१५ भदौ, काठमाडौं । घोषणा भएको करिव एक वर्ष वितिसक्दा पनि कान्ति बाल अस्पतालमा ५२ शय्याको विस्तारित एकीकृत सघन उपचार कक्ष (आईसीयू ) अझै सञ्चालनमा आउन सकेको छैन ।
जनशक्ति तथा यथेष्ठ ठाउँ अभावमा कान्तिमा ५२ वेडको एकीकृत सघन उपचार कक्ष सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल दुई वटा आईसोलेन कक्ष सहित जम्मा ३९ वटा आईसीयू सञ्चालनमा छ ।
अस्पतालले ५२ शय्याको आईसीयू सञ्चालनमा ल्याउनु अघिसम्म कान्तिमा जम्मा १८ शैय्याको सघन उपचार कक्ष सञ्चालनमा थियो ।
जसमध्ये ८ वटा नवजात शिशु सघन उपचार कक्ष , ६ वटा पेड्रि याटिक सघन उपचार कक्ष तथा ४ वटा सर्जिकल आईसीयू कक्ष सञ्चालनमा रहेको थियो ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा ५२ शय्याको आईसीयू सञ्चालनमा ल्याउन आवश्यक बजेट दिने प्रतिवद्धता जनाएसँगै अस्पतालले १८ वटा आईसीयुलाई बढाएर ५२ पुर्याउने लक्ष्य लिएको थियो ।
५२ शैय्याको उक्त एकीकृत सघन उपचार कक्षमा २५ शय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु), १५ शय्याको बालबालिका सघन उपचार कक्ष (पीआईसीयू), १० शैय्याको सर्जिकल सघन उपचार कक्ष र २ शय्या संक्रामक बिरामीको उपचारका लागि आइसोलन कक्षका सुविधा रहने अस्पतालले जनाएको थियो ।
त्यसैगरी, ल्याव सहित फामेर्सी, स्टोर, ल्याब, क्यास काउण्टर र सोधपुछ कक्षको समेत व्यवस्था गर्ने योजना समेत अस्पतालको रहेको थियो ।
नेपाल सरकारको गत वर्षको स्वीकृत कार्यक्रम अनुसार जम्मा बीस करोड रुपैयाँ लागतमा ०७२/७३ मा निर्माण सुरु गरिएको ५२ शैय्याको आईसीयु कक्ष निर्माणका क्रममा रकम अभाव भएपछि अस्पतालल स्वास्थ्य मन्त्रालयसँत करिब १३ करोड ५९ लाख रुपैयाँ बजेट माग गरेकोमा स्वास्थ्य मन्त्री गगनकुमार थापाकै पालामा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमार्फत अस्पताललाई करिब १० करोड रुपैयाँ समेत निकासा गरेको थियो ।
उक्त रकममध्यबाट अस्पतालले करिब तीन करोड रुपैयाँ बराबरको ४ वटा भ्यान्टिलेटर सहितका उपकरण समेत खरिद गरेको थियो । विभिन्न कारणवस बाँकी रकम उपयोग हुन नसकी फ्रीज भएको थियो ।
‘यस आर्थिक वर्षमा प्राप्त बजेटमार्फत निकट भविष्यमै अस्पतालमा अन्य ५/६ वटा आईसीयू थप्ने लक्ष्य रहेपनि अहिलेको अवस्थामा पर्याप्त ठाउँ तथा जनशक्ति अभावमा ५२ वटा आईसीयू सञ्चालनमा ल्याउन कठिनाई सिर्जना भएको छ’, अस्पतालका निर्देशक डा. गणेश राईले बताए ।
यद्यपी , अस्पतालमा रहेको ३९ वटै आईसीयू भने कुनै पनि बेला खाली नरहने उनले बताए ।
कान्ति बाल अस्पतालमा आईसीयुकै लागि दैनिक १० विरामी आउने गर्छन् । त्यसमध्ये थप आईसीयु अभावमा ५ जनालाई फर्काउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
वि.स २०१९ सालमा ५० शैय्याको जनरल अस्पतालबाट सञ्चालनमा आएको कान्ति बाल अस्पताल हाल ३५१ शैय्याको देशकै ठूलो बाल अस्पतालको रुपमा सञ्चालनमा छ ।
।