Comments Add Comment

शोकमा गरुडा, ठेकेदारको लापरवाहीले गयो चार बालिकाको ज्यान

२२ साउन, रौतहट । नौ वर्षकी छोरी सडकको छेउमा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि मञ्जुदेवी साह बेहोस छिन् । बेलाबेला होसमा आउँछिन् र, ‘मेरी छोरी कतिखेर घर आउँछे’ भन्दै आँगनभरी जम्मा भएकाहरुलाई सोध्छिन् ।

परिवारका सदस्यहरु पनि उनलाई सम्झाउन सक्ने अवस्था छैनन् । सकुन् पनि कसरी ? १० देखि ९ वर्षका बालिकाहरुको सडक बनाउने क्रममा खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको छ ।

यो घटनाले सिंगो गरुडा शोकमा डुबेको छ । मृतक मध्ये संगिता र सुनिता साहका बुबा रामएकवाल साह पनि अर्धचेत अवस्थामा छन् ।


हुर्कँदै गरेकी दुई छोरी गुमाएका राम एकवाल सडक निर्माण कम्पनीलाई कारवाही माग गरिरहेका छन् । उनीहरुले आइतबार मृतक बालिकाको शव सडकमा राखेर प्रदर्शन समेत गरेका छन् ।

सडक निर्माणका बेला स्थानीयले खेतको माटो झिक्नुको सट्टा बाहिरबाट ल्याउन आग्रह गरेका थिए । तर, ठेकेदारले सुनेन । खेतकै माटो झिकेर बाटो बनाएको ठेकेदारले खाल्डो पुर्न ध्यान दिएन । नत, खाल्डो वरिपरि छेकबार नै लगायो । लगातार तीन दिन पानी परेपछि सडक छेउ झण्डै ९ फिटको खाल्डो बन्यो ।

त्यही खाल्डोमा जम्मा भएको पानीमा डुबेर शनिबार साह परिवारका तीन दाजुभाइका चार छोरीको इहलिला समाप्त भयो । मृतक बालिका मध्ये संगिता १२ वर्षकी हुन् भने सुनिता, सुनैना र सुस्मिता ९ वर्षका थिए ।

डिभिजन सडक र ठेकेदारको लापर्वाही

सडक डिभिजन कार्यालयको १४ लाख रुपैयाँको लागतमा एक महिना अघि मात्रै बनाइएको १६ सय मिटरको सडक अझै सडक भन्न लायकको छैन । पाइलै पिच्छै खाल्डा भएका कारण पैदलयात्री र साइकलयात्री बाहेक अन्य सवारी साधन यो बाटोमा हिँड्न सक्ने अवस्था छैन ।

ठेकेदारको चरम लापरवाहीका कारण चार बालिकाको ज्यान गएको भन्दै स्थानीयबासीले छानबिनको माग गरेका छन् । सडक बनाउँदा ठेकेदारले बदमासी गर्दै सडक किनारकै खेतको जग्गामा खाल्डा बनाएको र त्यही खाल्डाहरु वर्षामा धराप भएको स्थानीय व्यवसायी धर्मनाथ जयसवालले बताए ।

घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको लागि पहल गर्ने शर्तमा परिवारजनले शव बुझेका छन् । स्थानीय प्रशासनले भने परिवारजनलाई तत्काल किरिया खर्च बापत प्रतिव्यक्ति २५ हजार दिएको छ । अनुसन्धान शुरु भएको भन्दै रौतहटका प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले भने, ‘घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने छौं ।’

एक वर्षमा ११ बालबालिकाको डुबेर मृत्यु

वर्षायामको बेला सानाठूला सबै खाडल जलमग्न हुन्छन् । त्यसबारे स्थानीयबासीलाई थाहा भए पनि बालबालिकाहरुलाई खाल्डोको गहिराइबारे कमै मात्र जानकारी हुने गर्छ । अत्याधिक गर्मी छल्न र साथीहरुसँग पौडी खेल्ने क्रममा रौतहटमा ०७३ साउनदेखि ०७४ साउनको एक वर्षको अवधिमा ११ जना बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड निर्माण भएको वर्षौ ंबितिसक्दा पनि सडक बनाउने क्रममा खनिएको खाडलहरु पुरिएको छैन । ‘सडक निर्माणका क्रममा जथाभावी सडक किनारमा खाल्डो खनेर माटो झिक्न पाइँदैन,’ रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने ‘सडक डिभिजन कार्यालयका प्रमुखलाई समेत सडक निर्माणका सम्पूर्ण कागजात ल्याउन निर्देशन दिएको छु । साथै प्रहरीलाई पनि कानूनी प्रक्रिया अगाडि बढाउन भनिएको छ ।’

प्रहरीले ठेकेदार कम्पनीका प्रहृलाद साहलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

आइतबारको संसद बैठकले पनि रौतहट घटनाबारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment