Comments Add Comment

अझै रोकिएन मोरङमा लोहोन्द्रा र खदम खोलाको क्षति

बेलबारी नगरपालिकाको लालभित्ती समेत जोखिममा

२८ साउन, मोरङ । उत्तरी मोरङको केराबारी गाउँपालिका अन्तरगत पर्ने लोहोन्द्रा र खदम खोलामा शुक्रबार राति र शनिबार बिहान आएको बाढीले ठूलो मात्रामा क्षति पुर्‍याएको छ ।

लोहोन्द्रा खोलामा आएको बाढीले बगाउँदा केराबारी-९ कसुमे निवासी मिनबहादुर थापाको मृत्यु भएको छ । देवीझोडा सिरानमा गोठमा बाँधिरहेका गाईबस्तुको थलामा खोलो पसेपछि बाँधेकै ठाउँमा केही चौपाया मरेका छन् ।

लोहोन्द्रा खोलाको छेउमा रहेका घरहरुमा खोलो पसेपछि मानिसहरुका भाँडाकुँडा बगाएका छन् । खाँबे घरमा बसोबास गर्ने अधिकांश मानिसको भान्सा घर तल्लो तलामा हुने भएकाले राति नै खाना पकाउने सामानहरु खोलाले बगाएको हो । मानिसहरु भने टाँडमा सुत्ने भएकाले बग्नबाट जोगिएका छन् ।

खोला किनारका मानिसहरु शनिबार बिहानैदेखि भित्तातिर सरेर आश्रय लिइरहेका छन् । उनीहरुले बचेका वस्तुभाऊ सुरक्षित स्थानतिर सारिरहेका छन् ।

खोलामा अहिलेसम्म पानी घटेको छैन । आकाशबाट पनि शनिबार दिउँसोसम्म पानी दर्किइरहेको छ । मौसम विज्ञान विभागले शनिबार रातिसम्म पानी नरोकिने र अझै ठूलो पर्न सक्ने भन्दै सर्वंसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

केराबारी ९ को कुसुमेगौडामा रहेका ४ वटा घरहरु लोहोन्द्रा खोलाले बगाएको छ । कुसुमेबाट लोहोन्द्र खोला बेलबारी नगरपालिकाको लालभित्तीतर्फ पस्न खोजिरहेको हुनाले लालभित्तीमा बासिन्दा त्रसित बनेका छन् ।

केराबारी- ९ का स्थानीय पत्रकार भक्तेशर लिम्बुले अनलाइनखबरलाई दिएको जानकारीअनुसार कुसुमेस्थित प्राथमिक विद्यालय छेउमै खोलो आइपुगेको छ । खोलाले विद्यालयसमेत बगाउने खतरा बढेको छ । खोलो जिल्लातर्फ पसेमा बेलबारी नगरपालिकामा बासिन्दालाई पनि यसले असर पार्न सक्छ ।

स्थानीयबासीका अनुसार लोहोन्द्रा खोलामा यस्तो ठूलो बाढी आएको ०४४ यताकै सबैभन्दा ठूलो हो ।

छिमेकी गाउँले एक्जाभेटर चलाउन दिएन

उर्लिएर वस्तीतिर सोझिएको खोलो थुन्ने स्थानीवासीसँग कुनै औकात छैन । सुरक्षाकर्मीहरुको उपस्थिति पनि खासै छैन । जिल्लामा सबैतिर बाढी आएकाले सुरक्षाकर्मीहरुले चाहेर पनि सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन ।

यो स्थितिमा लालभित्ती सिरानमा पस्न लागेको खोलोलाई साइट लगाउन स्थानीयबासीले एक्जाभेटर प्रयोग गर्ने प्रयास गरेका थिए । तर, पूर्वपट्टी रहेको नक्सलबारी गाउँका बासिन्दाले लोहोन्द्रा खोलामा एक्जाभेटर चलाउन नदिँदा कुसुमे र लालभित्तीबाट बासिन्दा थप जोखिममा परेको स्थानीय बताउँछन् ।

खदम खोलाको क्षति, पसल पुरियो, घरहरु बगे

केराबारी बजार छेऊ भएर बग्ने खदम खोलाले पनि लोहोन्द्राले जस्तै बिगार गरेको छ । खदम खोलाले गछिया नजिकै केही घरहरु बगाएको खबर प्राप्त भएको छ ।
खदम खोलाको बाढी सँगै खसेको पहिरोका कारण केराबारी- ७ को सिरानमा एउटा किराना पसल पुपिरएको छ भने केही घरहरुमा क्षति पुगेको छ । र, केही चौपायाहरु मरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment