Comments Add Comment

‘प्रेमगीत २’को व्यापारले देखाएका संभावनाः ‘स्टार र ब्रान्डको जन्म’


कुनै पनि चलचित्रको व्यापारसँगै त्यसले केही नै केही प्रभाव पारेको हुन्छ । चलचित्रको व्यापार आफैमा चलचित्र क्षेत्रका लागि नै सुखद कुरा हो । त्यसमाथि, करोडौ लगानी गरेर चलचित्र बनाउने निर्माताले सुखद सास फेर्न पाउनु आफैमा सकारात्मक कुरा हो ।

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’को आक्रामक ओपनिङले केही कुराहरुको संभावना देखाएको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई फाइदा मिल्नेछ ।

१. यो चलचित्रको व्यापारसँगै नेपाली चलचित्रले एउटा स्टार पाएको छ । ‘प्रेमगीत’बाट उदाएका नायक प्रदिप खड्का यो चलचित्रसँगै स्टारको रुपमा दहरिएका छन् । इनिसियल रुपमा हलमा दर्शक तान्न सक्ने स्टारडम उनमा देखिएको छ । जुन पावर नेपालमा नायक अनमोल केसीमा मात्र देखिएको थियो ।

२. यो चलचित्रले एउटा ब्यानरलाई पनि स्थापित गरिदिएको छ । आशुसेन फिल्मस् एउटा राम्रो ब्यानरको छवि बनाउन सफल भएको छ, जसले निर्माण गरेका आगामी चलचित्रलाई पनि यही छविले फाइदा दिन सक्छ ।

३. यो चलचित्रले निर्माता सन्तोष सेनलाई चलचित्र क्षेत्रमा प्रभावशाली निर्माताको स्थानमा ल्यादिएको छ । ‘चंखे शंखे पंखे’मा लगानी गरेर सफलताको स्वाद नपाएका सन्तोषले ‘प्रेमगीत’बाट सफलतासँगै धेरै कुरा वुझ्ने मौका पनि पाएका थिए । यो चलचित्रसम्म आइपुग्दा उनी नेपाली चलचित्रका प्रभावशाली निर्माताको रुपमा दहरिएका छन् ।

४. नेपाली चलचित्रमा सिक्वेल वा पछाडि २ जोडिएका चलचित्र खासै चलेका छैनन् । ‘नाइ नभन्नु ल’को सिरिजलाई छाड्ने हो भने अरु सिक्वेल वा पछाडि २ जोडिएका चलचित्र चलेका छैनन् । ‘प्रेमगीत २’ले भने त्यसलाई क्रमभंग गरेको छ । चलचित्रको नाम नै आफैमा एउटा ब्रान्ड बन्न सक्छ भन्ने देखाएको छ । आशा गरौ, निर्माता सेनले ‘प्रेमगीत ३’का लागि पनि सोच्नेछन् ।

५. चलचित्रको मेकिङमा कञ्जुस्याँइ नगर्ने हो भने, दर्शकले पनि पत्याउनेछन् भन्ने यसको व्यापारले प्रमाणित गरेको छ । निर्माताको रुपमा कुनै पनि कञ्जुस्याँइ नगरेका निर्माता सेनले त्यसको प्रतिफल अहिले पाइरहेका छन् ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै प्रदर्शन भैरहेको चलचित्र ‘प्रेमगीत २’ले चलचित्र क्षेत्रमा फेरि एकपटक सुखद अनुभुती गराएको छ । दर्शक हलसम्म आउँदैनन् भन्ने सोचलाई ‘म यस्तो गीत गाउँछु’ पछि यसले तोडेको छ । यसैले, ‘प्रेमगीत २’ को व्यापारिक फ्याक्टरले नेपाली चलचित्र क्षेत्रलाई नै धेरै फाइदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment