Comments Add Comment

मेस्सीपछि रोनाल्डोको पालो ! स्पेनमा कर छलीको मुद्दा


३० जेठ, काठमाडौं । रियल मड्रिडका फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि करोडौं यूरो कर छली गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

स्पेनको मडि्रडस्थित प्रोसिक्यूटरको कार्यालयले पोर्चुगिज सुपरस्टारमाथि मुद्दा हालेको हो । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख यूरो कर छलेको दावी अभियोजकको छ ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीमाथि पनि करछलीको मुद्दा लागेको थियो र उनलाई जेल सजाय समेत सुनाइएको छ । तर, जेल भने जानु परेन ।

रोनाल्डो संसारकै उच्च पारिश्रमिक लिने खेलाडी हुन् । उनले यसअघि आफूसँग लुकाउनुपर्ने केही नभएकाले कर सम्वन्धि अनुसन्धानबाट नडराउने बताएका थिए ।

अहिले उनलाई आफ्नो ‘इमेज राइट’ बाट भएको आम्दानी लुकाउन एउटा नक्कली व्यवसायिक संरचना खडा गरेको आरोप लगाइएको छ ।

गत डिसेम्बरमा लिक भएका कागजातहरुले रोनाल्डोले आफ्नो विदेशी खातामा राखिएको आम्दानीमा कर छलिरहेको देखाएका थिए । तर उनले यसलाई अस्वीकार गरेका छन् ।

पोर्चुगलको एउटा टेलिभिजनले अनुसन्धानको विषयमा प्रश्न गर्दा रोनाल्डोले भनेका थिए, ‘जोसँग लुकाउनुपर्ने केही छैन, उसलाई केको डर ?’

फोर्ब्सले प्रकाशित गर्ने विश्वका धनी व्यक्तिहरुको सुचीमा रोनाल्डो लगातार दोस्रो वर्ष विश्वका सर्वाधिक महंगा खेलाडीको रुपमा दरिएका छन् ।

उनले आफ्नो पारिश्रमिक, बोनस तथा सम्झौताहरुबाट गत वर्ष ९ करोड ३० लाख डलर कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment