८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार मध्यान्ह भेट भएको हो ।
यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टाको रहने नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दुबै देशका सरकार प्रमुखबीचको औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । यही वार्तापछि नेपाल र भारतबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।
नेपाल-भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट कुशाहा कटैया प्रसारण लाइनको पनि देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।
दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।
यसको प्रत्यक्ष प्रशारणका लागि बिभिन्न सञ्चार माध्यमका पत्रकारहरु भेला भएका छन् ।
बिहीबार नै राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी, देउवालाई गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । साँझ इण्डिया फाउण्डेशनले नेपाल-भारत सम्बन्धबारे आयोजना गर्ने अन्तर्क्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
शुक्रबार अपराहृन प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले तेलांगना र आन्”प्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नेछन् । ४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली गएका देउवा शनिबार स्वदेश फर्किने छन् ।
प्रतिक्रिया 4