Comments Add Comment

बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धन पराजय उन्मुख, एमाले जित नजिक

३२३४ मत गन्न बाँकी रहँदा एमालेका शिवराज सुवेदी २६८२ मतले अगाडि

२१ असार, बुटवल । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ । गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।

बुटवलमा अहिलेसम्म १७ वटा वडाको नतिजा आइसकेको छ । वडा नम्बर १३ बाहेक सबै वडा एमालेले जितिसकेको छ । अहिले १८ नम्बरको मतगणना भइरहेको छ । अब १९ नम्बर वडा मात्र गन्न बाँकी छ ।

बुटवल वडा नम्बर १७ सम्मको नतिजा हेर्दासम्म मेयर पदमा एमाले कांग्रेसको मतान्तर २ हजार ६ सय ८१ छ । अब गन्न बाँकी ३ हजार २ सय ३४ मत हो । कांग्रेस माओवादी गठबन्धनले जित्न ३ हजारभन्दा बढी मत ल्याउनुपर्छ, जुन असम्भव छ ।

मेयर पदमा एमालेका शिवराज सुवेदीको २२ हजार ३५ मत आएको छ भने कांग्रेसका खेलराज पाण्डेयको १९ हजार ३ सय ५४ मत छ । बुटवल उपमहानगरपालिकामा कुल ४९ हजार ८ सय ९५ मत खसेकोमा अहिलेसम्म ४६ हजार ६ सय ६१ गणना भएको छ ।

उपमेयरमा एमालेकी गोमा आचार्य करिब दोब्बर मतको अन्तरमा विजयी हुने निश्चित भइसकेको छ । आचार्यको २४ हजार ४० मत छ भने गठबन्धनका माओबादी उम्मेदवार जगतबहादुर पोखरेलको १३ हजार ५ सय ९४ मत छ ।

वडा नम्बर १७ मा एमालेका उम्मेदबार शन्तबहादुर रानाले ५ सय ४१ मत ल्याएर विजयी भए भने कांग्रेसका उम्मेदवार ओमबहादुर घिमिरे बाबुराम ४ सय ४७ मत मात्र पाएर पराजित बने ।

किन एक मात्र वडामा सीमित बन्यो कांग्रेस ?

एमालेलाई रोक्दै बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ मा कांग्रेसका नारायण पुन विजयी भए ।

वडा नम्बर १३ मा पुनले १ हजार ७ सय ६५ मत पाए भने एमालेका योग गुरुङ १ हजार ३ सय ६३ मत पाएर पराजित भएका छन् । पुन ४ सय २ को मतान्तरले गुरुङलाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

तर, त्यसको खुसी साट्न नपाउँदै वडा नम्बर १४ बाट एमालेले लगातार जितिरहेको छ । मतगणनाको सुरुवाती अग्रता लिएको कांग्रेसले दोस्रो चरणमा एमालेले लिएको अग्रता तोड्न नसक्दा हार नजिक पुगेको हो ।

माओवादी केन्द्रसँग वडामा तालमेल नगरी उपमेयर दिएर तालमेल गरेको कांग्रेसले सोचेजस्तो मत ल्याउन सकेन । चुनावी तालमेल तथा मेयरका उम्मेदवार सीमांकन हेरफेरको आन्दोलनमा सक्रिय व्यक्ति भएकाले कांग्रेसले यो पटक लालकिल्ला तोड्ने प्रयास गरेको थियो ।
कांग्रेस-माओवादी गठबन्धनले सुकुम्बासीको भोटबाट बढी आश गरेका थिए ।

तर, झण्डै ३ हजार मत रहेको वडा नम्बर २ र ८०१६ मत रहेको वडा नम्बर ११ को अपेक्षाकृत मत कांग्रेसले पाएन । वडा नम्बर २ मा झण्डै ८ सय र ११ मा झण्डै १५ सय बढी मत एमाले उम्मेदवार शिव सुवेदीले पाए ।

मतान्तर निकै कम होला भन्ने कांग्रेसको अनुमान थियो, जुन गलत सावित भयो । अब यही मतले एमालेका शिव सुवेदीलाई बुटवलको मेयर बनाउने लगभग निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment