Comments Add Comment

सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

२९ असार, काठमाडौं । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।

को हुन् मुख्यसचिव भएका क्षेत्री ?

सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको अडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।

यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए उनी मुख्य सचिव नहुनसक्थे किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् ।

क्षेत्रीको कार्यकाल पनि लामो हुने छैन उनको ५८ वर्ष उमेर हदका कारण उनले कात्तिक ८ गते अनिवार्य अवकास पाउनेछन् ।

मुख्य सचिव नियुक्त राजेन्द्र किशोर क्षेत्री ०४१ पुसमा कानुन सेवामार्फत शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । काठमाडौंको लैनचौर घर भएका उनले नेदरल्यान्डबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

क्षेत्री कानुन सेवाबाट प्रशासन सेवामा आई ऊर्जा मन्त्रालयको सचिव बनेका थिए । कानुन समूहका व्यक्तिलाई ऊर्जामा ल्याइएको भन्दै प्रशासन र प्राविधिक समूहका कर्मचारीहरुले विरोध गरेका थिए । ऐनमा भएको व्यवस्थाविपरीत क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा ल्याइएको भन्दै लोकसेवा आयोगले समेत आपत्ति जनाएको थियो ।

निजामती सेवा ऐनविपरीत कानुन समूहका क्षेत्रीलाई तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको जोडबलमा ऊर्जा मन्त्रालयमा सचिव बनाएर ल्याइएको थियो । तर, मन्त्री ज्ञवाली र सचिव क्षेत्रीको सम्बन्ध तिक्ततापूर्ण भयो ।

सोलु करिडोर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई दिने विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयविरुद्ध क्षेत्रीले नोट अफ डिसेन्ट लेखेपछि मन्त्री र सचिवबीच विवाद चुलिएको थियो ।
मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिमा सचिवले नोट अफ डिसेन्ट लेखेको प्राधिकरणको इतिहासमा पहिलो घटना थियो ।

मन्त्री ज्ञवाली प्राधिकरण सञ्चालक समितिको अध्यक्ष थिइन् भने सचिव क्षेत्री सदस्य थिए । क्षेत्री भारतीय कम्पनी ज्यागुवार ओभरसिजको पक्षमा थिए । दुई जनाबीचको विवादले लामो समयसम्म सन्चालक समितिको बैठक समेत बस्न सकेको थिएन ।

मन्त्री ज्ञवाली र सचिव क्षेत्रीबीच पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओको नियुक्तिको विषयलाई लिएर पनि विवाद चुलिएको थियो । सचिव क्षेत्री मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीलाई सिइओ नियुक्त गर्न चाहन्थे । उनले अधिकारीलाई सिइओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान मन्त्रीसमक्ष पेस गरेका थिए । तर, मन्त्री ज्ञवालीले अधिकारीको नाम हटाएर महेन्द्रबहादुर गुरुङलाई अगाडि सारेपछि विवाद चुलिएको थियो ।

मन्त्री ज्ञवाली र सचिव क्षेत्रीबीच बोलचाल नै बन्द हुने अवस्थामा पुगेको थियो । विवादका कारण कार्यसम्पादन नै प्रभावित हुन पुगेपछि सरकारले नै ऊर्जामन्त्री ज्ञवालीलाई फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment