Comments Add Comment

सुनकोशीको बाढी उर्लेर आउँदा गडतिरका फाँट भने बाँझै

खडेरीले सुनकोशीको गडतिर क्षेत्रमा रोपाइँ हुन सकेन

१५ साउन,सिन्धुली । सन्धुलीको सुनकोसी गडतिर क्षेत्रमा साउनको दोस्रो साता भइसक्दा पनि खडेरी परेको कारण रोपाइँ हुन सकेको छैन । सुनकोसी गाँउपालीका मा पर्ने अधिकांस फाँटहरुमा धान रोपाइँ भएको छैन । लामो समयदेखिको खडेरीले कृषक चिन्तित छन् ।

यस क्षेत्रको धमिले खोलावाट सिंचाई हुने खहरे, रातमाटा, कालीमाटी, गगटे खोलावाट सिंचाई हुने वोहोरोटार, भ्युटार, कटहरे भोटेखोलावाट सिंचाई हुने मुल्कोट, सिक्रे फाँट आरुवोटे खोला वाट सिंचाई चैनपुर फाँट तथा निगुली खोलाको फाँटमा हाल सम्म रोपाइँ हुन नसकेको सुनकोसी गाँउपालीका-६ का कृषक कैलास पौडेलले वताए ।

यी फाँटहरुमा असारको अन्तीम साता सम्म रोप्ने गरी धानको बिउ राखिएको थियो । खोलामा पानी नहुँदा खेतमा धान रोप्न पाएका छैनन् । नजिकै सुनकोसी नदी फाँटै बगाउँला जसरी बाढी लिएर आउछ तर वारीपटी खेत बाँझै छन्।

‘धानको व्याड सुक्ने वेला भैसक्यो खोलाको शीरमा पानी पर्लाकी भनेर हाम्रो आँखा महाभारत शीर तिर हेर्दै दिन वित्न थालेको छ’ चैनपुरका कृषक पौडेलले भने ।

सिन्धुली जिल्लाको सुनकोसी गाँउपालीका,गोलन्जोर गाँउपालीका क्षेत्रमा अत्यन्तै कम पानी पर्ने गर्छ

सुनकोसी गाँउपालीका-५ गैरीपुछार मुल्कोटका कृषक पुच्छमान श्रेष्ठको पीडा पनि अन्य कृषकको भन्दा भिन्न छैन । सयौं विगाहा जमिन भएको मुल्कोट फाँटमा अहिले सम्म एक रोपनी खेतमा पनि रोपाई हुन सकेको छैन ।

महाभारतको वन्दीपुरमा कहिले पानी पर्ला र रोपाई गरौंला भने वसेका छन् मुल्कोट फाँटका कृषकहरु । खेतमा लगाएका वाली सुकेर पत्ति वनेका छन् । खेतमा भएका अन्न वाली डढेको छ ।

बुढा पाकाको कुरा सुन्दा यस्तो लामो खडेरी यस क्षेत्रमा कहिल्यै भएको थिएन । अब आकाशे पानीको भर पर्नुभन्दा पनि वैकल्पिक सिंचार्इको लागि दबाव दिनुपर्ने निश्कर्षमा स्थानीय पुगेका छन् ।

पचास मिटर पर सुनकोसी सुसाएर वगिरहेको छ । त्यहाँ भएको पानी सदुपयोग गर्न सके यहाँका फाँट बाझो हुने छैनन् ।

सुनकोसी गाँउपालिका प्रमुख दिपा वोहोरा लामो खडेरी परेको कारण सुनकोसी रोपाइँ हुन नसकेको बताउँछिन् । उनले भनिन्- ‘कृषकलाई प्रकृतिले यसपाली अन्याय गरेको छ । धान रोपाइँ हुन नसकेका सुनकोसी गाँउपालीका फाँटहरुमा कसरी रोपाई गर्ने भन्ने योजना बनाउदैछौं ।’

मिनकुमार दाहालको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment