Comments Add Comment

१० जहाज थपिए, दसैंमा टिकटको अभाव उस्तै !

किन ह्वात्तै बढ्यो दसैंमा विमानको टिकट बुकिङ ?

२३ भदौ, काठमाडौं । गत वर्ष असोजको तुलनामा यसपालि नेपालमा १० वटा हवाइजहाज थपिएका छन्. । विमान थपिएपछि सीट र उडान संख्या पनि ह्वात्तै बढेको छ । तर, दसैंका लागि खुलेको हवाइ टिकटको भने हाहाकार हुन थालिसकेको छ ।

विमान बढेसँगै उडान संख्या बढ्ने नै भयो । यो वर्ष देशमा १० वटा बिमान थपिएका छन् । देशका बिभिन्न भागमा उडान भर्ने यस्ता जहाज थपिँदा ३७० को हाराहारीमा सीट पनि थपिएका छन् । गत वर्षभन्दा यो वर्ष धेरै कम्पनीको एकै स्थानमा ४ पटकसम्म उडान थपिएको छ ।

विमान थप भएसँगै उडान संख्या बढे पनि दसैंको मुखमा सहजरुपमा टिकट पाइनुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । अधिकांश विमान कम्पनीका तराई क्षेत्रका सबै टिकट बुकिङ भइसकेका छन् ।

यती एयरमा ७२ सीटे जहाज थपियो

गत वर्षको दसैंसम्म यती एयरलाइन्सले भरतपुर दैनिक एकपटक मात्रै उडान भर्दथ्यो । यसपालि दैनिक ५ पटकसम्म उडान भर्ने गरेको यती एयरलाइन्सका प्रबन्धक तथा प्रवक्ता भीमराज राई बताउँछन् ।

यतीले यो वर्ष ७२ सीटको नयाँ जहाज थपेको छ । गत वर्ष सञ्चालनमा रहेको नाइन एन एआइबी अहिले सञ्चालनमा छैन । जसका कारण गत वर्षभन्दा यतीसँग ४२ सीट मात्रै बढेको छ ।

यतीको यसपालि गत वर्ष भन्दा ८ पटक उडान बढेको छ । तर, यात्रुको चापमा कुनै कमी आएको छैन ।

प्रवक्ता राईले भने ‘नारायणगढ मुग्लिन सडक खण्डको बाटो बिग्रिँदा भरतपुर जाने यात्रु मात्रै होइन, सवारीमार्फत यो सडक खण्ड भएर जाने सबैजसो क्षेत्रमा यात्रु बढेका छन् ।’

यती एयरलाइन्सको दसैंको टिकट बुकिङ अहिलेसम्ममा ८० प्रतिशत सकिएको छ । तर, गत वर्षको दशंैअघि यही समयमा यति छिटो बुकिङ नभएको राई बताउँछन् ।

बुद्ध एयरमा पनि ७२ सीटे जहाज थप

त्यस्तै बुद्ध एयरले पनि यस वर्ष नयाँ बिमान एटीआर ल्याएको छ । ७२ सिटको बिमान थपिए पनि यात्रुको चापमा भने कुनै कमी आएको छैन । बरु, गत वर्षभन्दा बढी यात्रुको चाप रहेको बुद्ध एयरकी मार्केटिङ म्यानेजर बिनीता थापा बताउँछिन् ।

गत वर्षको दसैंसम्म बुद्धले सिमरा दैनिक ५ पटक मात्रै उडान भर्दथ्यो । यसपालि १२ पटकसम्म उडान भर्ने गरेको छ । त्यस्तै भरतपुमा पनि यसले गत वर्षको तुलनामा ३ पटक थपेर १२ पटकसम्म उडान भर्ने गरेको थापा बताउँछिन् ।

भैरहवामा पनि यस वर्ष यात्रुको चाप बढेको छ । गत वर्ष २ पटक मात्रै उडान भर्ने यो बिमान कम्पनीले यसपालि ५ पटक उडान गर्न लागेको छ ।

पोखरामा पनि बुद्धले दुई पटक उडान थपेको छ भने धनगढीमा एउटा उडान थपेको छ । बिराटनगरमा भने गत वर्ष जस्तै दैनिक ७ पटक उडान भरिरहेको छ ।

