Comments Add Comment

भरतपुर महानगरका जनप्रतिनिधिको शपथ अाज, २ वडाअध्यक्षको रोकियो

२२ साउन, चितवन । भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण अाइतबार हुँदै छ ।

महानगरका वडानम्बर-४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई अाइतबार अपराह्न शपथग्रहण गराइने भएको हो ।

गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई अाइतबार अपराह्न ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताए ।

निर्वाचित १४७ जनामध्ये अाइतबार १४५ जनाले शपथ लिनेछन् । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए ।

त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो ।

ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment