+
+

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१७ का निम्ति दर्खास्त आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १७:२३

३० अगस्ट, काठमाडाैं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापित गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१७ का लागि दरखास्त आहृवान गरिएको छ ।

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभूमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको संस्थापकहरुले जनाएका छन् ।

पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन् ।

विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनै पनि भाषामा पत्रकारिता गर्ने, पत्रकारितामा कम्तीमा पाँच वर्ष लगातार काम गरेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुनेछन् ।

विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने छ ।

प्रवासी नेपाली जनजीवन लगायत तीनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरुलाई प्राथामिकता दिइने छ ।

पुरस्कारका लागि आहृवान गरेपछि तोकेको अवधिमा परेका आवेदनहरुबाट उत्कृष्ट रचना छानिने छ ।

अनलाइन लगायत छापा, श्रव्यदृश्य आदि माध्यममा प्रकाशित, प्रसारित सामग्री प्रतिस्पर्धामा सहभागी गराउन सकिने छ ।

मौलिक लेखन, उचित श्रोतको प्रयोग, मल्टिमिडियाको प्रयोग, खोजमूलक, अनुसन्धनात्मक, सन्तुलित, निष्पक्ष समाचार लगायतका आधारमा उत्कृष्ट रचनाहरु छानिनेछन् ।

उत्कृष्ट रचनाका अतिरिक्त आवेदकको पृष्ठभूमि र अनुभवलाई समेत छनोटको आधार मानिने छ ।

एनआरएनसंग सम्झौता गरी कुनै परियोजनामा काम गरिसकेका व्यक्ति वा कम्पनीले यो पुरस्कारका लागि आवेदन दिन पाउने छैनन् । त्यस्तो आवेदन स्वतः रद्द मानिनेछ ।

गैरआवासीय नेपाली संघसंगको सहमति अनुरुप नेपाल पत्रकार महासंघका अध्यक्षको अध्यक्षतामा गठित वरिष्ठ पत्रकारहरु रहेको तीन सदस्यीय छनोट समितिले पुरष्कृत गरिने पत्रकारको चयन गर्नेछ ।

पुरस्कृत पत्रकारलाई एक्लै वा संयुक्त रुपमा, १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’ प्रदान गरिने छ ।

तोकिएको मिति भित्र आफूले लेखेको श्रव्य-दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित, प्रसारित सामग्रीहरु (बढीमा तीनवटा) व्यक्तिगत विवरणसहित [email protected] वा [email protected]  मा पठाउनु पर्नेछ ।

दार्खास्त-१५ सेप्टेम्बर, २०१७ (राति १२ बजेभित्र) आइपुग्नुपर्ने बछ ।

गैरआवासीय नेपाली संघको आउँदो अक्टोबर महिनामा काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?