बिमान बढेको छ, तर बिमान कम्पनीको भाडा भने बढेको छैन । जसका कारण पनि बिमानमा यात्रु बढेको थापाको तर्क छ । उनले भनिन् ‘मुख्यतः बाटोको समस्याका कारण नै हवाईयात्रु बढेका हुन्, बिमानको भाडा पनि स्थिर रहेको छ, जसले पनि यात्रुलाई सडक यातायात भन्दा बिमानमा आकर्षण बढाएको हो ।’

थापाका अनुसार दसैंका लागि बुद्ध एयरको अधिकांश टिकट बुकिङ भइसकेको छ । भैरहवा, भरतपुर र पोखराजस्ता क्षेत्रमा सबैभन्दा बढी बुकिङ छ । र, यस्ता क्षेत्रको टिकट सम्पूर्णजसो बुकिङ भएको उनले जानकारी दिइन् ।

त्यस्तै बिराटनगर र धनगढीमा पनि यात्रुको चाप उत्तिकै रहेको छ । जसले गर्दा यी स्थानको पनि टिकट पाउनै मुस्किल हुन लागेको उनले बताइन् ।

नयाँ एयरलाइन्समा पनि उस्तै चाप

यो वर्षदेखि नै उडान थालेको श्री एयरलाइन्ससँग ३ वटा जहाज छन् । २ वटा जहाज ५० सिटे छन् भने एउटा ७० सिटको छ ।

श्री एयरलाइन्समा मात्रै यो वर्ष १ सय ७० सिट थपिएका छन् । अहिले यसले नेपालगञ्ज र धनगढी दैनिक दुई–दुई पटक उडान भरिरहेको छ भने शुक्रबारदेखि भैरहवामा पनि दैनिक दुईपटक नै उडान भर्दैछ । बिराटनगर र भद्रपुर भने अहिले दैनिक १ पटक नै उडान भरिरहेको छ । कम्पनीले जहाज थपे पनि अन्य कम्पनीमा भने यात्रुको चाप घटेको छैन बरु बढेको छ ।

सौर्य र सीताले विमान थपे

सौर्य एयरलाइन्सले यस वर्ष एउटा बिमान थपेको हो । गत वर्षको तुलनामा यसको पनि ५० वटा सीट थपिएका छन् । जसले पनि नेपालगञ्ज, धनगढी भैरहवा र बिराटनगरमा उडान भरिरहेको छ । दसैंका लागि यी स्थानमा ७० प्रतिशत बुकिङ भइसकेको मार्केटिङ प्रमुख मुकेश खनाल बताउँछन् ।

सीता एयरले पनि यो वर्ष दुईवटा बिमान थपेको छ । उसले सिम्रिक एयरलाइन्ससँग यी विमान खरिद गरेको हो । १८ सिटे जहाजसहित सीतासँग ५ वटा विमान छन्, जसमध्ये दुईवटा गत वर्ष सिम्रिकबाटै किनिएका हुन् ।

पहाडमा पनि यात्रुको चाप

तराई भेगमा केन्द्रित विमान कम्पनीहरुलाई नारायणगढ–मुग्लीन सडकखण्ड अवरुद्ध हुँदा फाइदा पुगेको छ । बिगतका वर्षहरुमा दसैंमा यस्ता क्षेत्रमा धेरै चाप हुन्थ्यो । यसपालि भने नारायणगढ सडकखण्ड बिग्रँदा दसैं–तिहार बाहेकको समयमा पनि यात्रुको चाप रह्यो । दशैंमा झनै यात्रुको चाप बढेर गएको बिमान कम्पनी बताउँछन् ।

तर, दुर्गम भेगमा केन्द्रित रहेका बिमान कम्पनीमा भने दशै तिहार भन्दा पनि बिदेशी पर्यटकको आगमन बढेसँगै चाप बढ्छ ।

नेपाल बायु सेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठ भन्छन्, ‘दसैंको बुकिङ एक महिना अघिदेखि नै सुरु गरेका हौ, हिमाल तर्फको उडानमा बिदेशी पर्यटकको सिजन सुरु भएसंगै मात्रै चा पर्दछ ।’

समिट एयरसँग १८ सिटे ३ वटा जहाज छन् । जसले पनि दुर्गम भेगमा उडान भरिहहेको छ । मार्केटिङ प्रमुख बबिता प्रसाई दशैंको मौसममा पनि कारण खासै यात्रुको चाप नढबेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment