Comments Add Comment

कुलेखानी पुगेर ऊर्जामन्त्री र कुलमानले ठेकेदारलाई भने-अब कुनै बहाना चल्दैन


२१ साउन, हेटाैंडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रो स्थलगत निरीक्षण गरेका छन् ।

आयोजना निर्माण्को गति सुस्त भएको भन्दै मन्त्री शाहीले ४ महिनाभित्र सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ भएको भन्दै अब यस्तो बहानाबाजी नचल्ने बताए ।

‘अहिलेसम्म जति बहाना बनाउनुभयो, अब त्यस्तो चल्दैन । १५ दिनभित्र कार्ययोजना बनाएर मलाई पेश गर्नुस्’ इलेक्ट्रोमेकानिकतर्फको सहायक ठेकेदार कम्पनी हुलासका सरदचन्द्र गोल्छालाई उनले भने,’म फेरि १५ दिनपछि आउँछु । काममा प्रगति भएन भने सरकारले हात बाँधेर बस्दैन ।’

प्राधिकरणका प्रमुख घिसिङले पनि जुनसुकै हालतमा हिउँदयाम अघि आयोजनाबाट उत्पादन सुरु हुनुपर्ने बताए । त्यसमा प्राधिकरणले सहयोग गर्ने बताउँदै उनले फेरि पनि आयोजनाको म्याद धकेल्न नसकिने बताए ।


‘हामीलाई अबको ड्राइ सिजनमा कुलेखानी तेस्रोको बिजुली जसरी पनि चाहिन्छ’ घिसिङले भने,’कसरी हुन्छ चार महिनाभित्र काम सक्नुस् । कार्ययोजना आजैबाट बनाउन थाल्नुस् ।’

६ वर्षदेखि म्याद थपेको थप्यै

१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले आयोजनाको काम सुस्त गतिमा गरिरहेको छ । काममा खासै चासो नदिएका कारण आयोजना समयमै सञ्चालनमा ल्याउन निकै चुनौतिपूर्ण देखिएको छ ।

राम्रोसंग नियमित काम गर्ने हो भने यो आयोजना अबको दुई तीन महिनामै सम्पन्न हुने अवस्था छ ।

कुलेखानी तेस्रोमा इलेक्ट्रोमेकानिकलको काम झे जियाङ जिल्लुनले जिम्मा लिएको छ । आयोजना स्थलमा इलेक्ट्रोमेकानिकल उपकरणहरु जडानको जिम्मा स्वदेशी कम्पनी हुलासले लिएको छ ।

यो आयोजना सक्न सुरुवातमा दुई अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, आयोजनाको म्याद लम्बिँदा चार अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ ।

आयोजनामा सिभिलको भने ९८ प्रतिशत काम सकिएको छ । सिभिलको ठेक्का लिएको सिनो हाइड्रोले लगभग सबै काम सकेको छ ।

बाँकी २ प्रतिशत काममध्ये १ प्रतिशत सिभिल आफैंले सम्पन्न गर्न सक्छ भने अर्काे एक प्रतिशतको लागि इलेक्ट्रोमेकानिकलको सहायता लिनुपर्छ । इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न नसक्दा सिभिलको काम पनि प्रभावित भएको छ ।


मेसिन जडानको काम ६० प्रतिशत जति सकिएको छ भने ४० प्रतिशत बाँकी छ । टर्वाइन जडान र जेनरेटर जडानको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सन् २००८ को अपि्रलदेखि सुरु भएको यो आयोजनाको निर्माण सन् २०११ डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर तोकिएको समयभन्दा ६ वर्ष ढिलो भइसक्दा पनि कहिले सकिने भन्ने अन्योल अझै कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment