+
+

रामेछापका उम्मेदवारहरुले खर्च विवरण बुझाएनन्

मेयर र उपमेयरले नै खर्च विवरण बुझाएनन्

नवराज पथिक नवराज पथिक
२०७४ असार २३ गते १४:४३


२३ असार, रामेछाप । स्थानीय तहको चुनावको मतगणना सकिएको एक महिना भित्र खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्थालाई रामेछापका राजनीतिक दलहरुले बेवास्था गरेका छन् ।

चुनावमा भाग लिने अधिकांस उम्मेदवारहरुले अहिलेसम्म पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापको तथ्याङ्क अनुसार गएको बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा रामेछाप जिल्लामा १ हजार २ सय ५४ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा थिए ।

ती मध्ये ७५ जनाले मात्र हालसम्म कार्यालयमा खर्च विवरण बुझाएका छन् । बाँकि उम्मेदवारहरुले खर्चको विवरण बुझाएका छैनन् ।

मेयर र उपमेयरले नै खर्च विवरण बुझाएनन्

खर्चको विवरण नबुझाउनेमा गाउँपालिका र वडाका उम्मेदवार मात्र हैन नगरपालिकाकै विजयी तथा पराजित उम्मेदवारहरु छन् ।

जिल्लाको रामेछाप नगरपालिकाका विजयी तथा पराजित मेयरउपमेयर र अध्यक्ष तथा उपाध्यक्ष र वडा तहका कुनै पनि उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । सो नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका विजयी मेय एमालेका रमेश बस्नेत र उपमेयर मायाँ कार्कीले पनि चुनावको खर्चको विवरण बुझाएका छैनन् ।

यसैगरी नगरपालिकामा पराजित भएका काँग्रेसका उम्मेदवारहरु विनोद कार्की र गंगा अधिकार तथा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ र रितादेवी घिमिरेले पनि आफ्नो खर्चको विवरण बुझाएका छैनन् । श्रेष्ठ पूर्वसभाषद समेत हुन् ।

मन्थली नगरपालिकाका ५ जना निर्वाचित सदस्यहरुले मात्र अहिलेसम्म खर्चको विवरण कार्यालयमा बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयमा हालसम्म लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का र उपाध्यक्ष दीपशिखा दाहाल, खाँडादेवीका प्रेमबहादुर तामाङ र मखमली श्रेष्ठ, दोरम्बाका कमानसिंह मोक्तान र कृसला घिसिङ तथा सुनापतिका धावा लामा र गिता विष्ट चौलागाईँले भने खर्चको विवरण बुझाएका छन् ।

रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका एकजनाले पनि खर्चको विवरण नबुझाएको कार्यालयका कम्प्युटर अपरेटर लोकेन्द्र थापाले बताए । यस विषयमा जिज्ञाशा राख्दा मन्थली नगरपालिकाकी उपमेयर मायाँ कार्कीले खर्चको विवरण तत्काल बुझाउने बताइन् ।

सबैभन्दा बढी खर्च गर्नेमा दोरम्बाका अध्यक्ष

जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनेमा रामेछापका ८ वटा स्थानीय तह मध्ये ४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेका छन् ।

ती मध्ये सबैभन्दा धेरै खर्च गर्नेमा दोरम्बा गाउँपालिकाका अध्यक्ष देखिएका छन् । दोरम्बाका अध्यक्ष कमानसिंह मोक्तानले पेस गरेको खर्चको विवरणमा उनको चुनावी खर्च ३ लाख ३९ हजार उल्लेख गरिएको छ ।

उपाध्यक्षमा पनि सबैभन्दा बढी खर्च गर्ने दोरम्बाकी कृसला घिसिङ रहेकी छिन् । उनले निर्वाचनमा ३ लाख २६ हजार खर्च भएको बिल भर्पाई बुझाएकी छिन् । दुवैजना माओवादी केन्द्रबाट विजयी जनप्रतिनिधि हुन् ।

त्यस पछि खर्च गर्नेमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ र मखमली श्रेष्ठ देखिएका छन् । उनीहरुले क्रमश ः ३ लाख २२ हजार ७ सय र २ लाख ७६ हजार खर्च भएको विल भरपाई बुझाएका छन् ।

खर्च गर्नेमा तेस्रो नम्बरमा देखिएका लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काल र उपाध्यक्ष दीपशिखा दाहालको खर्च २ लाख ५७ हजार र १ लाख ९३ हजार १ सय ४० रहेको छ ।

दुवै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एमालेबाट निर्वाचित हुन् । हालसम्म पेस गरिएको बिल भर्पाई अनुसार सबै भन्दा कम खर्च गर्ने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सुनापनि गाउँपालिकाका धावा लामा र गिता विष्ट चौलागाई रहेका छन् ।

उनीहरुले क्रमश १ लाख ३० हजार र १ लाख २८ हजार १ सय ५० रुपैयाँको बिल भर्पाई बुझाएका छन् ।

निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण देखाउने दाँत मात्र

निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन कार्यालयमा बुझाएको खर्चको विवरण हात्तिको देखाउने दाँत जस्तो मात्रै भएको छ ।

यस पटकको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले व्यापक तडक भडकका साथ ठूलो खर्च गरेका थिए । तर, उनीहरुले पेस गरेको विवरणमा भने अति न्यून खर्च देखिएको छ ।

निर्वाचनको बेलामा मात्र हैन निर्वाचन पछि पनि विजयी उम्मेदवारहरुले विजय भोज तथा पराजितहरुले समेत सान्त्वना भोजको नामामा रकम खार्च गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?