Comments Add Comment

बाढी गएको महिना दिन भयो, बाटो खोई ?

बाटो नबनाए मतदान प्रभावित हुन सक्ने


२८ भदौ, सप्तरी । बाढी गएको एक महिना पुगिसकेको छ । बाढीपीडितहरु आफ्नो घाउमा मलम लगाउँदै चुनावको प्रतिक्षामा छन् । २ असोजमा हुन लागेको स्थानीय निकायको निर्वाचनको तयारी पनि जोडतोडले चलिरहेको छ । तर, सप्तरीमा यस्ता पनि ठाउँ छन् जहाँ आरपार गर्न सकिन्न । अर्थात् जिल्लाको तीन वटा मतदान केन्द्रमा पुग्ने बाटो अझै छैन ।

जिल्लाको खड्ग नगरपालिका वडा नम्बर ११ का तीन वटा मतदान केन्द्रसम्म पुग्न अहिले पनि समस्या छ । ‘जेनतेत साइकलमा जान सकिन्छ,’ स्थानीय बिरेन्द्र साहले भने, ‘खडग खोलाको बाढीले बगाएको बाटोको मर्मत सम्भार नगर्दा तीन वटा मतदान केन्द्र प्रभावित बन्न सक्छ ।’

खडग नगरपालिका ११ (साविकको बनौली गाविस) मा तीन वटा मतदान केन्द्र राखिएको छ । साविकको गाविसको वडा नम्बर १ देखि ३ सम्म वडा कार्यालयको भवन, वडा नम्बर ४ देखि ६ सम्म राप्रावि ननकार र ७ देखि ९ सम्मको मतदाताका लागि राप्रावि बनौलीमा मतदान केन्द्र राखिएको छ । तर यी तीन वटै केन्द्रमा पुग्न मुश्किल छ ।

वडा कार्यालयमा पुग्न सिरहा रोडको पुल नै भत्किसकेको छ । बनौली चोक नजिकैको उक्त पुल बग्दा मुश्किलले साइकल र धेरै मुश्किल गरेर मोटरसाइकल आवतजावत भइरहेको स्थानीयहरुले बताएका छन् ।

यस्तै राप्रावि ननकार पुग्ने बाटोमा २० मिटर जति सडकलाई बाढीले कटान गरेको छ । यी ठाउँमा पानी जमेकै अवस्था छ । जमेको पानीबाट जसोतसो आवतजावत गरिरहेका छन् स्थानीयहरु ।

त्यस्तै राप्रावि बनौलीमा पुग्न बहुरी डबरा खोला बाधक बनेको छ । यो डबरा नजिकै दुई ठाउँमा बाटो भत्केर आवतजावतमा समस्या भएको छ । स्थानीयहरुले यो बाटो मर्मत नगरिए आगामी चुनावका दिन सहज तरिकाले मतदान गर्न नसकिने बताएका छन् ।

यो पनि पढ्नुहोस् 

दुई नं. प्रदेशमा सेनाले ४० किलोमिटर सडक स्तरोन्नती गर्‍यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment