+
एनपीएल २०२६ :

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

२०८३ भदौ  ३० गते १२:५१ २०८३ भदौ ३० गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन्।
  • गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ र उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्।
  • ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् ।

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए ।

यस्तै काठमान्डु गोर्खाजले राखेको हिन्ट अनुसार वार्नर नै उक्त खेलाडी रहेको संकेत देखिएको थियो र अनलाइनखबरले यसबारेमा समाचार प्रकाशन गरेको थियो ।

‘डेबिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौसम्म छलफलहरु भएका थिए र यसमा सहभागि सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौं लाग्यो । तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टियु मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मुल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले भनेका छन् । ।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् ।

वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी-२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।

समग्र टी२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।

एनपीएल २०२६ काठमान्डु गोर्खाज डेभिड वार्नर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय