Comments Add Comment

डा. पियुषः सेनाको तालिमदेखि प्लास्टिक सर्जरीसम्म

यस्तो छ नेपालमा प्लाष्टिक सर्जरीको कथा

२६ साउन, काठमाडौं । दोस्रो पुस्ताका चर्चित प्लाष्टिक सर्जन हुन् डा. पियुष दाहाल । विभागीय प्रमुखका रुपमा वीर अस्पतालको प्लाष्टिक सर्जरी विभागमा रहेर उनले काम गर्न थालेको झण्डै सात वर्ष हुन लाग्यो । यस अवधिमा उनले पाँच हजारभन्दा बढी विरामीको उपचार गरिसकेका छन् ।

जलेका, पोलेका तथा करेन्ट लागेका विरामीको रातदिन नभनी उपचार गर्दै आएका डा. पियुष परिस्थितिजन्य कारण प्लाष्टिक सर्जन बन्न पुगेका हुन् । ०६७ सालमा प्लाष्टिक सर्जरी विभागको विभागीय प्रमुख हुनुअघि उनी वीर अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत थिए ।

सेनाको तालिम छाडेर डाक्टर

इटहरीमा जन्मे हुर्केका पियुषले विद्यालयस्तरको पढाइसमेत त्यहीँ पूरा गरेका हुन् । उनका बुवा धरणीधर दाहाल साहित्यिक व्यक्तित्व थिए । उनले छोरालाई भने डाक्टर बनाउने चाहना राखेका थिए ।

त्यसो त विद्यालय सक्दासम्म डा. पियुषलाई डाक्टर नै बन्छु भन्ने लागेको थिएन । उनलाई त जसरी हुन्छ, जागिर खानु थियो । मानविकी तथा कमर्स पढ्दा त्यतिबेला जागिर पाउन मुस्किल हुन्थ्यो । बरु साइन्स पढे कम्तिमा पनि स्कुलमा पढाउन त पाइन्छ भन्ने विश्वास उनलाई थियो । त्यसपछि धरानस्थित हात्तीसार क्याम्पसबाट आईएस्सी सकेका उनले काठमाडांैको त्रिचन्द्रमा बीएस्सी पढ्दापद्दै जागिर खाने सोच बनाए ।

‘त्रिचन्द्रमा पढ्दै गर्दा उनले नेपाली सेनामा आवेदन दिए र छनोट पनि भए । तर, परिवारको दबावपछि उनले सेनाको तालिम बीचमै छोडेर काठमाडौकै विभिन्न स्कुलमा मास्टरी गर्न थाले । मास्टरी गर्दागर्दै आइओएममा चिकित्साशास्त्रको आवेदन खुलेपछि उनले त्यहाँ आवेदन पनि दिए । पहिलो पटकको प्रयासमा उनी फेल भए । लगत्तै दोश्रो पटकमा उनको नाम निस्कियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । जे जति विषयमा नाम निस्कियो उनले पढ्दै गए । ‘मलाई डाक्टर बन्ने इच्छा कहिल्यै थिएन । पढाइ सकेर राम्रो जागिर खान्छु भन्ने मात्र थियो,’ डा. पियुष भन्छन् ।

परिस्थितिले बनायो प्लास्टिक सर्जन

एमबीबीएसलगत्तै पाटन अस्पतालबाट काम सुरु गरेका डा. पियुषले मेडिकल अफिसरमा नाम निकालेसँगै उनको पोस्टिङ इलामस्थित इलाम जिल्ला अस्पतालमा भयो । त्यहाँ उनले डेढ वर्ष काम गरे । फेरि उनी झापास्थित धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा आए । त्यहाँ पनि उनले डेढ वर्ष काम गरे । त्यसपछि न्याम्समा तीन वर्ष एमएस पढे र सन् २००८ देखि उनले वीर अस्पतालमै जनरल सर्जरी विभागमा रहेर काम सुरु गरे ।

वीर अस्पतालमा प्लाष्टिक सर्जरीको सुरुवात गर्ने डा. केशवदास जोशीले सन् २००६ मा अवकाश पाएसँगै झण्डै दुई वर्षदेखि प्लाष्टिक सर्जरी विभाग चिकित्सकविहीन बनेको थियो । त्यसबेला, नेपालमा जलेको बिरामीको गहन उपचार गर्ने वीर अस्पताल मात्र थियो । अन्य अस्पतालमा जटिल किसिमका बिरामीहरुको भर्ना पनि नहुने अवस्था थियो । त्यसैले, बिरामीहरु यहीँ आउने भएकाले अस्पतालले वाध्यात्मक हिसाबले सेवा सञ्चालन त गर्‍यो, तर त्यहाँ काम गर्ने चिकित्सक भने कोही पनि थिएन ।
त्यसैले, कामचलाउ रुपमा अस्पतालले उक्त वार्डको जिम्मा जनरल सर्जरीलाई नै दिएको थियो, जहाँ डा. पियूष कार्यरत थिए ।

त्यतिबेला बर्न वार्डमा ‘नरदेवी दिदी’ इन्चार्ज थिइन् । उनले डे्रसिङ्ग लगायतका सामान्य उपचार त गर्थिन् तर अपरेसन गर्नुपर्ने विरामी आए कहिले साँखु, कहिले मोडेल, कहिले टिचिङ्ग पठाउने गर्थिन् । उक्त वार्डको जिम्मा जनरल सर्जरीलाई दिइएपछि बिरामीहरुको सामान्य उपचार गर्नु परे नरदेवी दिदीले डा. पियुषलाई नै बोलाउन थालिन् । यही क्रममा बर्न वार्डप्रति डा. पियूषको झुकाव बढ्यो ।

त्यो अवस्थाको अन्त्यका लागि वीरमा पनि प्लाष्टिक सर्जरी सम्बन्धी शल्यक्रिया सेवा सुचारु गर्ने सोच बनाएका डा. पियुषले बर्न वार्डमा काम गर्दा गर्दै सामान्य शल्यचिकित्सा नै छोडिदिए ।

एक दिन वीरमा एकजना जलेका बिरामी आए । ट्रकमा काम गर्ने उनको स्टोभ पड्केर हात तथा शरीरका विभिन्न भाग जलेको थियो । भारतमा डेढ-दुई महिना बसेर काठमाडौमै उपचार सम्भव छ भनेपछि ती बिरामी काठमाडौं आएका रहेछन् ।

तर विडम्बना, न त ती विरामीलाई अन्य कुनै अस्पतालले लिन मान्छ, न विरामी नै काठमाडौं छाडेर कतै जान चाहन्छन् ।

‘त्यो अवस्थामा के गर्ने त भनेर सोच्दा अपरेसन आफैले गर्नुपर्ने अवस्था देखियो’, उनले प्लाष्टिक सर्जरीमा काम गर्दाको अविश्मरणीय घटना सुनाए । लगत्तै, ती व्यक्तिको शल्यक्रियाका लागि कक्ष तयार भयो । नर्सहरु पनि तयार भए । तर बेहोश पार्ने चिकित्सक भने भएनन् ।

सरकारी अस्पतालहरुमा विरामी बेहास पार्न कुनै पनि चिकित्सक कन्सल्टेन्ट हुनैपर्छ । तर, डा. पियुषको हकमा यो लागू भएन । उनी वीरमा सरकारी दरबन्दीमा सिनियर मेडिकल अफिसरका रुपमा मात्र कार्यरत थिए । त्यसैले उनलाई विरामी बेहोस पार्ने अधिकार थिएन । जसले गर्दा केही समय किचलो पनि भयो ।

तर, डा. पियुषलाई शल्यक्रियाद्वारा ती विरामीको ज्यान त जसरी पनि बचाउनु थियो । कुनै उपाय नभेटेपछि उनले इमर्जेन्सी बेसिसमै भए पनि ती बिरामीको शल्यक्रिया गरी छाला प्रत्यारोपण गरेरै छोडे । ती व्यक्ति निको भएर १५ दिनमै घर पनि फर्किए ।

उक्त शल्यक्रियाका दौरान कन्सल्टेन्ट डा. बाबुराम पौडेलले आफूलाई ठूलो साथ दिएको पियुष बताउँछन् । ‘शल्यक्रियापछि डा. पौडेलले खुशी भएर हामी सबैलाई समोसा पनि ख्वाउनुभयो’ उनले त्यसबेलाको घटना सम्झे ।

त्यसरी नै उनले दिनहुँ गर्नुपर्ने शल्यक्रियालाई इमर्जेन्सी बेसिसमा गराएर एक वर्ष कटाए । जुन उनका लागि निकै कष्टकर पनि रह्यो ।

यहीवीचमा वीर अस्पतालको आवश्यकता महसुस गरेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) ले पढ्नका लागि थुप्रै विधामा आवेदन माग्यो । उनले त्यसमध्ये प्लाष्टिक सर्जरीका लागि आवेदन भरे ।

सन् २००९ मा डा. पियुष प्लाष्टिक सर्जरीमा पोष्ट ग्राजुएसनका लागि लखनउ विश्वविद्यालय हानिए । सन् २०१० मा पोष्ट ग्राजुएसन गरेर उनी नेपाल फर्किए ।

अनि पाए जिम्मेवारी

डा. पियुष जब लखनउबाट प्लाष्टिक सर्जरीमा पोष्ट ग्राजुएसन गरेर नेपाल फर्किए, स्वास्थ्य मन्त्रालयले उनलाई सिधै झापास्थित मेची अञ्चल अस्पताल पठाइदियो ।
यतिबेलासम्म उनी कल्सल्टेन्ट भइसकेका थिए । तर, पनि स्वास्थ्य मन्त्रालयले उनलाई झापा पठाएपछि वीरको प्लाष्टिक सर्जरी विभाग पुनः रिक्त हुन पुग्यो । वीरमा अब जलेको विरामीको उपचार गर्ने कोही पनि भएन । उनले सुचारु गरेको उक्त सेवा पुनः बन्द त भयो नै, उक्त वार्ड पुनः पहिलेकै अवस्थामा फर्कियो । प्लाष्टिक सर्जरी विभागमा पहिले नरदेवी दिदीले जसरी विरामी हेर्थिन्, अब फेरि विरामी त्यसरी नै हेर्ने र रिफर गर्ने गरियो ।

त्यतिबेला, वीर अस्पतालमा डा. बुलन्द थापा निर्देशक थिए । उनले डा. पियुषलाई वीरमा र्फकन प्रत्येक दिन अनुरोध गरिरहेका थिए । तर, उनी भने मन्त्रालयले नभनी आफू फर्किन नमिल्ने जवाफ दिन्थे ।

करिब तीन वर्ष मेची अञ्चल अस्पतालमा काम गरेर उनी काठमाडौमा आउँदा भने उनले वीरका निर्देशकलाई आफूकहाँ नआउनु भन्दै झपारे । लगत्तै, मन्त्रालयले उनलाई एक महिनाको काजमा वीरको प्लाष्टिक सर्जरी विभाग पठायो । त्यही मौका छोपेर अस्पतालका निर्देशक डा. थापाले अपरेशन भइसकेको विरामीलाई विनाउपचार फर्काउन मिल्दैन भन्ने व्यहोरा सहितको पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले उनलाई विभाग पठाउन वाध्य भयो । मन्त्रालयले पत्र काटेकै दिन डा. थापाले उनलाई विभागीय प्रमुखको रुपमा उक्त विभागको सम्पूर्ण जिम्मेवारी सुम्पिए ।

त्यसपछि वीरगञ्जबाट काजमा वीर अस्पताल खटिएका डा. जगदीश अग्रवालले उनलाई दैनिक एनेस्थेसिया सेवा उपलब्ध गराइदिए । उनी सरुवा भएलगत्तै डा. रविराम श्रेष्ठले सहयोग गरे । त्यसपछि पनि उनलाई एनेस्थेसियाको लागि खासै समस्या भएन । जसले गर्दा बर्न वार्डमा एउटा ट्रयाक बस्यो ।

लगत्तै डा. पशुपति भण्डारी मेडिकल अफिसरका रुपमा उक्त वार्डमा आए । उनले लोकसेवा पनि पास गरे । उनी कन्सल्टेन्ट भए । हाल वीरको प्लास्टिक सर्जरी विभागमा डा. पियुष, डा. पशपति तथा आवासीय चिकित्सकसहित चारजनाको समूह कार्यरत छ ।

खुट्टा ढोग्न तयार छु

डा. पियुषको चाहन्छन् कि सरकारले वीरको प्लास्टिक सर्जरी विभागलाई नमुनाकै रुपमा विकास गरोस् ।

‘हाल भएको १० शैयाको ठाउँमा १५ वा २० शैयाको बनाइयोस् भन्ने छ । सरकारले त्यति गरिदिए भोलि जलेका विरामीले उपचारकै अभावमा मर्नुपर्ने थिएन,’ उनी भन्छन् ।

कुनैबेला उपचारकै अभावमा एक सांसदको जलेर मृत्यु भएको र अहिले पनि आफ्नो मान्छे जल्यो भन्दै प्रतिदिनजसो कुनै न कुनै नेताको फोन आउने उनले सुनाए ।

उनले एउटा घटना सम्झँदै भने, ‘करिब साढे दुई वर्षअघि दाइजोको निहुँमा जलाइएकी बाँकेकी रिहाना शेख ढपालीलाई हेर्न सांसदको १५/१६ जनाको समूह नै वीर अस्पताल आएका थिए । उनीहरुलाई मैले एउटै अनुरोध गरेको थिएँ, जलेको बिरामीका लागि सुविधा हुनुपर्छ भनेर आवाज उठाइदिनुस् । त्यो आवाज उठाएवापत यदि तपाईले मलाई खुट्टा ढोग भन्नु हुन्छ भने म त्यो पनि गर्न तयार छु ।’

तर, आफूले त्यति भन्दासमेत कसैको कानमा बतास नचलेको उनको गुनासो छ ।

प्लाष्टिक सर्जरीको सुरुवात

डा. पियुषका अनुसार नेपालमा प्लाष्टिक सर्जरीको सुरुवात ३०-३५ वर्षअघि भएको हो । डा. केशवदास श्रेष्ठ नेतृत्वको टीमले नेपालमा पहिलोपटक प्लाष्टिक सर्जरीको सुरुवात गरेको थियो ।

त्यतिबेला, वीर अस्पतालमा निश्चित शल्यचिकित्सकहरु -सर्जन) मात्र कार्यरत थिए । उनीहरुमध्ये कसैले न्युरो सर्जरी रोजे त कसैले ग्यास्ट्रो वा मृगौलाको सर्जरी रोजे । डा. केशवदास श्रेष्ठले भने प्लाष्टिक सर्जरी विभाग रोजे ।

लगत्तै उनीहरु सबै मिलेर स्वास्थ्य मन्त्रालयसमक्ष वीर अस्पतालमा विशेष किसिमको सेवा दिन चिकित्सा विभाग स्थापना हुनुपर्ने अवधारणासहितको प्रस्ताव पेश गरे । सो प्रस्ताव अनुसार वीरमा सब-स्पेसियालिटी अन्तर्गत विशेष प्रकारको सेवा दिने निर्णय गरियो । सब-स्पेसियालिटी भित्र ग्याष्ट्रो, युरो, मुटुको शल्यक्रिया, प्लाष्टिक सर्जरी लगायतका विभिन्न विधालाई समेटियो । र, ती विधाहरुमा काम गर्ने चिकित्सकहरुलाई सरकारले विशेषज्ञको पद दियो ।

साथै, उनीहरुका लागि विशेष प्रकारको तालिमको समेत व्यवस्था गरियो र वीर अस्पतालमा यी सेवा सुरु भयो । अन्ततः सन् २००१ बाट वीर अस्पतालमा प्लाष्टिक सर्जरीको छुट्टै विभाग सञ्चालनमा आयो । उक्त विभागको नेतृत्व डा. श्रेष्ठले गरेका थिए । त्यसअघिसम्म वीरमा प्लाष्टिक सर्जरीको उपचार त हुन्थ्यो, तर छुट्टै विभाग भने थिएन ।

सन् २००६ मा डा. श्रेष्ठले अवकाश पाएपछि भने तीन वर्षका लागि प्लाष्टिक सर्जरी विभाग चिकित्सकविहीन भयो । अहिले यो विभागले एउटा विश्वासिलो नेतृत्व पाएको छ ।

उक्त विभाग पहिले वीर अस्पतालको पुरानो भवनमा रहेको थियो । वि.सं ०७२ को महाभूकम्पले भवनमा क्षति पुर्‍याएपछि उक्त विभाग ट्रमा सेन्टरमा सारियो । हाल वीर अस्पतालको ट्रमा सेन्टरको छैटौं तलामा सञ्चालित यो विभागमा जम्मा १० शैय्या छन् ।

डा. पियुषका अनुसार हाल वीर अस्पतालको प्लाष्टिक सर्जरी विभागमा आगोले पोलेको, जलेको, करेन्ट लागेको, दुर्घटनाका कारण अंगभंग भएको, छालाको क्यान्सरका कारण छाला काट्नु परेको, खुँडे एवं अनुहारको शल्यक्रिया लगायतका उपचार हुने गर्छ । त्यसबाहेक यहाँ मंगोलियन आँखा भएकाहरुलाई आर्यनका जस्ता आँखा बनाउनु परेमा वा स्तनको आकार घटबढ गराउनु परेमा त्यसको समेत प्लाष्टिक सर्जरी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment