Comments Add Comment

बारेकोटवासीको चिन्ता-अक्षता बनाउने चामल छैन

घोडा र खच्चडद्वारा जाजरकोटको भगवतीमा चामल ढुवानी गरिदै ।

२७ भदौ, जाजरकोट । जिल्लाको बारेकोट क्षेत्रमा दशै-तिहारमा पनि खाद्यान्न अभाव हुने भएपछि स्थानीय चिन्तित भएका छन् ।

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डीपोमा दशै अगाडि खाद्यान्न (चामल) नपुग्ने भएको हो ।

बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाउँ, मुल्साम, जिरी, समाकोट, गोठगाँउ लगायतका गाउँमा खाद्य संकट परेको छ ।

दशैतिहार नजिक आइसकेको वेला चामल नपाइने भएपछि स्थानीयले अक्षता बनाउनै समस्या भएको भन्दै गुनाशो गर्न थालेका छन् ।

यातायात सुविधा नभएकोल निजी क्षेत्रका ब्यापारीले विक्रीको लागि चामल नलिदा थप समस्या भएको हो । यतिबेला चामलको माग अत्याधिक छ । तर, डीपो रित्तै छ ।

खाद्य संस्थानले चालु आर्थिक वर्षको चामल ढुवानीको लागि बोलपत्र आब्हान गरी सपना एण्ड सरोज कन्ट्रक्सन सेवा खलंगाको नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । तर, १५ दिने सूचना जारी गरेर सप्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ ।

सप्लायर्सलाई १५ दिन भित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । यो म्यादको अन्तिम मिति असोज ७ मा पुग्छ । जबकी असोज ५ गते देखि दशै सुरु हुन्छ ।

‘ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । हामीले दशै अघि बारेकोटमा चामल पुर्याउने अधिकतम कोसिस गरिरहेका छौ,’ खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भने,’हामीले प्रक्रिया पुर्‍याइदिने हो । बाँकी ठेकेदारलाई ताकेता गर्ने जिम्मा जिल्लाको हो ।’

जिल्ला सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डीपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताए । तर, अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन ।

खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर छन् । निमित्त रहेका रामप्रसाद पौडेलले आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । बाटो विगि्रएकोले ठेकेदारले दशै अघि चामल ढुवानी गर्ने संभावना देखिएको छैन ।

सप्लायर्सले चालु आर्थिक बर्ष अर्थात आगामी असार भित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट डीपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् ।

प्रति क्वीन्टल एक हजार चार सय ७५ रुपैयाँमा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ ।

बाटो विग्रेकोले यतिवेला सदरमुकाम बाटै घोडा खच्चडमा ढुवानी गर्नु पर्ने बाध्यता छ । तिहार पछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकोले त्यतिखेर ठेकदारलाई ढवानीमा सस्तो पर्ने गरेको छ ।

सदरमुकामबाट बारेकोटसम्म खच्चडबाट प्रतिक्वीन्टल दुई हजार रुपैयाँमा चामल ढुवानी गर्ने गरिएको हछ ।

‘अक्षता’का लागि चामल छैन

स्थानीयले दशै अघि नै खाद्यान्न व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

बारेकोट गाँउपालिका ५ का वीरबहादुर सिंहले दशै अघि चामलको ब्यवस्था गरिदिन आफूहरुले माग गरेको बताए । ‘दशैमा मिठो मसिनो खाने त सपना भैसक्यो दुई छाक भात खान पाए हाम्रो लागि त्यही ठूलो दशै हुने थियो’,उनले भने’ डीपोमा चामल आएन भने दशैमा अक्षता गर्ने चामल समेत पाउन मुस्किल पर्छ । कसरी दशै टार्ने हो ? ।’

बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले यस क्षेत्रको खाद्य संकटलाई मध्यनजर गरी तत्काल खाद्यान्न पठाउन सरकारसँग माग गरिएको बताए । ‘दशै अघि नै खाद्य डीपोमा चामल ढुवानीको ब्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छौं ।’ उनले भने ।

नरेश राना मगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment