Comments Add Comment

काम गर्नेहरुका लागि देशमै अवसर छ : गभर्नर डा. नेपाल

१८ भदौ, पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकभित्र प्रशस्त अवसर रहेको भन्दै युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैं उद्यमी बन्नुपर्ने बताएका छन् ।

उनले कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको स्थापना भएको बताउँदै विदेश गएर अरुको नोकर भएर काम गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।

आईतवार पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा सिटिजन्स बैंक इन्टरनेसनलको उद्घाटन गर्दै गभर्नर डा. नेपालले काम गर्न सक्नेका लागी देशमै ठूलो अवसर रहेको बताए ।

‘बैंकहरु अवसर हेरेर आउने हो, घरछेउँमै बैंक पैसा लिएर आएको छ,’ उनले भने –‘बैंकबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्नुहोस, देशमै राम्रो अवसर छ ।’ बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले अहिले पैसा नभएर व्यापार व्यवसाय गर्न पाईएन भन्ने अवस्था नरहेको उनले बताए ।

उनले अझैपनि नेपालमा ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको बताए । जनताले अझैपनि पैसाको र बैंकको महत्व नबुझेको बताउँदै बैंकमै पैसा जम्मा गर्न उनको आग्रह छ ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले गाउँको विकासका लागी जनताको सुविधाका लागी बैंकहरु गाउँमा आईरहेको बताउँदै आयआर्जन र आर्थिक समृद्धिका लागी टेवा पुग्ने आशा व्यक्त गरे ।

सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत राजन सिँह भण्डारी, कृषि विकास बैंकका सिईओ लिलाप्रकाश सिटौला लगायतले बैंकको उपयोग गरी आर्थिक फड्को मार्न आग्रह गरे । गभर्नर नेपालले आईतबार नै जिल्लाको रिब्दिकोट गाउँपालिका बतासेमा कृषि विकास बैंक लिमिटेडको उपशाखा कार्यालयको समेत उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment