+
+

दशैंको तयारी: नारायणगढ-मुग्लिन सडक चौबिसै घण्टा खुल्ने, खाल्डा पुर्न थालियो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २३ गते १९:१२

२३ भदौ, काठमाडौं । दशैंको समयमा नारायणगढ-मुग्लिन सडकखण्डमा २४ घन्टै गाडी गुड्ने भएका छन् । दशैंमा घर जाने यात्रुहरुलाई बाधा नपुगोस् भनेर भदौ २८ गतेबाट रातको समयमा पनि सवारी चलाउन लागिएको सडक विभागले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा अहिले बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । जसका कारण पूर्वतिर जाने सवारी साधनहरु बीपी राजमार्ग हुँदै र पश्चिम जाने सवारी साधनहरु पोखरा-बुटवल हुँदै जाने गरेका छन् ।

यसले गन्तव्यमा पुग्न लाग्ने समय थपिएको छ । साथै सवारी साधनहरुले यस्ता वैकल्पिक सडकमार्गको प्रयोग गरेर यात्रा गर्दा चर्काे भाडा समेत असुल्ने गरेका छन् ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सहज रुपमा सवारी आवागमन गर्न सकुन् भनेर खाल्डा खुल्डी पुर्ने र अवरोध हटाउने काम भइरहेको छ । यो काम केही दिनमै सकिने र २८ गतेदेखि पुरै सञ्चालनमा आउने बताए ।

‘अब यो क्षेत्रमा सवारी साधन गुड्नको लागि खासै समस्या हुने छैन,’ यादवले अनलाइनखबरसँग भने, ‘वर्षातको समय सकिएकाले ठूला पहिरो खस्ने सम्भावना पनि छैन ।’

निर्माण नरोकिने

अहिलेसम्ममा यो सडकखण्डको झन्डै ६४ प्रतिशत काम सकिएको छ । झन्डै ५ किलोमिटरमा पिचको काम सकिएको यादव बताउँछन् । विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ सहयोगमा यो सडक सन् २०१५ अपि्रल १९ तारिखबाट बिस्तार गर्न थालिएको हो ।

नारायणगढ-मुग्लिन सडकमा २४ घण्टै सवारी चलाउन दिएपनि निर्माण कार्य भने रोकिने छैन । आयोजना प्रमुख यादवले भने, ‘निर्माणको काम रोकिने छैन । तर दशैंको समय भएकाले अहिलेकै गतिमा भने अघि बढाउन कठिन हुनेछ ।’

नागढुंगा-मुग्लिन सडक पनि मर्मत सुरु

थानकोटदेखि मुग्लिनसम्म सडक मर्मतको काम पनि भइरहेको मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयले जनाएको छ ।

निर्देशनालय प्रमुख शिवहरी सापकोटाले भने, ‘दशैंको समयमा सहज रुपमा यातायातको आवागमन हुन पाओस् भनेर थानकोट मुग्लिनसँगै देशका अन्य प्रमुख सडकको पनि मर्मतको काम अघि बढाएका छौं ।’

उनका अनुसार धेरैजसो सडकको मर्मत कार्य दशैं आउनुअघि सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?