Comments Add Comment

राजनीतिक जात्राः कांग्रेस, एमाले र माओवादीको भोटो

हरेक प्राणी आफ्नो क्षमतामा अब्बल मानिन्छ । हरेकको आफ्नो गुण तथा विशिष्टता हुन्छ । जस्तो कि मृग बेतोडसँग दौडिन्छ, चील दिनभर उड्न सक्छ, चिबेचरो सानो भईकन पनि आफूभन्दा ठूला काग र गिद्धलाई पनि लखेट्न सक्छ । यस्तै, मौरी फूलको रसमा भेटिन्छ भने झिंगा फोहोरमा ।

नेपालको राजनीतिक मैदानमा पनि विभिन्न संगठन क्रियाशील छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसवादी आदि । यी सबै दलको आ–आफ्नै नेतृत्व र चरित्र छ । त्यही चरित्रले उनीहरुको पेशा र जीविका चलिरहेको छ ।

कांग्रेससँग च्यातिएकै भए पनि सात सालदेखि टालटुल पारेर देखाउने प्रजातन्त्रको भोटो छ । ऊ मत्स्येन्द्रनाथको भोटो झैं चुनावका बेला त्यो भोटो सन्दुकबाट झिक्छ, टालटुल पारेर सिलाउँछ र चुनावभरि त्यही भोटोको बखान गर्दै भैलो खेल्दै हिंड्छ ।

भोटोमा हकदाबी गर्न कोही आउने विश्वास नभए पनि धेरै मान्छे भोटो हेर्न जावलाखेल पुग्छन्, अझ सरकारले त उपत्यकामा बिदा नै दिन्छ । त्यसैगरी केही नेपालीहरु कांग्रेसको भोटोमा विश्वास गर्छन् र उसको झोलामा दान गर्छन् । यही दानको कमाइले ऊ सत्तामा जान्छ । अर्को चुनावसम्मको लागि त्यो भोटो जतनले पट्याएर सन्दुकमा थन्क्याउँछ र आरामले भोटो बिना शासन चलाउँछ ।

भोटो उठाएर देखाउने, बीपी, गणेशमान, गिरिजा, देउवा जो भए पनि केही फरक पर्दैन । बस्, भोटो चाहिँ चुनावमा देखाएकै हुनुपर्छ ।

देवेन्द्र कोइराला

अर्को एमाले पार्टी छ । कांग्रेसको जस्तो उसको आफ्नो निजी भोटो छैन । कांग्रेसको भोटो देखेर उसले पनि ०४६ सालपछि प्रजातन्त्रको तुना जोडेर एउटा भोटो सिलायो । त्यही भोटो पहिरिएर उसले धेरै वर्ष राजनीति हाँक्यो । केही वर्षपछि ऊ मोटाउँदै गयो र पुरानो भोटो उसलाई कत्ति पनि सुहाएन ।

सधैं मीठो खानुपर्ने, झिल्के देखिनुपर्ने र मोटोघाटो हुनुपर्ने उसको बानीले एमालेलाई त्यो भोटोमा मात्रै चित्त बुझेन । देउवाले कांग्रेसको भोटो लगेर दरबारमा चढाएपछि एमालेलाई भोटोको मोडेल चेञ्ज गर्ने मनसुवा पलायो र एमाले पनि राजसी भोटो लगाउन हौसिँदै दरबार छिर्‍यो । तर, जे देखे पनि क्वाप्प मुखमा हालिहाल्ने बानीले ऊ दरबारमा टिक्न सकेन र ज्ञानेन्द्रले उसलाई त्यहाँबाट खेदे । ऊ रुँदै रत्नपार्क आएर कांग्रेसको छेउमा टुक्रुक्क बस्यो र आँसु पुछ्यो ।

कांग्रेसले गरेको आन्दोलनमा पनि एउटा सिट ‘बुक’ गरेर उसको एउटा समूह मन नलागी–नलागी बस्यो र अर्को समूह दरबारकै वरिपरी बिन्तीपत्र लिएर अर्को सिट ‘बुक’ गर्न नागार्जुन र दरबारतिर घुमेको घुम्यै गर्‍यो । तर, ढोकै नखुलेपछि केही सीप नलागेर फेरि रत्नपार्क फर्कियो । जसको जिउमा राम्रो भाटो देख्यो, उसैको भोटो खोसेर लगाइहाल्ने एमाले अहिले पनि गणतन्त्रको डिलक्स सिटमा विभिन्न रमाइला टुक्का सुनाउँदै खुट्टा हल्लाएर बसेकै छ ।

माओवादीले १० वर्षसम्म जनयुद्ध लड्यो । देशको धेरै भूभागमा आफ्नो शासन पनि चलायो । धेरै निमुखा, गरिब र साधारण जनता उसको भोटो हेर्न र त्यसको डिजाइन बुन्न लामबद्ध भए ।

लोकतन्त्र, गणतन्त्र, समावेशी, संघीयता, समानुपातिक भोटाहरु कांग्रेस र एमालेले पहिरिएपछि माओवादीसँग अहिले पहिलेको जस्तो ‘ओरिज्नल’ भोटो छैन र जे छ, त्यो फिक्का देखिएको छ ।

दरबारले काठमाडौंका पार्टीलाई खेदेपछि गिरिजाप्रसाददेखि माधव नेपालसम्म उसैको भोटो हेर्न रोल्पादेखि दिल्लीसम्म गए । उसले यही भोटोले गणतन्त्र ल्याउने जुक्ति दियो । गणतन्त्रको शब्द सुन्दा पनि तर्सिनेहरुका मुखमा पानी आयो र त्यही भोटो भिर्न राजी भए । आखिर उपाय पनि त थिएन, उनीहरुको भोटो दरबारबाट फुत्काउने सबै सम्भावना सकिएपछि उनीहरुसँग मिलेर आन्दोलन भयो र जे भयो, अहिलेसम्म देखिएकै हो ।

अहिले माओवादी आफैं भोटोविहीन बन्यो । उसले सिलाएको भोटो लगाएर कांग्रेस र एमालेहरु मैदानमा ‘र्‍याप’ हानिरहेका छन् । लोकतन्त्र, गणतन्त्र, समावेशी, संघीयता, समानुपातिक भोटाहरु कांग्रेस र एमालेले पहिरिएपछि माओवादीसँग अहिले पहिलेको जस्तो ‘ओरिज्नल’ भोटो छैन र जे छ, त्यो फिक्का देखिएको छ ।

फेरि गणतन्त्र आएपछि माओवादीभित्र पनि भोटो तानातान भयो । सिंगो भोटो अहिले उसंग भए पनि त्यही तानातानीमा उसका भोटोका तुना चुँडिएर कुनै वैद्यबासँग छ त केही तुना विप्लवसँग ।

अब त्यो भोटो लगाऊँ कि नलगाऊँ भन्नेमा अहिले उ अन्यौलमा छ । तैपनि सत्ता छोडेको १० महिनासम्म इन्तु न चिन्तु भएर सपनामा समेत बर्बराउन नछोड्ने यो देशमा स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न भएपछि र लोभलालच नगरी खुरुक्क अर्कोलाई प्रधानमन्त्रीको पद सुम्पेपछि उसको मुहार उज्यालो भएको छ ।

मधेसमा आन्दोलन गरेर हल्लीखल्ली मच्चाएका मधेसवादीहरु अहिले महाभारतमा थाकेका सिपाही जस्ता छन् । एकताका दिल्लीदेखि लालु यादवको आँगनमा रातारात गुहार माग्न पुग्ने मधेसकेन्द्रित दलहरु अहिले मधेस झरेर चुनाव लड्ने तागत समेत गुमाइसकेका छन् । उनीहरुका विभिन्न माग छन् । तर, उपेन्द्र यादव बाहेक राजपाका बाँकी नेताहरु माग पूरा भए पनि चुनावमा लड्ने हैसियतमा छैनन् ।

आफूलाई स्वस्थ देखाउन बेलाबेलामा उनीहरु विभिन्न परिकार रोजिरहेका छन् । तर, जे–जस्ता परिकार दिए पनि खान मन भने पटक्कै छैन ।

पहिलो चरणको स्थानीय चुनावले जडाउरी भोटो देखाएर भैलो खेल्नेहरुको झोलीमा धेरै भोट परे पनि विगतमा समानुपातिकका केही भोट देखाएर बूढाबूढी नै पालैपालो मन्त्री पड्काउने माले, राप्रपा, चुरे भावर लगायत पार्टीहरुको भोटो नबिक्ने अवस्था देखिएको छ ।

गणतन्त्रको आधारस्तम्भको रुपमा रहेको स्थानीय चुनावले यसको स्थायित्वलाई स्थापित गरेको छ र जे-जस्ता प्रतिनिधिहरु चुनिएर आए पनि जुत्ता फुकालेर खेतमा पसिसकेपछि धान त अवश्य फल्नेछ । ज्यामीहरु सप्तरीका यादव, नुवाकोटका तामाङ, रोल्पाका मगर, ताप्लेजुङका राई वा तनहुँका बाहुन जो भए पनि घर ठडिए त भैगो नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment