Comments Add Comment

नेप्सेमा ‘डबल बटम’ आकृती, के बढ्ला बजार ?


१० भदौं, काठमाडौं । यस साता नेप्से परिसूचकको रेखाले डबल बटम अर्थात अंग्रजी अक्षरको डब्लु आकृती बनाएको छ ।
आइतवार १६१७ मा रहेको नेप्से परिसूचकले सातामा दुई पटक १६११ मा टेवा पाएर पुनः १६१७ विन्दुमा आएको छ । रेखाचित्रलाई ध्यान दिएर हेर्ने हो भने यसले डब्लु आकृति बनाएको छ ।

डब्लु आकृती बन्दा बजार बढ्ने र एम आकृती बन्दा बजार घट्ने विश्लेषण गरिन्छ । नेप्से विहीवार आइपुगेको १६१७.७५ को विन्दु ‘ब्रेक इभन प्वाइन्ट’को रुपमा रहेको छ । अर्थात यो विन्दुमा नेप्सेले प्रतिरोधको सामना गर्छ । यो बिन्दु कटेमा नेप्से केही समयसम्म बढ्ने अनुमान गरिन्छ ।

यद्यपी नेप्सेको लागि १६२९ मै पनि दरिलो प्रतिरोध आउन सक्छ । साउन ३१ र भदौं १ गते नेप्से यो विन्दुमा रहेको थियो । सो समय यो बिन्दुमा टेवा परिषण गरिरहेको नेप्से असफल भएर घटेको थियो ।

आधारभुत पक्ष

बजारलाई यस साता प्रभाव पार्ने खासै नीतिगत विषय उठेको छैन् । तर, केहीदिन अघि मात्र अन्तर बैंक निक्षेपलाई कर्जा लगानीमा प्रयोग गर्न नपाउने र सीसीडी रेसियो गणनामा लिन नमिल्ने बताएपछि फेरी बैंकहरुले कर्जा लगानी गर्न नसक्ने बताउदै आएका थिए ।

तर, राष्ट्र बैंकले परिभाषा नै उल्ट्याएर यो पुरानो व्यवस्था हटायो । यसले बजारमा बैंकलाई थप कर्जा लगानीमा समस्या नआउने देखिएको छ । हुनतः बजारमा अझै पनि सेयर धितोमा कर्जा पहिले जसरी सहज भएको छैन भने कर्जाको व्याज दरमा पनि सुधार हुन सकेको छैन् ।

तर, निक्षेप (मुद्दती)को व्याजदर केही घट्न थालेको, लाभांश घोषणा सुरु भइरहेकोले बजारलाई केही हदसम्म सकारात्मक प्रभाव पार्न सक्दछ ।
बजारमा अझै १३ अर्बका हकप्रद सेयर निष्कासनको प्रक्रिया र अनुमतीको प्रक्रियामा रहेका छन् । त्यसैले यसको बजारका लगानीकर्तामा दबाब भने रहनसक्छ ।

यस साता बजारमा  

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीहरुको कारोबार भएको छ । यस अनुसार ४० हजारभन्दा बढि कारोबारबाट ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सातामा १ अर्ब ४८ लाख सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.४५ प्रतिशत बढी हो । गत साता १ सय ७८ कम्पनीहरुको सेयर किनबेच भएर ३ अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँको कारोबार भएको थियो ।

सातागत रुपमा नेप्से परिसूचक गत विहीवारको तुलनामा यस साताको विहीबार १२ अंकले घटेर अन्तिम दिन १६१७.८१ अंकमा आइपुगेको हो ।

यस साता कारोबार रकम (१९ करोड ७५ लाख ८० हजार रुपैयाँ) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३६ लाख २३ हजार इकाई) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अगाडी छ । त्यसैगरी कारोबार संख्या (११८८९ वटा) को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड पहिलो भएको छ ।

यस साता बजारमा एकै दिन ७ ब्रोकर कम्पनीले एक दिन कारोबार गर्न पाएनन् । यसले पनि बजारको कारोबारमा प्रभाव परेको थियो । धितोपत्र बोर्डलाई बुझाउनु पर्ने नविकरण शुल्क नबुझाएको कारण उनीहरुको कारोबार एक दिन रोकेको थियो भने शुल्क बुझाएपछि कारोबार खुला गरिएको थियो ।

यस सातामा पहिलो कारोबारको लागि नै १ हजार ६ सय २५ सम्म मूल्य पाएको माहुली लघुवित्तको कारोबार भने हुन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment