Comments Add Comment

कलैया उपमहानगरमा सांसदका छोरा र सांसदका दाबेदारबीच टक्कर

मेयरका उम्मेदवार को कस्ता छन् ?

२३ भदौ, बारा । प्रदेश नम्बर २ का तीनवटा उपमहानगरपालिका मध्ये २ वटा बारामै छन् । कलैया र जितपुर सिमरा उपमहानगरपालिकालाई त्यसैले जुम्ल्याहा उपमहानगर भनिएको छ । असोज २ मा हुने स्थानीय तहको चुनाव दुई उपमहानगर भएका कारण पनि बारामा निकै रोचक मोडमा पुगेको छ ।

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाभन्दा जुम्ल्याहा उपमहानगरपालिकाको चुनावमा सबैको चासो केन्दि्रत हुँदा दल र उम्मेदवार दबाबमा छन् । जितपुर सिमरामा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदा कलैयामा भने कांग्रेस एमाले र संघीय समाजवादी फोरमबीच टक्कर हुने आँकलन गरिएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको कलैया पहिलो पटक उपमहानगर बनेको हो । राणाकालमै स्थापित कलैया बजार नेपालका प्राचिन शहरमध्येको एक हो । अव्यवस्थित शहरीकरण, फोहोरमैला र खानेपानी कलैयाका मुख्य चुनौति हुन् । मधेसी बाहुल्य उपमहानगरमा मुस्लिमको निणर्ायक उपस्थिति रहेको छ ।

साबिक कलैया नगरपालिकासहित क्षेत्र नम्बर ३ का ७५ प्रतिशत साविकका गाविसहरु मिलाइएको कलैया उपमहानगरमा क्षेत्र नम्बर ६ का केही गाविस पनि थपिएका छन् । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका फर्मूल्लाह मन्सुर निर्वाचित भएका थिए भने ६ नम्बरमा एमालेका पुरुषोत्तम पौडेलले जितेका थिए । कलैयामा २७ वडा रहेका छन् ।
मधेस आन्दोलन र ४ वर्षको उतारचढावले गर्दा यसअघिको मतका आधारमा मात्र जितहारको आँकलन गर्न सकिन्न । तर, संगठन र प्रभावका हिसाबले नेपाली कांग्रेस, एमाले र फोरमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । माओवादी र राजपा पनि तीब्र प्रतिस्पर्धामा आउने प्रयासमा छन् ।

कलैयाको मेयरमा कांग्रेसले राजेश यादव, एमालेले विनोद साह, फोरमले प्रमोद गुप्ता, माओवादीले मुकेश साह र राजपाले जयप्रकाश गुप्तालाई उम्मेदवार बनाएका छन् ।

मेयरका उम्मेदवारको कस्ता छन् ? हेरौं 

राजेश यादव, नेपाली कांग्रेस

नेपाली कांग्रेसबाट कलैया उपमहानगरको मेयरमा उम्मेदवार बनेका राजेश यादव कांग्रेस नेता तथा सांसद राधेचन्द्र यादवका छोरा हुन् । कलैयाको राजनीतिमा यादव जातिको मत निर्णायक मानेर कांग्रेसले उनलाई अघि सारेको चर्चा छ ।

राजेशले पिताका कारण भन्दा पनि आफ्नै योग्यता क्षमताले टिकट पाएको बताएका छन् । कलैयाको समग्र विकास गर्ने भिजन आफूसँग रहेको यादवले बताए । कलैयाको भौतिक पूर्वाधार विकासमा आफूले प्राथमिकता दिने यादवको प्रतिवद्धता छ ।

विनोद साह, नेकपा एमाले

दोस्रो संविधानसभा चुनावमा बारा ३ बाट कांग्रेसका फरमूल्लाह मन्सुरले १० हजार मत ल्याएर जित्दा बिनोद साह ९ हजार ४ सय २७ मत पाएर पराजित भएका थिए । एमालेका तिनै साह अहिले कलैया उपमहानगरपालिकाको मेयरको प्रत्याशी बनेका छन् ।

साह उद्योग वाणिज्य संघ कलैयाका अध्यक्षसमेत हुन् । महासंघका बहालवाला अध्यक्ष साह दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

नेकपा एमालेको २ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका साह यसअघि कलैया नगरपालिकाको उपमेयरसमेत भइसकेका छन् । साहले कलैयाको सम्बृद्धिको योजना आफूसँग रहेको भन्दै उपमहानगरको विकासका लागि आफू उम्मेदवार बनेको बताए ।

प्रमोद गुप्ता, संघीय समाजवादी फोरम

दोस्रो संविधानसभा निर्वाचनमा बारा ३ मा फर्मूल्ला मन्सुरले १० हजार मत पाएर जित्दा प्रमोद गुप्ता राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उम्मेदवार बनेर ४ हजार ७१५ मतसहित तेस्रो भएका थिए । संयोग नै मान्नुपर्छ त्योबेला ९ हजार मत पाएर दोस्रो भएका बिनोद साह र तेस्रो स्थानमा रहेका गुप्ता मेयरको दौडमा एकपटक पुनः भेटिएका छन् ।

मधेस आन्दोलनको नेतृत्व गरेका कारण गुप्ता कलैयामा चर्चित नेता हुन् । उनी ०६४ सालको संविधानसभा चुनावमा बाराबाटै फोरमको सभासदमा निर्वाचित भएका थिए । गुप्ता ०७० को चुनावको केही समयपछि फोरममा प्रवेश गरे । हाल उनी फोरमको राजनीतिक समितिका सदस्य छन् ।

मधेस आन्दोलनको अगुवा भएका कारण र कलैयाको समस्या बुझेका कारण आफू मेयरमा जित्ने दाबी गुप्ताको छ । उनले कलैया विकासका दृष्टिले धेरै पछि परेकाले कांग्रेस-एमालेबाट यहाँको विकास नहुने भएकाले आफूले विकासको एजेण्डा अघि सारेको बताए ।

मुकेश साह, माओवादी केन्द्र

माओवादीबाट मेयरको उम्मेदवार बनेका मुकेश साह कलैयाका युवा नेता हुन् । उनी पार्टीको जिल्ला नेता हुन् । गत संविधानसभा निर्वाचनमा यहाँबाट माओवादी २३११ मतका साथ चौथो स्थानमा रहेको थियो ।

मुकेशले पनि कलैयाको विकासको भिजन सहित आफू उम्मेदवार बनेको बताए ।

जयप्रकाश गुप्ता, राजपा

मधेसका ६ वटा पार्टी मिलेर बनेको राजपाले कलैया उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट अशन्तुष्ट बनेका जयप्रकाश गुप्तालाई उम्मेदवार बनाएको छ । उद्योग वाणिज्य संघका महासचिव समेत रहेका गुप्ता कांग्रेस छाडेर राजपाको उम्मेवार बन्न गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment