Comments Add Comment

बाजे र दुई नातिको एउटै चिता

३२ साउन, काठमाडौं । उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे । दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे । बाँचुन्जेल तीनै जना सँगै रमाए । मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो ।

मध्यरातमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ ।

स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो । खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन् । मृतक गुमानसिंका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए ।

लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो ।

मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन् । बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment