News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली युवा फरवार्ड सुबास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् ।
- कालिकोटका १८ वर्षीय सुबासले युथ टिमबाट प्रदर्शन गर्दै सिनियर टिममा स्थान बनाउने लक्ष्य राखेका छन् ।
- सुबासले नेपाल पुलिस क्लब, श्री भगवती, फिलिपिन्सको क्लब र नेपाल राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।
३० भदौ, काठमाडौं । नेपालमा अहिले फुटबल गतिविधि शुन्य भइरहेको बेला युवा फरवार्ड सुबास बम ठकुरी भने अजरवैजानको क्लबमा अनुबन्ध हुँदै युरोपमा आफ्नो उपस्थिति जनाउँदैछन् ।
नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका सुबास गत साता अजरबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका हुन् । टुरान अजरबैजानको शीर्ष श्रेणीको लिग अजरबैजान प्रिमियर लिग खेल्ने क्लब हो ।
नेपालको उमेर समूहको राष्ट्रिय टिमको कप्तानी पनि गरिसकेका सुबासले घरेलु फुटबलमा नेपाल पुलिस क्लब देखि श्री भगवती क्लब टोखाबाट समेत खेलिसकेका छन् ।
यस्तै फिलिपिन्सको क्लबमा समेत खेलिसकेका सुबासले अजरवैजानको क्लबमा अनुबन्ध हुँदै अर्को ठूलो फड्को मारेका हुन् ।
फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि अहिले नेपाल भित्र हुने राष्ट्रिय प्रतियोगिता, शहीद स्मारक ए डिभिजन लिग देखि फुटबल गतिविधि नै ठप्प जस्तै छ ।
केही खेलाडीहरू भुटान र बंगलादेशको लिग खेल्न गइरहेका छन् । अन्य खेलाडीहरू बेरोजगार जस्तै बनेका छन् ।
यस्तो अवस्थामा सुबासले अजरवैजानको क्लब मार्फत युरोपको उडान भरेका छन् ।

सुबास अगस्ट पहिलो साता नै क्लबमा ट्रायल दिनका लागि अजरवैजान पुगेका थिए । ‘म अगस्ट ३ मा यता आएको थिएँ । ‘३ हप्ता जस्तो ट्रायल भयो । त्यसमा ट्रेनिङ गर्ने फ्रेण्डली म्याचहरू खेल्ने भयो ।’ सुबासले अजरवैजानबाट अनलाइनखबरसँग भने, ‘त्यसपछि सम्झौता गर्ने बारे कुरा भयो र अनी सबै डकुमेन्टहरू तयार पारेर सम्झौता भयो ।’
सुबासले २३ भदौमा फेसबुकमा क्लबसँगको सम्झौताको फोटो राख्दै नयाँ सुरुवात भएको उल्लेख गरेका थिए ।
अजरवैजानको शीर्ष क्लबमा अनुबन्ध हुन पाउँदा सुबास निकै उत्साहित छन् र यसबाट आफूले धेरै कुरा सिक्ने पाउने उनको भनाई छ । ‘एकदमै उत्सहित छु । यहाँको फुटबल राम्रो छ । त्यसबाट मैले धेरै कुरा सिक्न पाइरहेको छु र मेरो लागि व्यक्तिगत रुपमा पनि राम्रो भइरहेको छ’ उनले भने ।
सुबास अहिले युथ टिमसँग जोडिएका छन् । सुबासको लक्ष्य भने युथ टिममा राम्रो गर्नै फस्ट टिमबाट खेल्ने रहेको छ । ‘अर्को लक्ष्य भनेको निश्चित रूपमै फर्स्ट टिमबाट खेल्ने नै हो र त्यसैका लागि आफूलाई तयार पार्दैछु’ सुबास भन्छन् ।
