Comments Add Comment

एटीएमबाट रकम चोर्ने १५ विदेशी नागरिक पक्राउ, ८८ लाख ६८ हजार बरामद


२६ भदौ, काठमाडौं । अर्काको एटीएमबाट अनधिकृत रुपमा रकम निकाल्ने गिरोह विरुद्धको कारबाहीमा हालसम्म १५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ८८ लाख बढी नेपाली रुपैयाँ बरामद पनि भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एटीएम ह्याकरहरुविरुद्ध कारबाही चलाउँदै आएको छ ।

सोही क्रममा आइतबार दुई जना विदेशी नागरिक पर्यटकीय नगरी ठमेलबाट पक्राउ परेका छन् । राहदानी नम्बर ३८४०३८०७८ का २३ वर्षीय बुल्गेरियन नागरिक र राहदानी नम्बर यू १०३२८५९१ का टर्कीस नागरिक पक्राउ परेका हुन् ।

बुल्गेरियन नागरिकलाई आइतबार चाक्सीबारी ठमेलस्थित होटल बुद्धबाट र  टर्कीस नागरिकलार्इ ठमेलको क्षेत्रपाटीस्थित रोयल पेन्गुइन होटलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । बुल्गेरियन नागरिकको साथबाट एक सय २८ थान एटिएम, चार लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, मोबाइल, ल्यापटपलगायतका सामाग्रीसमेत बरामद भएको छ ।

हालसम्म व्यूरोले रोमानिया, टर्की र माल्दिभ्सका चार-चार जना तथा बुल्गेरियाका तीन जना गरी कुल १५ जना विदेशी नागरिकहरुलार्इ एटिएम काण्डमा पक्राउ गरिसकेको छ ।

अर्काको एटीएम कार्डको गोप्य नम्बर पत्ता लगाइ रकम झिक्ने गिरोहविरुद्धको कारबाहीबाट हालसम्म ८८ लाख ६८ हजार ८५० नेपाली रुपैयाँ, ७५ हजार २४५ अमेरिकी डलर, ७३ हजार ८७५ युरो र एक हजार ४३९ थान एटीएम कार्ड बरामद भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment