Comments Add Comment

दाङमा माओवादीको प्रचार आक्रामक, चुनावमा हुने आर्थिक चलखेल रोक्ने दाबी

भोट माग्न रोल्पाबाट दाङ झरे वर्षमान पुन

८ असार, घोराही । नेकपा माओवादी केन्द्र दाङले जिल्लामा तेस्रो चरणको प्रचार अभियान शुरु गरेको छ । माओवादीले अब चुनावमा हुनसक्ने आर्थिक चलखेललाई रोक्ने निर्णय पनि गरेको छ ।

माओवादीले दाङमा बैशाखदेखि जेठ ९ गतेसम्म पहिलो चरणमा संगठन सुदृढीकरण गरेको थियो । दोस्रो चरणमा बैशाख १० देखि असार ४ गतेसम्म चुनावी सभा तथा जनपरिचालनलाई आक्रामक बनाएको थियो । हाल तेस्रो चरणको चुनावी कार्यक्रम जारी रहेको माओवादी केन्द्र दाङ जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिए ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत माओवादीले जिल्लाका दशवटै स्थानीय तहमा समीक्षात्मक बैठक गरेको छ । बैठकले अहिलेकै उत्साह कायम राख्न सकेमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकिने निष्कर्ष निकालेको छ । ‘सबै तहको रिपोर्ट हेर्दा औसत ५० हजार जनता परिचालन गरिएको देखिन्छ,’ माओवादी केन्द्र दाङको निर्वाचन परिचालन समिति संयोजक आचार्यले भने, ‘जुलुसमा आएको सक्रिय जनमास हो, यसलाई परिचालन गरेर सकारात्मक परिणाम निकाल्न सकिने निष्कर्षमा हामी पुगेका छौं ।’

अब अन्य दलबाट हुने आर्थिक चलखेललाई रोक्न सावधानीपूर्वक अगाडि बढ्ने र युवा परिचालनलाई ब्यापक बनाइने आचार्यले बताए । त्यसकालागि सबै मतदाताको घरमा पनि पुग्ने माओवादीले जनाएको छ ।

अनन्त रोल्पाबाट दाङ झरे

जिल्लाभर कुनै घर नछुट्ने गरी घरदैलो कार्यक्रम गर्ने माओवादीले जनाएको छ । बिहीबार पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा घोराहीमा घरदैलो गरेको माओवादीले जनाएको छ । वडा नम्बर १४ र १५ को घरदैलो कार्यक्रममा अनन्त सहभागी भएका थिए ।

अनन्त गृहजिल्ला रोल्पाको चुनावी कार्यक्रममा सहभागी भएर दाङ झरेका हुन् ।

दाङमा माओवादीको चुनावी कार्यक्रममा कृष्णबहादुर महरा, रेखा शर्मा, नारायण शर्मा, कुबेर ओली लगायतका नेताहरु पनि सकृय सहभागी हुँदै आएका छन् ।

असार ११ गते वरिष्ठ नेताकै उपस्थिति रहने गरी नारायणपुरमा चुनावी सभा आयोजना गर्ने माओवादीको योजना छ । साविक त्रिपुर नगरपालिकालाई लक्षित गरी घोराही उपमहानगरपालिका ८, ९, १०, ११ र १२ को संयुक्त चुनावीसभा नारायणपुरमा तय गरिएको हो ।

घोराही उपमहानगरपालिकामा माओवादीले जीवन गौतमलाई मेयर र सीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

कांग्रेसले भुपबहादुर डाँगी र पुष्पा श्रेष्ठ तथा एमालेबाट नरुलाल चौधरी र सीता न्यौपाने क्रमशः मेयर र उपमेयरको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment