाउँपालिका उपाध्यक्ष

३० जेठ, काठमाडौं । निर्वाचन आयोगको रेकर्ड अनुसार पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३४ जिल्लाका २८३ स्थानीय तहमा ४२ जना उम्मेदवार २१ वर्ष पुग्दै गरेका मात्र थिए । निर्वाचन कानुन अनुसार २१ वर्षका व्यक्तिले स्थानीय तहमा उम्मेदवार हुन पाउँछन् ।

यिनै ४२ जनाभित्र परिन्- रसुवा नौकुण्ड गाउँपालिकाकी सिर्जना लामा ।

सिर्जनाले १६०९ मत प्राप्त गरेर गाउँपालिका उपाध्यक्ष जित्दा निकटतम प्रतिद्धन्द्धी नयाँ शक्तिकी युटी लामिनीले १५२६ मत पाइन् । स्थानीय एनजिओमा काम गर्दा गर्दै सिर्जना २८३ स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखमध्ये सबैभन्दा कान्छी जनप्रतिनिधि बन्न पुगिन् ।

राजनीति फोहोरी खेल होइन

उनको उमेर समूहका आम युवाले जस्तै उनी पनि राजनीति फोहोरी खेल हो भन्थिन् । तर अब राजनीतिप्रति उनको सोच फेरिएको छ । राजनीतिबाट मात्रै समाजको परिवर्तन र सम्बृद्धि सम्भव छ भन्ने निष्कर्षमा पुगेकी छन् यी युवती ।

जनप्रतिनिधिको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण लिन हिमाली जिल्ला रसुवाको सबैभन्दा दुर्गम गाउँबाट काठमाडौं आइपुगेकी सिर्जनालाई खोज्दै जाँदा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भेटिइन् । उनी त्यहाँ आफू आबद्ध पार्टी नेकपा एमालेका शीर्ष नेताहरुको निर्देशन डायरीमा टिप्दै थिइन् ।

स्नातकोत्तर तहमा भर्ना हुने तयारीमा रहेकी सिर्जनाको काँधमा एकाएक पढाइभन्दा ठूलो जिम्मेवारी आइसकेको छ । तर, पनि उनले पढाइ, राजनीति र जनताको सेवा सँगै अघि बढाउने निर्णय गरेकी छन् । ‘राजनीति गर्दिन भन्दा भन्दै राजनीतिको नशा चढिहाल्यो । अब सम्पूर्ण जीवन पार्टी र जनताको लागि समर्पित गर्ने भएँ’ कुराकानी शुरु नहुँदै उनले आफ्नो मनको कुरा खोलिन् ।

बिहेवारी ५ वर्ष पारि

गाउँपालिका उपाध्यक्षको ५ वर्षे कार्यकाल पूरा गर्दा उनी २६ वर्ष पुग्ने छिन् । जब कि आम युवाले २६ वर्षको उमेरसम्म जीवनकाले लक्ष्य नै किटान गरिसकेका हुदैनन् । तर, उनले भने भने त्यसपछिको योजना पनि बनाइसकेकी छन्-त्योभन्दा माथि राष्ट्रिय राजनीतिमा स्थापित हुने ।

२१ पुगेर २२ टेक्दै गरेकी सिर्जना अविवाहित हुन् । ५ वर्ष गाउँको सेवा गर्न कस्सिएकी यी कान्छी उपाध्यक्षले विवाहबारे सोचेकी छैनन् ।

‘विहेबारीको कुरा अब ५ वर्षलाई स्टप नै भयो । तन, मन र धन दिएर जनताको काम गर्ने हो’ सिर्जनाले भनिन् ‘विहे गर्ने उमेर पनि के भएको छ र ? अहिले त्यसबारे सोचेको छैन ।’

यी कान्छी जनप्रतिनिधिले राजनीतिमा आफ्नो प्रवेश र भावी योजनाबारे अनलाइनखबरलाई यसरी सुनाइन् ।

महेश बस्नेतको पदचाप पछ्याउने

म अहिले २१ वर्ष पूरा भएँ । सबैभन्दा कम उमेरको जनप्रतिनिधि भएकी छु । मैले सुनेकी थिएँ, २०५४ सालको स्थानीय चुनावमा महेश बस्नेत कान्छो गाविस अध्यक्ष हुनुहुन्थ्यो । उहाँ युवा संघको अध्यक्ष हुँदै मन्त्रीसमेत भइसक्नुभयो ।

महेश बस्नेत कान्छो जनप्रतिनिधि बन्दा म भर्खरै जन्मिएकी थिएँ । आज संयोगले म उहाँको बिडो थाम्ने ठाउँमा पुगेँ । भविष्यमा के हुन्छ त्यो त भन्न सकिन्न तर गाउँबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्छु भन्ने विश्वास छ ।

मेरो उमेरका अरु साथीहरु जस्तै म पनि राजनीतिप्रति निराश थिएँ । तर संयोग यस्तै पर्‍यो पार्टीले पत्याएर टिकट दियो । जनताले पत्याएर चुनाव जिताए । अब त राजनीतिको नशा चढिसक्यो,यसलाई निरन्तरता दिने हो ।

उम्मेदवार बन्दै गर्दा मलाई धेरै साथीहरु र आफन्तले सोधेका थिए-हारिस भने के गर्ने ? मेरो उमेरका कारण यो प्रश्न आएको थियो । तर मैले त्यतिबेलै भनेकी थिएँ-जिते पनि हारे पनि अब राजनीतिमा लागियो,चुनाव नजिते पार्टीमा काम गर्छु । राजनीतिको मैदान छाडेर भाग्दिन भनेकी थिएँ,जनताले नै भाग्न दिएनन् ।

पहिले त राजनीति गरेका मान्छेहरु देख्दा राजनीति गर्दिन भन्थेँ । तर, जब एमाले पार्टीसँग नजिक भइयो,सामाजिक कामहरुमा लागियो, अनि त राजनीति बिना केही पनि हुँदैनजस्तो लाग्न थाल्यो । हामीजस्ता युवाले राजनीतिलाई घृणा गर्ने होइन,आफैं राजनीतिमा लागेर फोहोर सफा गर्ने हो ।

बुवाको कारण एमाले

म प्रत्यक्ष रुपमा राजनीतिमा संगठित भएकी थिइन । ८ कक्षामा पढ्दा गाउँकै स्कूलमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भएकी थिएँ । त्यसपछि कलेज पढ्दा खासै संगठित भइएन । तर, घरमा मेरो बुबा नै एमालेको नेता हो ।

उहाँ २०५४ सालमा एमालेबाट वडाध्यक्ष हुनुभएको थियो । पार्टीको गाउँ कमिटी अध्यक्ष हुँदै अहिले दक्षिण भेगीय कमिटीको उपाध्यक्ष हुनुहुन्छ । उहाँकै योगदान र मेरो सक्रियता देखेर पार्टीले मलाई उपाध्यक्षको टिकट दियो । पार्टीले विश्वास गरेर अघि बढायो, जनताले विश्वास गरेर झन् अघि बढाइदिए ।

उम्मेदवार नबनेको भए म आफ्नै जागिरमै हुनेथिएँ । सेभ द चिल्डे्रनको सहयोगमा सन्चालित स्थानीय एनजिओमा काम गर्दा गाउँका धेरै जनताको सेवा गरियो । हेल्भिटासमा पनि काम गरेँ । सामाजिक संस्थामा जोडिएकै कारण जनताले मलाई चिने र आज चुनाव जित्ने अवस्था बन्यो ।


चिन्ताः आफ्नो करिअर र गाउँको सम्वृद्धि

उपाध्यक्ष जित्नुभन्दा पनि चुनौति अब कसरी काम गर्ने भन्ने हो । अध्यक्षमा पार्टीको उम्मेदवारले हार्नुभयो । जनताले मलाई विश्वास गर्नुभयो । अध्यक्ष विपक्षी पार्टीको हुनुहुन्छ, म एक्लो हुँदा काम गर्न सक्दिन कि भन्ने लागेको थियो ।
गाउँपालिकामा हामी जुन जुन पार्टीबाट जिते पनि अब जनताको साझा प्रतिनिधि हौं । त्यसमा पनि म एक्लो छैन । मेरो साथमा पार्टी छ, बुबाहरु हुनुहुन्छ । जनताको साथ छ । पार्टीले जे निर्देशन दिन्छ त्यहि अनुसार काम गर्ने हो । कतिपय कुरामा पार्टीको निर्देशन भन्दा जनताको भावना बुझेर काम गर्नुपर्छ ।

मैले राम्रो काम गर्न सकेँ भने अरु युवालाई प्रेरणा हुनेछ । मैले राम्रो काम गर्नु भनेको आफ्नो राजनीतिक करिअर पनि सोच्ने हो । गाउँको सम्बृद्धि भयो भने आफू पनि अघि बढ्न सकिन्छ । किनभने मेरो अगाडि त सिंगो जीवन बाँकी नै छ । सानो गल्तीले राजनीति र सामाजिक जीवन धरापमा पर्छ भन्नेमा म सचेत छु ।

राजनीतिमा लागि हालियो । अहिलेनै कुनै ठूलो महत्वकांक्षा राखेको छैन तर म राष्टिय स्तरमा पुग्न सक्छु कि भन्ने लागेको छ । यो पहिलो फेजमा हो । यो ५ वर्ष मैले कसरी काम गर्न सक्छु,जनताको मन कत्तिको जित्न सक्छु ? कुनै पनि लोभलालच छैन । अबका चुनावहरुमा पनि भाग लिन्छु । म सबैले सोचेको र मैले सोचेको स्थानसम्म पुग्न सक्छु ।

नौकुण्डमा समस्याका झुण्ड

हिमाली जिल्ला रसुवामा नौकुण्ड सबैभन्दा दुर्गम गाउँपालिका हो । साबिकका ३ गाविस जोडिएर बनेको यो गाउँपालिकामा सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था विकराल छ ।

त्यसमा पनि साबिक यार्सा गाविस सबैभन्दा दुर्गम र विकट छ । बल्ल बल्ला रसुवाको हाम्रो माननीय सांसद जनार्दन ढकालको पहलबाट सडकको ट्रयाक खुलेको छ । तर गाडी गुड्ने रोड अहिले पनि छैन ।

बत्ती बाल्नुपर्ने चुनौति हामीसँग छ । भूकम्पले खानेपानीका मुहानहरु बिथोलेर खानेपानीको समस्या पनि चर्किएको छ । मुहानहरुको व्यवस्थापन गरेर खानेपानी सहज बनाउन लाग्ने हो अब । हाम्रोमा शिक्षाको अवस्था झनै दयनीय छ ।

स्वास्थ्य चौकी भए पनि औषधि र स्वास्थ्यकर्मी छैनन् । न्युनतम सुविधा पनि नभएको अवस्थामा हामीले काम थाल्नुपरेको छ । चुनौति धेरै छन्, तर पार लगाउन सकिन्छ भन्ने आत्मविश्वास मैले लिएकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment