Comments Add Comment

बाग्लुङमा पहिरोले एकै परिवारका चारसहित ५ जनाको मृत्यु


२० साउन, काठमाडौं । बाग्लुङमा गएको पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक बृद्धा वेपत्ता छिन् ।

अविरल वर्षापछि निशीखोला-२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।

निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् । पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै ढोरपाटन नगरपालिका-५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् ।

पहिरोले आधा दर्जन घरमा क्षति पुर्‍याएको छ ।

बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment