Comments Add Comment

चुनाव सार्ने निर्णयले सप्तरीबासी निराश

२ असार, सप्तरी । दुई नम्बर प्रदेशको चुनावको मिति सारिएपछि स्थानीय राजनीतिक दलका नेताहरुले मिश्रति प्रतिक्रिया दिएका छन् । यी प्रदेशको पूर्वी जिल्ला सप्तरी र सिराहाका सत्तासीन राजनीतिक दलका नेताहरुले समेत चुनाव सारिनु ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

केही नेताहरुले वर्तमान स्थितिको आंकलन गर्दै चुनाव सारिएकाले अब समस्याको समाधान पनि हुने विश्वास व्यक्त गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्षी र चुनावको अन्तिम तयारी गरिसकेको संघीय समाजवादी फोरम नेपालका नेताहरुले चुनाव सार्नुलाई सरकारको निरिहता भनेका छन् । यसले सरकारको चुनाव गराउने मनस्थिति नदेखिएको उनीहरुको प्रतिकृया छ ।

‘निर्वाचनको अन्तिम क्षणमा आएर पुनः सार्नु बिल्कुलै ठीक होइन,’ नेकपा एमालेका सप्तरी अध्यक्ष गोविन्द न्यौपानेले भने, ‘राजपासँग सहमति गर्ने नाममा धमाधम निर्वाचन सार्नु न्यायोचित्त होइन ।’

सप्तरीमा सबैभन्दा पहिला उम्मेदबार टुंग्याने पार्टी नै एमाले हो ।

एमाले जिल्ला अध्यक्ष न्यौपानेले निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको अवस्थामा एक्कासी आएर निर्वाचन सारिनु निर्वाचन गराउने मनसाय नभएको देखिएको बताए । ‘यदि राजपालाई सहमतिमा ल्याउने इच्छा थियो भने यतिका दिनसम्म किन सहमतिमा ल्याइएन ?’ प्रश्न गर्दै न्यौपाने भन्छन्, ‘या त चुनाव घोषणा नै नगर्दा ठीक हुन्थ्यो नि ।’

एमालेबाट माओवादी केन्द्रमा गई पुनः एमालेमै फर्किएका सिरहाका नेता मुन्नी साहले निर्वाचन सारिनुले जनताको उत्साह मरेको प्रतिकृया दिए । एमालेबाट लहान नगरपालिकाका मेयर पदका उम्मेदबार समेत रहेका साह सरकारको यो निर्णय गलत भएको बताउँछन् ।

सिरहाकै संघीय समाजवादी फोरमका नेता सत्यनारायण यादवले चुनाव सारिएपछि कालो बादल मडारिन थालेको प्रतिक्रिया दिए । उनले भने, ‘निश्चित समयमा चुनाव हुन नसक्नु दुःखद हो र यसले भएका उपलब्धीहरु खतरामा पर्ने सम्भावना प्रवल रहेको छ ।’

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनले सरकारले जनतालाई ओझेलमा राख्न खोजेको आरोप समेत लगाए ।
फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादवले चुनाव सार्ने काम नराम्रो भएको बताए । उनले भने, ‘चुनाव भएको भए समग्र मुलुकका लागि राम्रो हुन सक्थ्यो । तर भएन, यो दुर्भाग्य हो ।’

नेकपा माओवादी केन्द्रका सिराहा नेता एवं पोलिटब्यूरो सदस्य हरिनारायण चौधरी पनि चुनाव सारिएपछि जनतामा निराशा छाएको बताए ।

सकारात्मक भन्ने पनि

सरकारले पहिलोपटक वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरेको थियो । यो मितिमा ३, ४ र ६ नम्बर प्रदेशमा मात्रै निर्वाचन भयो । बाँकी प्रदेशका लागि जेठ ३१ गते निर्वाचन घोषणा गरिएपनि यो मितिमा पनि चुनाव हुन सकेन । तेस्रो पटक असार ९ गतेका लागि निर्वाचन घोषणा गरियो । यो मितिमा मुस्लिम समुदायको महान पर्व रमजान पर्ने भएकाले पुनः असार १४ गतेको मिति निर्धारण गरिएको थियो । तर असार १४ मा पनि प्रदेश नम्बर २ को निर्वाचन हुन नसक्ने भयो ।

असार १४ को मिति असोज २ गतेलाई सारिएपछि यसले मुलुकको समस्या पनि समाधान हुने र सौहार्दपूर्ण वातावरणमा निर्वाचन हुन सक्ने आंकलन गर्छन् नेकपा माओवादी केन्द्रका सांसद अशोक मण्डल ।

सप्तरी २ नम्बर क्षेत्रबाट निर्वाचित सांसद मण्डलले पहिला पनि मुद्दा सम्बोधन गरेरै निर्वाचन गराउनुपर्नेमा नगरेका कारण यत्रो समस्या आएको बताउँदै भने, ‘अब समय आएको छ । मुद्दाको सम्बोधन गरेर सौहार्दपूर्ण वातावरणमा निर्वाचन गराइयो ।’

कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव वर्तमान अवस्थालाई आंकलन गर्दै निर्वाचन स्थगित गरिनु स्वाभाविक भएको बताए । उनले भने, ‘निर्वाचन सार्दैमा पहाड खस्ने होइन । बरु, राम्रो वातावरणमा निर्वाचन हुन्छ ।’

कांग्रेस सप्तरीका सभापति दिनेश यादवले राष्ट्रिय सहमतिको प्रयासका लागि निर्वाचन सारिएको बताए । उनले अब राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गर्दै यस्तो सहमतिमा हुने निर्वाचन फलदायी हुने बताए ।

संविधान संशोधन हुने विश्वास

निर्वाचन सारिएको सम्बन्धमा प्रतिकृया माग्दा संघीय समाजवादी फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादवले चुनाव सारिनुलाई नराम्रो भनेपनि यो बीचमा संविधान संशोधन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अब समय छ । यो बीचमा सरकारले संविधान संशोधन गरिदिनुपर्‍यो । र, राजपा पनि निर्वाचनमा जानुपर्‍यो ।’

के फोरम नेपाल अब राजपासँग मिलेर संविधान संशोधनको कुरा उठाउन अगाडि आउँछ ? भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘राजनीतिमा कोहि स्थायी शत्रु र स्थायी मित्र हुँदैन । हामी पुनः एकता गरेर अघि बढ्न सक्छौं ।’

एमालेबाहेक कुनै पनि दलले टुंग्याएनन् उम्मेदवार

असार १४ गतको निर्वाचनका लागि २ गते उम्मेदबारी दर्ता गर्ने समय थियो । तर उम्मेदवारी दर्ताको एक दिन अगाडि निर्वाचनको मिति सार्दासम्म एमालेबाहेक कुनै पनि दलले सबै स्थानीय तहमा उम्मेदबार छनौट गर्न सकेका थिएनन् । एमालेले सप्तरी र सिरहा दुबै जिल्लामा उम्मेदवार छनौट गरेपनि कांग्रेस र नेकपा माओवादी केन्द्रले केही तहमा मात्रै उम्मेदवार बनाएका थिए ।

संघीय समाजवादी फोरम नेपालले पनि सबै ठाउँमा उम्मेदवार छनौट गरिसकेको थिएन । हालसम्म पनि उम्मेदवार छनौटमा ढिलाई गर्नुले यी दलहरुलाई निर्वाचन सर्ने पहिला नै आशंका रहेको कुरा मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment