+
+

महासंघको चुनावः पत्रकारको जाँड खाने उत्सव !

रामहरी ओझा रामहरी ओझा
२०७४ भदौ ११ गते १०:३०


‘पत्रकार महासंघको अधिवेशन भनेको त पत्रकारहरुको जाँड खाने उत्सव पो रहेछ । जता हेर्‍यौं जाँड खाने जति सबै पत्रकारहरु मात्रै पो भेटिन्छन् । फेरि यिनीहरुमा पनि सभ्यता भनेको त शुन्य नै हुँदो रहेछन नि ! जसका मुखमा पनि गाली मात्रै झुण्डिएको छ ।’

नेपाल पत्रकार महासंघको २५ महाधिवेशनका क्रममा काठमाण्डौंको सुन्धारातिर देखिएको दृष्यपछि दुईजनाले आपसमा कुरा गरेको सुन्दा मन कटक्क भयो ।

नेपाली सञ्चारकर्मीहरु मात्रको साझा संगठन नेपाल पत्रकार महासंघको २५ औं केन्द्रीय महाधिवेशन चलिरहेका बेला देशभरि क्रियाशील साथीहरु राजधानीमा केन्द्रित भए । सभासद (पार्षद) हरु नेतृत्व चुन्ने र चुनिने प्रयोजनका लागि सक्रिय थिए । गैर सभासदहरु आफ्ना व्यक्तिलाई सहयोग गर्नका लागि महासंघको महाधिवेशनको अवसरमा राजधानी केन्द्रित भएका थिए ।

महासंघले बसाई व्यवस्थापन गर्ने क्रममा ठमेल, क्षेत्रपाटी, सुन्धारा लगायतका स्थानहरुमा पत्रकारहरुलाई व्यवस्थापन गरेको थियो ।

सञ्चारकर्मीहरुको यो उपस्थितिले राजधानीका ठूला–साना होटेलहरुलाई निकै फाइदा भयो । तर, स्वयं सञ्चारकर्मीहरुलाई कति घाटा भयो भन्ने कुराको विश्लेषण गर्नु जरुरी छ ।

निश्चित रुपमा सञ्चारकर्मी भन्नेवित्तिकै समाजमा एक प्रकारको ओज छ । चाहे त्यो डरले होस् वा पत्रकारिताप्रतिको सम्मानले होस् अहिले पनि सञ्चारकर्मीहरुका विरुद्ध ह्वात्तै आवाज उठाईहाल्ने हिम्मत गर्दैनन् आम नागरिकले । उनीहरुमा एकाध बाहेक अरु सबै सञ्चारकर्मीहरु भनेका सभ्य हुन्छन्, बौद्धिक हुन्छन् र नैतिकवान हुन्छन् भन्ने बुझाइ छ । त्यसैले केही सञ्चारकर्मीहरुले बेला बखतमा मच्चाएका वितण्डाहरुका बाबजुद् पनि नेपाली सञ्चारकर्मीहरुका बिरुद्ध जेहाद छोड्ने हिम्मत न संस्थागत रुपमा कसैले गर्न सकेको छ, न व्यक्तिगत रुपमा । यही हो सञ्चारकर्मीहरुको सम्पत्ति ।

तर, महाधिवेशनका क्रममा काठमाण्डौंका विभिन्न स्थानहरुमा सञ्चारकर्मीहरुको जुन अवस्था देखियो र स्थानीयबासीहरुले जुन ढंगले व्यङ्ग्य गरेको सुनियो, यसबाट नेपाली सञ्चार क्षेत्र दुर्भाग्यतिर गइरहेको छ भन्दा अन्याय हुँदैन ।

पत्रकार महासंघको अधिवेशनका नाममा जिल्ला–जिल्लामा आर्थिक सहयोग संकलन गर्ने अनि त्यो रकम जाँडमा सिध्याउने परिपाटी नौलो भने होइन । विगतका अधिवेशनहरुमा पनि यस्ता परिपाटी थिए । यस वर्ष पनि त्यसैको निरन्तरता रह्यो । यसकारण कसैले यसलाई “कौन सा नौलो कुरा भयो र ?” भन्न पनि सक्लान् । यदि यो तर्क हो भने “सरी” मात्रै भन्न सकिएला, होइन भने पत्रकारका नाममा जे भइरहेको छ, त्यो गलत भइरहेको छ ।

नेपालको वर्तमान राजनीतिक घटनाक्रमले अब देशमा कुनै पनि व्यक्ति स्वतन्त्र छैन भन्ने कुरा प्रष्ट छ । कपाल काट्ने नाईहरुको संगठनमा नेतृत्व चयन गर्नु पर्‍यो  भने राजनीतिक विचारको ख्याल गरिन्छ भने आफूलाई छुट्टै ग्रहबाट झरेको महसुस गर्ने सञ्चारकर्मीहरु राजनीतिक विचारका आधारमा कित्ताकाट हुनु स्वभाविकै होला ।

मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र नेपालकै संविधानले पनि कुनै राजनीतिक विचारको समर्थन वा बिरोध गर्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । त्यसैले म फलानो पार्टीको वा उ फलानो पार्टीको भन्ने विषय जायज होला । यही कारण हो, नेपाली सञ्चारकर्मीहरु मात्रको साझा संगठन नेपाल पत्रकार महासंघ भन्दाभन्दै पनि दलैपिच्छेका बैचारिक संगठनहरु पनि खोलिएका छन् ।

हामी पत्रकार महासंघका सदस्यहरुले आफूलाई जतिसुकै स्वतन्त्र बनाएपनि हामी राजनीतिक दलका दास बाहेक अरु केही होइनौं भन्ने कुरा महाधिवेशनले पुष्टि गरेको छ । हामीले आफूलाई दलहरुका हनुमानमा परिणत गरेका छौं । जो दलको हनुमान हुन चाहँदैन, उ पत्रकार महासंघको नेतृत्वमा पुग्न सक्दैन । किनकि पत्रकार महासंघको नेतृत्व पत्रकारहरुको हातमा हुँदैन । पत्रकारहरुले नेतृत्व चयन गर्दैनन् । नेतृत्व निर्धारण गर्ने काम सानेपा, धुम्बाराही, पेरिसडाँडाले गर्छ । यो हामीले विगतदेखि नै स्वीकार गर्दै आएका छौं ।

यतिमात्रै होइन, हामीले नारायणथान, बालकोट र लाजिम्पाटको प्रत्येक्ष हस्तक्षेप पनि विगतदेखि नै स्वीकार गर्दै आएका छौं । वैचारिकरुपमा आस्था राख्ने विषय एउटा हो, तर आफ्नै नेतृत्व चयन गर्नका लागि पनि हामीले नेताहरुको आदेशको पालना गर्न थालेका छौं । हाम्रो मान्छे मात्रै व्यवसायिक पत्रकार हुने, राम्रो मान्छे जहिले पनि कुनै राजनीतिक दलको खोल ओडेको हुने हाम्रो डेढ अक्कले बुझाइले नेपाल पत्रकार महासंघ गैरपत्रकारहरुको जमात भएको छ । यो आजको कुरा मात्रै होइन, विगत लामो समयदेखिको रोग हो ।

त्यसैले हामीले पत्रकार महासंघको नेतृत्व छान्न पाउने हाम्रो अधिकार सानेपा लगेर बुझाएका छौं, धुम्बाराही लगेर बुझाएका छौं वा पेरिसडाँडा लगेर बुझाएका छौं भने ‘मैले टिकट पाइनँ’ वा ‘मेरो मान्छेले टिकट पाएन’ भनेर सुन्धाराका होटलहरुमा जाँडको मातहतमा नेताहरुलाई सत्तोसराप गर्नुको कुनै तुक छैन । “वैचारिक आस्थाका आधारमा हामी जहाँसुकै भए पनि हाम्रो नेतृत्व हामी आफैं छान्छौं, यसमा तपाईहरु हस्तक्षेप नगर्नुहोस्” भन्ने हिम्मत हामीले कहिल्यै गर्न सकेनौं । त्यसको परिणाम यो भयो कि अब कुन संगठनले कुन संगठनसँग चुनावी तालमेल गर्ने, कुन पत्रकारलाई अध्यक्षको उम्मेद्वार बनाउने भन्ने विषयको टुङ्गो पनि हामीले लगाउन पाइँदैन । के जिल्ला नेतृत्व छान्दा होस्, के केन्द्रीय नेतृत्व छान्दा होस्, हामीले हाम्रा नेताहरुको दबावलाई अस्वीकार गर्न सक्दैनौं । यस्तो अवस्था हामी आफैंले सिर्जना गरेका छौं, अनि ‘मैले’ वा ‘मेरो मान्छेले’ टिकट पाएन भनेर किन आक्रोशित हुनुपर्‍यो  ? त्यसैमा पनि यदि चित्त नबुझेकै कुरा हो भने आफ्नै नेताहरुका अगाडि सभ्य र अनुशासित भाषामा प्रतिवाद गर्ने हिम्मत किन गर्न सकेनौं ? किन जग हसाउनका लागि भट्टीको सहारा लिनु पर्‍यो  ? नेपाली राजनीतिमा योग्यता–क्षमताको कदर हुँदैन भन्ने कुरा पहिले नै प्रमाणित भइसकेको विषय हो । नेताहरुको वरिपरि जसले धेरै फन्को लगाउन सक्यो, उही योग्य हुन्छ ।

आज यदि सञ्चारकर्मीहरुले आफ्नो नेतृत्व आफै चुन्न पाउने, चुन्ने र चुनिने अधिकार आफैसँग हुने थियो भने कसैले कसैलाई टिकट दिइरहनुपर्ने जरुरी थिएन । महाधिवेशन हलमा जसलाई चुनिन मन छ, उसले निर्वाधरुपमा उम्मेदवारी दर्ता गर्ने थियो, प्रतिनिधिहरुले जसलाई चुन्न मन छ निर्वाध रुपमा चुन्ने थिए । तर, दुर्भाग्य हामीले हाम्रै संस्थाको नेतृत्व लिनका लागि अरुसंग टिकटको भिख माग्नु पर्ने अवस्था आयो, टिकट पाएन भनेर जाँडको मातमा शिल्ली ताल देखाउनु पर्ने भयो । आफ्नै संगठनको नेतृत्व चयन गर्नका लागि अरुको आदेश मान्नु पर्ने भयो । ‘राम्रो मान्छे फलानो हो’ भन्ने जानकारी हुँदा हुँदै पनि ‘हाम्रो मान्छे फलानो हो, उसैलाई चुन्नु’ भन्ने माथिको आदेशको अक्षरशः पालन गर्नुपर्ने अवस्था आयो ।

त्यसैले हामी आफैले निम्त्याएको यो दुर्भाग्यलाई आफैसँग राखौं साथीहरु, जाँडको तालका सडकमा ननाचौं । पत्रकारहरुको असली चरित्र लगेर चोकमा नपस्कौं । हामीभित्रका समस्याहरु हामीभित्रै राखौं । हामीसँग आफू स्वतन्त्र रहने हिम्मत छैन, हामी सधैं दास थियौं, दास रहिरहन्छौं । जबसम्म हामी दास मानसिकताबाट माथि उठ्न सक्दैनौं हामी दासताबाट मुक्त पनि हुन सक्दैनौं ।

यो महाधिवेशनमा पनि विगतको जस्तै दासता हामीहरुले प्रस्तुत गर्‍यौं । मालिकहरुको आदेशको पूर्णरुपमा पालना गर्‍यौं। त्यसैले दासता सहौं, मालिक बन्ने सपना नदेखौं । यदि मानसिकता दासताको बोकेर मालिक बन्ने सपना बोकेका छौं भने त्यो दुर्भाग्य हो ।

हिजो असहज परिस्थितिमा मालिकहरुको आदेशमा चुनावी मैदानमा उतारिएकाहरुलाई आज सहज अवस्थामा जिउँदै शहीद बनाइएको छ । चाकरहरुलाई एकाएक स्थापित गर्ने अभ्यास गरिएको छ । यही हो हाम्रो दुर्भाग्य ।

(लेखक डोटी जिल्लाबाट नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?