३ साउन, काठमाडौं । बाग्मती पेट्रोलियम डिलर्स एशोसियशनले १५ दिनका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो ।
सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै ब्यवसायीले मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद-बिक्री ठप्प पारेका थिए ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसका बारेमा कुनै सम्बोधन नगरेको भन्दै व्यवसायी आन्दोलित भएका थिए । आज भएको वार्ताले यस्तो लसबारे अध्ययन गर्न ७ सदस्यीय समिति बनाएको छ ।
यो समितिले विभिन्न शहरहरुमा पनि गएर लसहरुबारे अध्ययन गर्नेछ र रिपोर्ट पेश गर्नेछ । १५ दिनभित्र समितिले प्रतिवेदन दिने र त्यो प्रतिवेनको रिपोर्टको सुझावलाई कार्यान्वयन यगनेर् सहमति भएको निगमका प्रवक्ता सीतारम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलीले झण्डै एक बर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी सो छानविन समिति नै भंग गरी अर्को समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ ।
सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफुहरुको माग प्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप छ ।
बाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानविन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।
सो प्रतिवेदन कार्यान्वयन गरी निगम संचालक समितिको सोमबारको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरी नया समिति बनाएपछि व्यवसायी पुन आन्दोलित भएका थिए ।
भारतीय आयल निगमबाट तेल भर्ने समय देखि राजधानी ल्याउने समयसम्म हुने प्राविधिक घाटाको पुर्ति निगम बाट हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।
प्रतिक्रिया 4