क्लबमा सुबास विदेशी कोटामा अनुबन्ध भएका हुन् । उनीसँगै कोलम्बियाको खेलाडी पनि विदेशी कोटामा छन् । ‘हामी विदेशी कोटाबाट टिममा परेका छौं । अरु अरु देशबाट पनि आएका थिए । तर हामी दुई जना टिममा अनुबन्ध भयौं’ उनले भने, ‘विदेशी कोटा भनेपछि राम्रो पनि हुन्छ र आफूलाई प्रुभ पनि गर्नुपर्छ ।’
क्लबको सिनियर टिमबाट खेल्नका लागि सुबासले मिहिनेत गर्ने बताएका छन् । ‘सिनियर टिममा कहिले खेल्ने भन्ने कुरा आफूमा भर पर्छ । सुरुमा हामीले सिनियर टिमसँग प्रशिक्षक गर्ने मौका पाएका थियौं । अहिले राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्यो भने प्रशिक्षकले टिममा बोलाउन सक्छन् । उनीहरूले स्काउट पनि गरिरहेका छन्’ उनले भने ।
कालिकोटदेखि अजरवैजानसम्म
कालिकोटका सुबास बम ठकुरी डेढ वर्षअघि राष्ट्रिय टिममा छनोट हुँदा टिमको सबैभन्दा कान्छो खेलाडी थिए । उनी अहिले १८ वर्ष भए र सिनियर टिमबाट समेत खेलिसकेका छन् ।
कालिकोटमै जन्मेका उनी सानै हुँदा पढ्नका लागि काठमाडौं आएका थिए । त्यतिबेलै उनले दाईहरूले खेलेको देखेर फुटबल खेल्न थाले ।
‘सानैमा पढ्न काठमाडौं आएको हो । दादाहरूले पनि फुटबल खेल्ने भएकोले म पनि उहाँहरूबाट इन्स्पायर भएर खेल्न थालें’ सुबासले पहिलो पटक सिनियर परेपछि भनेका थिए ।
उनी सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि पहिलो पटक सिनियर टिममा परेका थिए ।
उनले त्यसअघि उनले उमेर समूहमा राष्ट्रिय टिम र क्लब फुटबल खेलिसकेका थिए ।

सानै उमेरमा राष्ट्रिय टिममा पर्ने भाग्यमानी खेलाडीमध्ये एक रहेका सुबास त्यो बेला नै देशका लागि केही गर्ने जोशका साथ खेलिरहेका थिए । ‘बच्चै देखिको सपना नेसनल टिममा पर्ने । देशका लागि केही कन्ट्रिबुट गर्ने सपना थियो खुशी छु’ सुबासले भनेका थिए ।
उनले विभागीय टोली नेपाल पुलिस क्लबबाट यू-१६ युथ लिग र यू-१८ युथ लिग खेलेका छन् । उनकै कप्तानीमा पुलिसले यू-१८ युथ लिगको उपाधि जितेको थियो । उनले नेपाल यू-१६ र यू-१७ राष्ट्रिय टिमको कप्तानी समेत गरिसकेका छन् ।
युवा उमेरमै उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गर्दै सिनियर टिममा पनि परेका उनले २०२५ मार्च २१ मा सिंगापुर विरुद्ध खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए ।
त्यसपछि उनी नियमित जसो नै राष्ट्रिय टिममा पर्दै ५ खेल खेलिसकेका छन् ।
राइट फुटेड सुबास विंगर फरवार्ड र मिडफिल्ड जुनसुकै पोजिशनमा पनि खेल्न सक्छन् ।
उमेर समूहको राष्ट्रिय टिम हुँदै सिनियर टिमको प्रतिनिधित्व गरिसकेका सुबास अब नयाँ यात्रामा छन् । उनी युरोपियन फुटबलको स्वाद राख्दै आफ्नो उपस्थितिलाई दरिलो बनाउने लक्ष्यमा छन् ।
अजरवैजान क्लबमा अनुबन्ध हुनु सुबास मात्र नभएर नेपाली क्लबको लागि पनि ठूलो उपलब्धि हो र यसले युरोपमा नेपाली फुटबललाई चिनाउन मदत पनि गर्नेछ ।
प्रतिक्रिया 4