Comments Add Comment

ढल्केबर सबस्टेशन निर्माण ४ महिनाभित्र सक्ने चिनियाँ कम्पनीको बाचा


२२ साउन, जनकपुर । चिनियाँ ठेकेदार कम्पनीले धनुषाको ढल्केबर सबस्टेशनको निर्माण ४ महिनाभित्र जसरी पनि सक्ने प्रतिवद्धता जनाएको छ । २ सय २० केभीको सबस्टेसन निर्माणको काम सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) ले गरिरहेको छ ।

तर, काम सुस्त भएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ निरीक्षणका लागि ढल्केबर पुगेका छन् । मन्त्री शाहीले हिउँदअघि नै ढल्केबरको २२० केभी लाइन चार्ज गर्नुपर्ने भन्दै सब-स्टेशनमा हुने ढिलाइ स्वीकार्य नहुने बताए ।

‘अबको सुख्खायाम अघि नै हामीले यो यो सब स्टेशन चलाइसक्नुपर्छ’ दोभाषे राखेर चिनियाँ ठकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्री शाहीले भने, ‘जसरी हुन्छ छिटो गर्नुस् । नभए हामीलाई समस्या हुन्छ ।’

प्राधिकरणका प्रमुख घिसिङले पनि ढल्केबर सब-स्टेशन निर्माण सन्तोषजनक नभएको भन्दै गति बढाएर जतिसक्दो छिटो सक्न निर्देशन दिए ।

जवाफमा चिनियाँ ठेकेदारले सबस्टेशन समयमै सक्न आफू पनि केन्द्रित रहेको बताएका छन् । ‘मन्त्री ज्यूले धेरै चिन्ता गर्नुपर्दैन । हामीलाई पनि यसको चिन्ता छ’ चिनियाँ ठेकेदारले भने, ‘भारतीय कन्सल्टेन्टले फाइनल डिजाइन दिएको छैन । बरु त्यसका लागि पहल गरिदिनुस् ।’


लगतै मन्त्री शाहीले भारतीय कन्सल्टेन्टलाई एक हप्ताभित्र फाइनल डिजाइन पेश गर्न निर्देशन दिएका छन् उनले कुनै पनि समस्या आएर सीधा आफूलाई सम्पर्क गर्न ठेकेदारलाई अनुरोध पनि गरे ।

केही साता अघि निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको थियो ।

९० प्रतिशत काम सकियो

आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।


केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर-बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सीसीपीजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको थियो ।

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment