+
+

बिरामी स्वास्थ्यमन्त्री वीर अस्पतालको भीआईपी कक्षमा !

नेताको उपचार विदेशमा, राजपरिवार सुत्ने बेड सुनसान

ऋचा अर्याल ऋचा अर्याल
२०७४ भदौ १४ गते १६:०६

१४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल बिरामी अवस्थामा वीर अवस्थामा भेटिए । उनले चार दिनसम्म अस्पतालमै बसेर उपचार सेवा लिए । सधैंजसो खाली देखिने भीआईपी कक्ष मन्त्री पोखरेलका शुभचिन्तकहरुको आउजाउका कारण भरिभराउ देखियो ।

मन्त्री पोखरेल १० वर्षयता दोस्रोपटक वीर अस्पतालको उक्त भीआईपी उपचार कक्षमा भर्ना भएका हुन् । यसबीचमा बिरामी परेका अन्य नेता भने वीर अस्पतालभन्दा विदेशका स्वास्थ्य केन्द्रतिर पुगे । भीआईपी कक्ष नै रोज्ने सम्भवतः पहिलो बहालवाला मन्त्री हुन्, पोखरेल ।

करिब डेढ वर्षअघि पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल एक साता विशिष्ट कक्षमा बसेका थिए । सांसदहरु कमलादेवी महतो, अम्बिका खवास चौधरी र कमला शर्माले पनि उक्त कक्षबाट सेवा लिएका थिए ।

राजपरिवारको उपचारका लागि बनाइएको कक्ष

विसं १९६० मा राजपरिवारलाई लक्षित गरी विशिष्ट र अति विशिष्ट कक्षको व्यवस्था गरिएको हो, उक्त अस्पतालमा ।

पित्तथैलीको शल्यक्रियाका क्रममा तत्कालीन रानी ऐश्वर्या उक्त कक्षमा भर्ना भएकी थिइन् । राजा त्रिभुवन र उनको परिवारले पनि अति विशिष्ट कक्ष रोजेका थिए । स्वदेशमा उपचार सम्भव नभएपछि मात्र त्रिभुवनलाई स्वीट्जरल्यान्डको ज्युरिच पुर्‍याइएको थियो ।

के के छन् सुविधा ?

अति विशिष्ट कक्षमा बिरामीसहित भान्सा, सुरक्षाकर्मी, स्वकीय सचिव, कुरुवा र पाहुना कक्ष गरी ८ वटा कोठा छन् । चिकित्सक र नर्सहरुका लागि अलग्गै कोठाको व्यवस्था छ । एट्याच बाथरुमका साथमा ठूला झमर र कलाकृतिबाट सजाइएको छ ।

भीआईपी कक्षमा बिरामीसहित आठ वटा कोठा छन् । उक्त कक्षमा मेडिकल सुविधा मात्र छ, स्वकीय सचिवका लागि अलग्गै व्यवस्था छैन ।

‘विगतमा अहिलेजस्तो निजी अस्पतालहरु थिएनन् । त्यतिबेलाको सबैभन्दा ठूलो अस्पताल नै वीर थियो,’ अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापा भन्छन्, ‘राजा-रानी र राजपरिवारका सदस्यलाई लक्षित गरेर अति विशिष्ट कक्ष निर्माण भयो । प्रधानमन्त्री, मन्त्री र संवैधानिक अंगका प्रमुखका लागि भनेर विशिष्ट कक्ष बनाइयो ।’

तर, अहिले पुरानो संरचना, अत्याधुनिक उपकरण अभाव र अनुभवी चिकित्सकको कमीका कारण उक्त कक्षमा अति विशिष्ट र विशिष्ट बिरामी आउन छाडेको डा. थापाको भनाइ छ । उनका अनुसार विगतमा उपचारका लागि विदेश पुग्ने चलन कम थियो ।

अहिले सरकारीभन्दा निजी स्वास्थ्य संस्थामै मानिसको विश्वास बढी देखिन थालेको छ । सुविधाहरु उपलब्ध भएर पनि अति विशिष्ट र विशिष्ट कक्षमा बिरामी नआउनुको मुख्य कारण निजीप्रतिको विश्वास बढ्नु नै रहेको डा. थापा बताउँछन् ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार अहिले अति विशिष्ट कक्षमा त कोही आएकै छैन । विशिष्ट कक्षमा भने बेला-बेलामा पूर्वप्रधानमन्त्रीहरु भर्ना हुने गरेका छन् ।

विशिष्ट कक्षमा दैनिक तीन हजार रुपैयाँ शुल्क लाग्छ । अति विशिष्ट कक्षमा भने दैनिक २४ हजार रुपैयाँ बुझाउनुपर्छ । दुवै कक्षमा सर्वसाधारणले भर्ना पाउँदैनन् ।

दुवै कक्ष निर्माण भएकै ११४ वर्ष बितिसकेको छ । १२ वैशाख ०७२ को भूकम्पबाट अस्पतालको पुरानो भवनमा क्षति पुग्यो । सोही भवनमा छन्, दुवै कक्ष । अस्पतालले दुवैको पुनर्निर्माण गरिसकेको छ ।

नेताको उपचार विदेशमा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अहिले उपचारका लागि थाइल्यान्डको राजधानी बैंककमा छन् । गत कात्तिकमा कांगे्रस नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्तन क्यान्सरको उपचार सिंगापुरमा भयो ।

पूर्वराष्ट्रपति रामवरण यादव पनि प्रोस्टेट क्यान्सरको उपचारका लागि अमेरिका पुगे ।

उच्च ओहोदाका व्यक्तिहरुको उपचारका लागि राज्यकोषबाट हालसम्म २६ करोड रुपैयााभन्दा बढी खर्च भइसकेको छ । सरकारी तथ्यांकअनुसार त्यसमध्ये ६ करोड रुपैयाँ भीभीआईपीको उपचारमा खर्च भएको छ ।

२६ कात्तिक ०७३ को मन्त्रीपरिषद बैठकले कांगे्रस नेतृ कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिएको थियो । पूर्वराष्ट्रपति यादवलाई ६० लाख रुपैयाँ र दैनिक तीन सय डलर भत्ता दिइएको थियो ।

तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको उपचारमा एक करोड ११ लाख, एमाले अध्यक्ष ओलीलाई तीन वर्षमा एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ दिइसकिएको छ । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई पनि उपचारका लागि ५० लाख रुपैयाँ दिइएको थियो ।

वीर अस्पतालमै सुविधा भीआईपी र भीभीआईपीले उपभोग गर्ने हो भने दुई वटा फाइदा हुन सक्ने देखिन्छ । पहिलो, राज्यकोषको दोहन घट्ने थियो । दोस्रो, स्वदेशमै उपचारको लहर चल्ने थियो र सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि राज्य बाध्य हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?