काठमाडौं । नेपालका बिपन्न बालबालिकालाई शिक्षाको पहुँच दिन गैरआवासीय नेपाली संघ थाइल्याण्डले करिव ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
एनआरएनए थाइल्याण्डको अग्रसरतामा संकलित ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँ बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा ‘सिभिल इनिसियटिभ’ नाम गैरसरकारी संस्थालाई हस्तान्तरण गरियो ।
एनआरएन थाइल्याण्ड र ‘इन्टरनेशनल एसोसिएसन फर द एक्सचेन्ज अफ स्टुडेन्ट फर नेक्निकल एक्सपिरियन्स’ नामक संस्थाले संयुक्तरुपमा नागरिक छात्रबृत्ति कोष स्थापना गरेका हुन् ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थीतिमा एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले सो रकम हस्तान्तरण गरेका हुन् ।
यो कोषबाट देशभर वार्षिक ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । खासगरी सुरुका पाँच बर्ष भूकम्प प्रभावित परिवारका बालबालिकालाई प्राथमिकतामा राखिने गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष ढकालले जानकारी दिए ।