Comments Add Comment

म्याग्दीका महिलाले गरे ‘समान ज्याला गाउँ’ घोषणा

८ असार, म्याग्दी । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् ।

सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहूँ गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका हुन् । समान काम गरेर साँझ घर फर्कंदा पुरुषले रु ५०० र आफूले ३०० ज्याला पाउँदा महिला दुःखी थिए । तर समान ज्याला गाउँ घोषणापछि पुरुष र महिला दुवैले बराबरी ज्याला बुझ्दा उनीहरु हर्षित भएका छन् ।

केही दिनअघि स्थानीयवासी तीर्थकुमारी विकको नेतृत्वमा महिलाले एक समिति गठन गरेर गाउँलाई समान ज्याला गाउँ घोषणा गरी पुरुष र महिलाले गरेको श्रमको मूल्य पनि बराबर नै हुनुपर्ने र अबदेखि श्रमको पारिश्रमिक दिँदा विभेद नगर्ने निर्णय भएको स्थानीय शिक्षक हरिकृष्ण शर्माले जानकारी दिए ।

शर्माका अनुसार महिला र पुरुष दुवैको एक दिनको पारिश्रमिक रु ५०० तोकिएको छ । यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागि मात्र भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment