Comments Add Comment

भारतीय ग्यास खरिद नगर्ने व्यवसायीको चेतावनी

देउवाको दिल्ली भ्रमणपछि नेपाली ढुवानीकर्ता निराश

११ भदौ, काठमाडौं । व्यवसायीले आगामी कात्तिक (नोभेम्बर) पछि खाना पकाउने ग्यासको अभाव हुने चेतावनी दिएका छन् । आगामी नोभेम्बरपछि नेपाली नम्बर प्लेटका ग्यास ढुवानी गर्ने बुलेट सञ्चालन गर्ने पूर्वसहमति कार्यान्वयन नहुने परिस्थिति बनेपछि व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणमा पनि नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन गर्ने सम्बन्धमा सहमति जुट्न नसकेपछि बुलेटमा लगानी गरेका नेपाली व्यवसायी निरास भएका छन् ।

‘सरकारकै स्वीकृतिमा बुलेट निर्माणमा गरेको लगानी डुबेपछि हामीले भारतीय ढुवानीकर्ताबाट ग्यास आयात गर्ने भन्ने कुरा रहँदैन,’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले अनलाइनखबरसँग भने । आगामी नोभेम्बरपछि भारतीय ग्यास खरिद नगर्ने घिमिरेले बताए ।

संघका अनुसार ग्यास बुलेट निर्माणका लागि व्यवसायीले करीव ५ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । नेपाल आयल निगमले गत ०७३ असार २७ गते ७ सय ७५ थान नेपाली नम्बर प्लेटका बुलेट निर्माणका लागि व्यवसायीलाई स्वीकृति दिएको थियो । बुलेट आयातका लागि सरकारले ६६ प्रतिशत भन्सार छुटसमेत दिने निर्णय गरिसकेको छ ।

संघका अनुसार हालसम्म करीब ४ सय थान ग्यास बुलेट निर्माण भइसकेका छन् । ती बुलेटमा करीब ३ अर्ब रुपैयाँको लगानी भइसकेको छ । विष्फोटनमुक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) का नाममा भारतले नेपाली नम्बरप्लेटका निर्माण भइसकेका बुलेट सञ्चालनमा अवरोध गरिरहेको छ । भारतको ‘एक्स्प्लोसिभ’ डिपार्टमेन्टले उक्त प्रमाणपत्र जारी गरेपछिमात्र भारतीय आयल निगमले ग्यास लोड दिन्छ ।

प्रधानमन्त्री देउवाको हालैको उच्चस्तरीय भारत भ्रमणमा पनि बुलेट सञ्चालन गर्न सहमति कायम गर्ने सम्बन्धी मुद्दालाई प्रमुखताका साथ समेटिएको थियो । तर, उक्त विषयमा भारतले चासो नदेखाएपछि व्यवसायी यसबाट रुष्ट भएका छन् ।

भारतले ग्यास ढुवानीमा रहेको आफ्नो एकाधिकार कायमै राख्न खोजेको व्यवसायीको बुझाई छ ।

यसअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणमा पनि विदेशमन्त्री सुष्मा स्वराजले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न नदिने मनसाय व्यक्त गरेकी थिइन् ।

हाल भारतीय नम्बरप्लेटका झण्डै ६ सय बुलेटले नेपालमा ग्यास ढुवानी गर्छन् । ती बुलेटमार्फत हाल मासिक करीव ३० हजार मेटि्रक टन ग्यास आयात हुन्छ ।

संघले सरकारकै स्वीकृतिमा बुलेटमा लगानी गरेको भन्दै बुलेट सञ्चालन गर्न नपाए क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । ‘यदि व्यवसायीले गरेको लगानी अनुसार बुलेट सञ्चालनमा आउन नसक्ने हो भने सरकारले उचित क्षतिपूर्ति दिलाउनुपर्छ,’ संघका अध्यक्ष घिमिरेले भने ।

नेपाली बुलेट सञ्चालनमा नआए भारतीय बुलेटबाटै ढुवानीः निगम

यता नेपाल आयल निगमले भने आगामी नोभेम्बरपछि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने अवस्था नआए भारतीय बुलेटबाटै ग्यास ढुवानी हुने बताएको छ । ‘भारतीय ढुवानीकर्ताले नोभेम्बरपछि ग्यास ढुवानी साविककै बमोजिम गरिदिने जानकारी गराएका छन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘ढुवानीकै कारण ग्यास अभाव हुने अवस्था आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment