Comments Add Comment

राप्रपा कमल थापाको बिर्ता होइनः पशुपतिसमशेर

४२ केन्द्रीय सदस्य मनोनयन तत्काल फिर्ता लिन माग

३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेको बरिष्ठ नेता पशुपति समशेर राणाले आरोप लगाएका छन् ।

हालै पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका छन् ।

‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ’ शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले भनेका छन्, ‘अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’

यो पनि पढ्नुहोस्- निर्वाचन आयोगमा कमल थापाले बुझाए ४२ केन्द्रीय सदस्यको नाम (सूचीसहित)

यो निर्णय तुरुन्त फिर्ता लिन कमल थापालाई राणाले चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्सर्ना गर्दछु । म राप्रा अध्यक्षमा यो सचेत गराउँछु कि एकांगी रुपमा गरिएको सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस् ।’

अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिलाई पूर्ण रुपमा नकारेर राप्रपालाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेको राणाको आरोप छ । वक्तव्यमा राणाले भनेका छन्-‘केन्द्रीय तहका नेतागणलाई सुइँकोसम्म नदिई केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्णरुपमा नकारेको मात्र नभई राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ ।’

केन्द्रीय समितिको बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहा नदिई अध्यक्षले मनोनयन गरेको राणाको गुनासो छ ।

यसैबीच शुक्रबार राजधानीमा अायोजना गरिएको राप्रपाको अगुव कार्यकर्ता भेला वरिष्ठ नेता राणाले बहिस्कार गरेका छन् ।

हेर्नुहोस् राणाको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment