+
+

वडाबाट पारित योजना हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी

शिवराज ढुंगाना शिवराज ढुंगाना
२०७४ भदौ २५ गते १८:३२

२५ भदौ, अछाम । ढकारी गाउँपालिकामा रहेका तीन वडाबाट पारित भएका योजनाहरुलाई गाउँपालिकाबाट हटाइएको भन्दै गाउँपालिका कार्यालयमा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् ।

ढकारी गाउँपालिका वार्ड नं. २ र ३ को हिच्मा, वार्ड नं. ५ बलाताका वडा अध्यक्ष र सदस्यहरुले कार्यालयमा आइतबारबाट तालाबन्दी गरेका हुन् ।

वडा समितिबाट पारित गरिएका योजनाहरु नसमेटी गाउँ कार्यपालिबाट अर्कै योजनाहरु बनाएर पारित गरेको भन्दै तालाबन्दी गरिएको उक्त गाउँपालिका-५ का वडा अध्यक्ष रामबहादुर बुढाले जानकारी दिए ।

आफूहरुले वडा भेलाबाट खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु जनसहभागितामा पारित गरी पठाएको भए पनि गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत लगायत केही व्यक्तिले पूरै योजना अस्वीकृत गरेको बुढाको आरोप छ ।

वडाबाट छनौट भएका योजनाहरुलाई पारित गरिदिन पटक-पटक आग्रह गर्दापनि गाउँपालिका प्रमुखले अस्वीकार गर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको भनाई छ ।

कार्यपालिकाको सदस्य भएपनि बैठकमै बस्न नदिएर झ्यालबाट गएका योजनाहरु पास गरिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको वडा नं. ३ का अध्यक्ष महादेव बुढाले बताए । प्राथमिकतामा राखेका योजना केही दलका व्यक्तिको दवावमा परिवर्तन गरिएका बुढाले आरोप लगाए ।

आफूले पठाएका योजना पारित गराउन आग्रह गर्दा गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले उल्टै धम्की दिएको महादेव बुढाले बताए ।

वडाध्यक्ष बुढाले टेलिफोनमा अनलाइनखवरसँग भने, ‘उहाँले वडाबाट आएका योजना हुँदैन तिमिहरु जे गर्छौ गर, मैले बहुमतमा निर्णयले जे पनि गर्नसक्छु भन्नुभयो’

गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले पुष्टि गरे । वडाबाट आएका योजनाहरु परिवर्तन गर्ने अधिकार भएको भन्दै केही योजनाहरु परिवर्तन गरेको स्वीकार गरे ।

अध्यक्ष बुढाले भने- ‘गाउँपालिकामा जे निर्णय भयो, त्यसमा अब केही परिवर्तन हुँदैन ।’ ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो ।

समस्या समाधानका लागी सदरमुकाम मंगलसेनबाट जिल्ला समन्वय समितिका उप-संयोजक टोपबहादुर रावलसहितको एक टोली उक्त गाउँपालिका गएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए ।

अछाम जिल्लाका १० स्थानीय तहमध्ये सदरमुकाम मंगलसेन, विनायक, कमलबजार नगरपालिका र तुर्माखाद गाउँपालिकामा मात्र नगर परिषद सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?