Comments Add Comment

चेल्सीले मलाई ‘अपराधी’जस्तो व्यवहार गर्‍योः कोष्टा

३० साउन, काठमाडाैं । स्पेनिस स्ट्राइकर डिएगो कोष्टाले आफूलाई चेल्सीले जहिले पनि एक ‘अपराधी’ जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । साथै उनले आफू एथ्लेटिको मड्रिडमा र्फकन चाहेकोसमेत बताएका छन् ।

२८ वर्षीय स्ट्राइकर कोष्टाले पछिल्लो पटक चेल्सीका लागि गत मे मा एफए कपको फाइनल खेलेका थिए । त्यसपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई एसएमएस गरी अर्को सिजनदेखि टोलीमा नरहने जानकारी गराएका थिए ।

कोष्टाले भनेका छन् कि क्लवले अहिले रिजर्भ खेलाडीको रुपमा ट्रेनिङमा बोलाइरहेको छ ।

‘यदि उनीहरु मलाई चाहँदैनन् भने मलाई किन जान दिँदैनन् ।’ उनले डेली मेलसँग भने ।

‘के गर्नुपर्छ म गर्छु, म आफ्नोबारे आफैं सोच्न सक्षम छु । म यहाँ राम्रो खेलाडी रहेँ र राम्रो काम गर्ने प्रयास सधैं रहनेछ । मेरो चाहना एथ्लेटिको जाने हो ।’

सन् २०१४ मा एथ्लेटिको मड्रिडबाट चेल्सी पुगेका कोष्टाले त्यहाँ रहँदा दुई प्रिमियर लिग र एक लिग कपको उपाधि जितेका छन् ।

गत जनवरीमा फिटनेस प्रशिक्षकसँगको विवादपछि लिसेस्टरसँगको अवे खेलमा उनलाई टिमबाट बाहिर राखिएको थियो ।

समाचारहरुमा जनाइएअनुसार कोष्टालाई ३० मिलियन पाउण्डमा चिनियाँ क्लवहरुबाट प्रस्ताव आइरहेको छ ।

‘जनवरीमा प्रशिक्षकसँग भएको के थियो भने’, कोष्टाले भने, ‘म क्लवसँग सम्झौता नवीकरण गर्न चाहन्थेँ तर उनीहरु सम्झौता नवीकरण नहोस् भन्ने चाहन्थे, मेरो आशंका यो छ कि यस प्रकरणमा प्रशिक्षककै डिजाइन थियो, उनैले यसो गर्न अह्राएका थिए ।’

‘म उनलाई एक महान प्रशिक्षकको रुपमा मान्छु । उनले राम्रो काम गरेका छन् र त्यो म पनि मान्छु । तर व्यक्तिगत रुपमा उनी त्यस्ता प्रशिक्षक होइनन् जो खेलाडीसँग नजिक रहन रुचाउँछन् । उनी निक्कै दूरी राख्छन् ।’

कोष्टाले भनेका छन् कि कोन्टेले गत जुनमा एसएमएस गरी अर्को सिजनदेखि टिममा राख्न नसकिने बताएका थिए ।

‘मैले म्यासेज डिलिट गरेको छैन’, उनले भने, ‘मानिसहरुले मलाई झुठो कुरा भनेमा म त्यो म्यासेज देखाउन सक्छु , यसबाट के प्रष्ट हुन्छ भने उनले मलाई भरोसा गरेनन्, र भविश्यका लागि मलाई बधाइ दिए ।’

कोष्टालाई चेल्सीले गत महिना अतिरिक्त समय दिएको थियो । तर अहिले उनको अनुपस्थितिका लागि जरिवानाको तयारी गरिएको छ र कानूनी कारबाहीबारे छलफल सुरु भएको दावी गरिएको छ ।

कोष्टाले भने, ‘तपाइहरु जान्नुहुन्छ कि कोचले मलाई चाहँदैनन् ।’

‘म चेल्सीबाट मुक्त हुने समयको प्रतीक्षा गरिरहेको छु । म चेल्सी छाड्न चाहन्नथेँ र त्यहीँ खुसी थिएँ । तर, जव म्यानेजर नै तपाईंलाई चाहँदैन भने तपाईंले छाड्नैपर्छ ।’ कोष्टाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment