Comments Add Comment

रिंगरोडमा मालबाहक गाडीलाई प्रवेश निषेध, नाका बाहिरै तोकियो पार्किङस्थल

कहाँ-कहाँ तोकियो पार्किङ स्थल ?


२६ साउन, काठमाडौं । सरकारले भदौ १ गतेबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाउने भएको छ ।

विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय भएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।

बिहीबार ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको विभागका प्रवक्ता टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

अब उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् ।

कहाँ तोकियो पार्किङ स्थल ?

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइनेछ । गोदावरीतर्फबाट आउने ट्रक/टिप्परले धापाखेलमा पार्किङ गर्न पाउने छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिनेछ ।

नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ । दक्षिणकाली नाका भएर आउने ट्रक/टिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

‘अब यो ब्यवस्थाले काठमाडौंमा ट्राफिक जामको समस्या धेरै हदसम्म कम हुन्छ भन्ने हाम्रो अपेक्षा हो,’ पाण्डेले भने, ‘विभाग र ट्राफिकमा आएको नयाँ नेतृत्वले बनाएको योजनाको समीक्षा केही समयपछि गरिनेछ । हामी यो ब्यवस्था प्रभावकारी हुन्छ भन्नेमा विश्वस्त छौं ।’

अहिलेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको छ । अब भने ट्रक र मिनी ट्रक पनि रिंगरोडमा तोकिएको समय अवधिभित्र प्रवेश गर्न पाउने छैनन् ।

यसअघि ट्रकलाई रिंगरोडमा आउन समय हेर्नुपर्ने अवस्था थिएन । अब भने ट्रक र टिप्परहरु ट्राफिकले तोकेको स्थानमा पार्किङ गरी बेलुका ७ बजेपछि मात्रै रिंगरोडमा आउन पाउने छन् ।

बेलुका ७ बजेपछि बिहान ८ बजेसम्म रिंगरोडभित्र आउन पनि उनीहरुलाई निषेध नगरिने प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment