+
+

असर्इको जागिरमा असफल, इनरुवाको मेयरमा सफल

ससुराको विरासत धान्दै उमपेयर

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २० गते ११:०७


२० असार, इनरुवा । उनी भगवती मावि, इनरुवामा ७ कक्षा पढ्दा देश पहिलो जनआन्दोलन रापिएको थियो । यत्रतत्र कांग्रेसका झण्डा फहरिन्थे । बजारमा मात्र हैन, घरमा पनि झण्डाका खात लागेका हुन्थे । कारण थियो, हजुरबुबा तथा प्रधानपञ्च अरविन्दप्रसाद मेहतादेखि शिक्षण पेशामा लागेका बुबा तेजनारायणसम्म नेपाली कांग्रेसका कार्यकर्ता र जनआन्दोलनका सहभागी थिए ।

काका अर्जुन तत्कालिन वाममोर्चामा आबद्ध वकिल थिए । यही झिलिमिलीले तान्यो राजन मेहतालाई । उनी आफैं पनि स्कूलका आन्दोलनहरुमा हिँडे ।

स्कूल पढ्दैमा उनी नेविसंघमा लागे । स्कुल इकाईको सभापति नै बने । नाच्ने, गाउने सोखसँगै राजनीति पनि गर्नुपर्ने उनको आदतले ४० वर्षको उमेर टेक्दाटेक्दै इनरुवा नगरपालिकाको मेयरसम्म पुर्याएको छ ।

इनरुवाको बजारले राजनलाई कहिले नेविसंघ कार्यकर्ता, कहिले नाटकको कलाकार, कहिले सामाजिक संस्था र एनजीओ चलाउने केटोको रुपमा चिन्दै रह्यो । अब उनको पहिचान मेयरका रूपमा अगाडि देखा परेको छ ।

धरानको हात्तीसार क्याम्पसमा खाद्य प्रविधिको पढाइ छाडेर इनरुवा फर्किर्इ त्यहीँको सुनसरी क्याम्पसमा मानवीकी संकायमा भर्ना हुनुको कारण थियो, राजनीति गर्ने ।

उनी नेविसंघको नगर अध्यक्ष, सुनसरी क्याम्पसमा स्ववियु सभापति, नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्यसम्म भएपछि पार्टी राजनीतिमा लागे । अहिले उनी दोस्रो कार्यकालका रुपमा कांग्रेसका नगर सभापति हुन् ।

असईको जागिर

राजनीतिबाट विरक्तिएर जागिर खोज्दै हिँड्दा नेपाल प्रहरीको असईमा उनले नाम निकाले । तालिम गरे । पास आउट भएर मध्यपश्चिमको पहाडी जिल्लामा पोष्टिङ पनि गए । तर, देशमा संकटकाल लागू भएपछि पारिवारिक दबावमा जागिर छाडेर फेरि इनरुवाका सडकमा देखिन थाले, पुरानै रुपमा ।

इनरुवा फर्किएपछि उनले परिवारमा विद्रोह गरे, घरको अनुमतिबिना अर्कै समुदायकी युवतीसँग विवाह गरेर । अर्थात्, आफ्नै टोलकी नेवारकी छोरीसँग विवाह गरेपछि घरमा त उनलाई राम्रो भनेनन् नै, जातीय राजनीतिले तराई थिलथिलो बनेका बेला उनी उदाहरण बने, मधेसी केटोले नेवार्नी विवाह गरेको नाममा ।

समाजमा चिनिने राजनको पुरानै आदत हो । स्कूल पढ्दैमा उनले नगर कर्णधार समूह बनाए । उक्त समूहले त्यहाँका नौजवान युवालाई रचनात्मक क्रियाकलापमा लाग्न निक्कै मद्दत गर्यो । तर, अहिले त्यो अस्तित्वमा छैन । उनले अर्थोपार्जनसँगै सामाजिक भूमिका निभाउन थाले, सामुदायिक विकास केन्द्र (सिडिओ) नामक गैरसरकारी संस्थाको स्थापना गरेर । अहिले पनि उनी उक्त एनजिओका कार्यकारी निर्देशक हुन् ।

राजनीतिक विरासत इनरुवा नगरपालिकामा मेहता, अर्थात् कोइरी समुदायको पुस्तौंदेखि निर्णायक उपस्थिति रहँदै आएको छ । तरकारी उत्पादनसँग सम्बन्धित कृषि पेशा अपनाउने समुदाय हो, कोइरी । ०४४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट जनपक्षीय प्रधानपञ्च जितेका र ०५४ मा एमालेबाट जिविस सभापति रहेका स्व. अरबिन्दप्रसाद मेहताकै खलकका हुन्, राजन ।

इनरुवामा चुनाव जित्न कोइरीको भोट नलिई कुनै दलले सुख पाउँदैनन् । जस्तो कि, ०४९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले भरत सुवेदीलाई मेयरमा उठायो । तर, कोइरीबिना चुनाव जित्न सम्भव थिएन । त्यसैले सीताराम मेहता उपमेयरमा उठाइए र जिते । त्यो चुनावमा एमालेले मेयरमा खेमराज पोखरेल र उपमेयरमा अधिवक्ता उद्धव काफ्लेलाई उठाएर हार खायो ।

पछि ०५४ मा एमालेले कोइरीको भोट तान्न राजनका काका तथा अधिवक्ता अर्जुन मेहतालाई उपमेयर उठायो । मेयरमा खेमराजसहित नगरपालिकामा बहुमत सीट ल्याएर एमालेले जित्यो । स्थानीय निर्वाचनमा मात्र हैन, ०५१, ०५६ र ०६४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट जितेका र हाल राजपासँग सम्बन्धित नेता लक्ष्मण मेहता हुन् या ०७० मा जित्ने सीताराम मेहता नै किन नहुन्, यो समुदायले इनरुवा आसापास आफ्नो बर्चस्व राख्दै आएको छ ।

फितलो व्यक्तित्व

नवनिर्वाचित मेयर राजन मेहता इनरुवाका कुनै ओजनदार व्यक्तित्व भने होइनन् । अहिले पनि इनरुवावासीले उनलाई हाट्टहुट्टे ठिटोकै रुपमा चिन्छन् । तर, कांग्रेसको टिकट पाएर उठेको, रैथाने कोइरीको छोरो, पहाडे समुदायको ज्वाइँ– यति भएपछि उनलाई चुनाव जित्न त्यति मुस्किल परेन ।

ससुराको विरासत धान्दै उमपेयर

०३९ सालमा इनरुवा गाउँपञ्चायत बनेपछि त्यहाँका संस्थापक प्रधानपञ्च हुन्, गुणनिधी पोखरेल । अहिले उपमेयरमा जितेकी जुमना पोखरेल उनै गुणनिधीकी बुहारी हुन् । अर्थात्, ससुराको राजनीतिक विरासत धान्ने मौका उनले पाएकी छन् ।

इनरुवामा शेषनारायण सर भनेर चिनिने झापाली दाहालकी छोरी हुन् उनी । गुणनिधीका कान्छा छोरा मनोहरसँग लभ परेर विवाह भएको हो, १६ वर्षअघि । माइतीबाटै कांग्रेस हुन् उनी । महिला संघका विभिन्न पदमा रहेर राजनीति धानेकी उनी गृहिणी हुन् ।

मेहताको थर्ड इनिङ

इनरुवा नगरपालिकाका हालसम्मका ६ मध्ये गैरपहाडे समुदायबाट जम्मा तीनजना मेयर बने । संयोगले ती तीनैजना मेहता परिवारका हुन् । नवनिर्वाचित छैठौँ मेयर राजनअघि उनका हजुरबुबा पर्ने अरबिन्द, ०४९ का मेयर भरत सुवेदी माओवादीबाट मारिएपछि कार्यवाहक बनेका सीताराम मेहतापछि राजन नै हुन् उक्त समुदायबाट मेयर बन्ने ।

इनरुवामा गुणनिधीपछि ०४१ मा कर्णसिंह मुरुङ मगर, ०४४ मा मेहता, ०४९ मा सुवेदी र ०५४ मा खेमराज पोखरेल मेयर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?